अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले बताईन ।

उनीका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका छन् । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने समेत प्रधानमन्त्रीले भन्नु भएको छ , उनले बताईन ।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिएको उपप्रमुुख महतोले जानकारी दिइन। केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

उक्त आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिइने बताए । सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति