पुष्पलालका सहयोद्धा सुकुम्बासी बस्तीमा, कम्युनिष्ट नेताहरु सत्ता र महलमा !

वर्गसंघर्षका अविचलित योद्धा तथा पुष्पलालका सहयोद्धा हर्ष स्याङ्बो भन्छन् – ‘जीवन ईज् नथिङ्, खुर्सानीको बोट जस्तै रैछ, जहाँ रोप्यो त्यही उम्रने, फल दिने अनि मर्ने ।’

४२ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा हामीले पुष्पलालका समकालीन घनिष्ठ मित्र हर्ष स्याङ्बोसगको अन्तरंग संवाद प्रस्तुत गरिरहेका छौं । स्याङ्बो अहिले ९४ वर्षको हुनुभएको छ, भन्नुहुन्छ – पुष्पलाल र म डेढ वर्षको मात्रै फरक हो बट्, आई रेस्पेक्ट हिम । हाम्रो सम्बन्ध त्यस्तो थियो ।

पुष्पलाललाई सम्झेर पत्र आज पनि लेख्छन् स्याङ्बो :
२०७७ साउन ७ गते अर्थात् ४२ औं पुष्पलाल स्मृति दिवस । पुष्पलालसँगै राजनीतिमा होमिएका एक योद्धा आज सुकुम्बासी बस्तीमा सन्ताप र एकालाप जीवन बिताइरहेका छन् । भक्तपुर नजिकैको खोला छेऊमा एउटा सुकुम्बासी बस्ती छ, मुख्य सडकबाट बाँया मोडिन नै नपाई असार, साउनको झरीले हिलाम्यै बनाएको अप्ठ्यारो बाटो । जहाँ मोटरसाईकल, साईकल र लोड, अनलोड गर्ने गाडीहरु पनि मुस्किलैले ओहोर, दोहोर गर्न सकिने ।

खोलाको किनारतिर थुप्रिएको फोहोरको डंगुरबाट गन्ध आइरहेको छ ह््वास्सै । हामीलाई लागिराथ्यो, पर–पर देखिएको रंगीविरंगी घरहरुमध्ये सायद हर्ष स्याङ्बोको घर पनि त्यतै हो । तर, हर्ष स्याङ्बो त, डेढ दशकदेखि नै बस्दै आउनुभएको रैछ, तिनै आवाजबिहीन, मजदुर र श्रमजिवीहरुसँगै । तीनै छाप्राहरुमध्येको एक कटेरो, जहाँ दुई–दुई पाइलाको फरकमा शौचालय र भान्सा घर छन्, गल्ली–गल्लीमा हिंडिरहेको कुकुर भुकिरहेछ, लुगाफाटा त्यतै सुकाईएको छ, स्याङ्बो बस्ने घरको ढोका कस्तो भने, छिर्दा कुम निहुँराउनु पर्ने । न पारिलो घाम देखिन्छ, न त, खुलारुपले सास फेर्ने ठाउँ नै छ । त्यही ओस परेको बस्तीमा एउटा बाँसको कुर्सीमा बसिरहेका थिए हर्ष स्याङ्बो । स्याङ्बो नजिकै एउटा बुढ्यौली लठ्ठी पनि झुण्डीरहेको थियो । यो दृश्य देखेर हामी अवाक भयौं र एकछिन स्तब्ध ।

४२ औं पुष्पलाल स्मृति दिवसमा उहाले पुष्पलाललाई सम्झेर एउटा पत्र लेख्नुभएको रहेछ, उहा“ले त्यो पत्र पढेर हामीलाई सुनाउनुभए पछि थाहा भयो, पुष्पलालप्रति उहाको सम्बन्ध, प्रेम र श्रद्धा कति अगाध र उच्च रहेछ भनेर । उहाले हामीलाई सुनाईरहनुभयो त्यो पत्र.। हामीले टिपिरह्यौं उहाँका भावहरु, यसरी ।

“आई रिमेम्बर यू कामरेड, पुष्पलाल, इन योर मेमोरी, ईन फोअर्टी टु यअर्स सिन्स् लेफ्ट अस । पिपुल आर मस्ट फ्रस्ट्रेटेड टु से, कम्युनिष्ट पार्टी अफ नेपाल, अर्गनाईज्ड् बाई यू । पिपुल म्यान्डेटेड टू थर्ड् मेजोरिटी अफ भोटर्स एण्ड फ्रम गभरमेन्ट विथ स्ट्याबिलिटी एण्ड डेभलप्मेन्ट अफ दी कन्ट्री । द कम्युनिष्ट लिडर्स आर लगरहेड्स एण्ड कम्प्लिट्ली ईन्भल्भड् ईन् फ्याक्सनरिटी, ग्रुपिजम् एज् दियर पर्सनल ईनट्रेस्ट् एज् ईच् ग्रुप । लिडर्स् ईज् टु बिकेम प्राईम मिनिस्टर, दे ह्याभ विकेम क्वाईट् ईन्डिभिज्यूलिस्टीक एण्ड गिभन कम्युनिष्ट ईथिक्स् एण्ड आईडियोलोजी । एण्ड ह्याभ् विकेम वस्र्ट द्यान् बुर्जुवा कन्भेन्सन् एण्ड कन्सर्न विथ वेल्थ । दे ह्याभ् कम्पिलिट्ली गिभन अफ कम्युनिष्ट ईथिकस्, भ्याअलुज् हाउईभर, वि होप दे विल नट बी ट्रेड एज् कज्” ।

स्याङ्बो र पुष्पलालको पहिलो भेट र कम्युनिष्ट पार्टीको स्थापना
भारतको गोरखपुरबाट हाइस्कूलको पढाई सकेर पटना युनिभर्सिटीबाट ग्य्राज्युशन गर्नुभएको स्याङ्बोले पुष्पलाललाई पनि पहिलो पटक भारतमै भेट्नुभएको थियो । सिन्धुपाल्चोकका मध्यम परिवारमा दावा छिरिङ स्याङ्बो र कुसाङ डोल्मा स्याङ्बोका जेठो छोराको रुपमा वि.सं. १९८३ साल मंसिर १७ गते उहाँको जन्म भारतमै भयोे । सिन्धुपाल्चोकबाट गोरखपुर पुगेका स्याङ्बोको आमा, बुवाले चिया बगानमा काम गर्नुहुन्थ्यो, भारतमा त्यतिबेला ब्रिटिशहरुले गरिरहेको शोषण र मजदुरहरु माथि भइरहेको शोषण देखेर म विचलित हुन्थें, स्याङ्बो सम्झनुहुन्छ ।

त्यतिबेला कम्युनिष्टहरुले गोरखपुरमा पनि संगठन गर्थे, स्याङ्बो त्यतिबेलादेखि नै कम्युनिष्ट पार्टीप्रति प्रभावित हुंदै गएका थिए । वि.सं. २००५ सालमा क्याम्पसबाट विद्यार्थी साथीहरुसँग ताजमहल हेर्ने जाने बेलामा, पुष्पलाल र स्याङ्बोको पहिलो भेट भयो । नेपाली जस्तो लागेर पुष्पलालले आफैं स्याङ्बोलाई बोलाउनुभएको थियो – भन्नुभएको थियो रे, म पुष्पलाल श्रेष्ठ, काठमाडौंबाट आएको, मेरो दाई गंगालाल श्रेष्ठलाई फाँसी दिईयो, तपाईहरुको मलाई सहयोग चाहियो । यसैपनि कम्युुनिष्टप्रति प्रभावित बनिरहेका स्याङ्बोलाई पुष्पलालको कुराहरुले राणाहरुविरुद्ध थप विद्रोही भावको जागृत गरायो । त्यसबेला पुष्पलाल राष्ट्रिय काँग्रेसको सचिव हुनुहुन्थ्यो, मलाई पनि त्यसको सदस्य बनाउनुभयो तर पछि कलकत्तामा वि.सं.२००६ सालमा कम्युनिष्ट पार्टी गठन ग¥यौं, स्याङ्बो बताउनुहुन्छ – ४, ५ जना मिलेर एउटा सेल खोल्यौं गोरखपुरमा । वि.सं. २००७ सालको क्रान्तीका लागि हामी गोरखपुरबाट भैरहवा हुँदै नेपाल आयौं कम्युनिष्ट रैछ भन्ने थाहा पाएपछि हामीलाई भारतमा पनि बस्न दिईएन ।

जनता विद्यालय र प्रगतिशील अध्ययन मण्डल
पुष्पलालसँगै नेपालमा आएपछि नेपाल कम्युनिष्ट पार्टीले स्याङ्बोलाई मुस्ताङमा खटायो । कम्युनिष्ट स्कूलिङका लागि हर्ष स्याङ्बो र उनका अर्का मित्र महेन्द्र शेरचन मिलेर जनता विद्यालय स्थापना गरिएको थियो । विद्यालय पढाउने बाहानामा स्याङ्बोले दिनभरी विद्यालय पढाउने र बेलुका चाहीं प्रगतिशील अध्ययन मण्डल खोलेर माक्र्ससिज्म्, लेनिनिज्म् बारे प्रशिक्षण दिने र कम्युनिष्ट पार्टीको संगठन विस्तार गर्ने गरेका थिए । यसबारे पनि तत्कालीन नेपाल सरकारले थाहा पाएपछि उहाँहरुलाई त्यहाँ बस्न दिइएन र पछि पश्चिम गण्डक प्रान्तीय कमिटिमा, जसको नेतृत्व पुष्पलालले गर्नुभएको थियो भने हिक्मत सिंह सचिव हुनुहुुन्थ्यो र स्याङ्बोसहित अन्य १२ जना सदस्यहरु थिए । पछि स्याङ्जा, बन्दीपुर, कास्की, लमजुङ, बागलुङ, लगायत समग्र धौलागिरी अञ्चलका जिल्लाहरुमा संगठन विस्तारका कामहरु भए । वि.सं.२०१० मा कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन भयो । स्याङ्बो पनि त्यतिबेला काठमाडौं आउनुभएको थियो । गोरखपुरमा भूपू सेनाहरुको पेनसनर अफिस थियो । त्यसबेला मिलिटरीका पुराना गाडीहरु मात्रै चल्थे । स्याङ्बो गोरखपुरबाट भैरहवामा आए र भैरहवाबाट ६ दिनको पैदल यात्राबाट कालीगण्डकीको तिरैतिर हुँदै मुस्ताङको सानो गाउँ टुकुचेमा पुगेका थिए ।

बाटो–घाटो पनि राम्रो थिएन, पञ्चायतको बिगबिगी भएकाले मानिसहरुले बास पनि दिँदैनथे, छुवाछुत र जातभातको कुरा हुन्थ्यो, बुढाबुढी मान्दैनथे । हामी त कम्युनिष्टहरुको धर्म पनि हुँदैन, कम्युनिष्टहरु नास्तिक हुन्छन् भनेर लागिपरेका थियौं । मैले विद्यार्थीहरु जम्मा गरेर पढाउँदा अछुत जातका विद्यार्थीहरुलाई सँगै राखेर पढाइएको बारे त्यसबेलाका स्थानीयहरुले विरोध गरेका थिए । यी विविध चुनौती थिए । र पनि घर–घरैमा गएर हामीले विद्यार्थीहरुलाई पढाउन छोडेनौं । स्याङ्बो सम्झनुहुन्छ– बडो मुस्किल थियो । तर पछि सबै सुध्रिंदै गए, जनता विद्यालय त अहिलेसम्म पनि छ नि त । त्यसबखत, पुष्पलाल, स्याङ्बो लगायतको समूहले बन्दीपुरमा कम्युनिष्ट पार्टीको हेडक्वाटर बनाएका थिए । त्यहाबाट काठमाडौं हिंडेर आउन ५, ७ दिन लाग्थ्यो, मिटिङहरु पनि कहिले काठमाडौं, कहिले पोखरा त कहिले बन्दीपुर । कहा–कहा हुन्थे । चिया, खाना खाने पैसा पनि हुंदैनथ्यो, जनताले चन्दा पनि दिंदैन्थे, चन्दा त के, गास, बास, कपास केही दिंदैनथे, बडो दुख थियो – स्याङ्बो विगतका संघर्षलाई यसरी सम्झनुहुन्छ ।

राणाकी छोरीसँग स्याङ्बोको जनवादी विवाह
यत्तिकैमा हामीलाई स्याङ्बोको वैवाहिक जीवनबारे जान्न मन लाग्यो र हामीले सोध्यौं – यहाको विवाह कसरी भएको थियो ? यसको जवाफमा उहाँले भन्नुभयो – एक जना राणाको छोरी हुनुहुन्ज्थ्यो, विद्या राणा, मसग विवाह भएपछि उहाँले विद्या राणा स्याङ्बो राख्नुभएको थियो, कम्युनिष्ट पार्टीमा काम गर्न चाहिरहनुभएको रैछ, उहाँले नै प्रस्ताव राख्नुभाथ्यो, कम्युनिष्ट पार्टीमा काम गरौं र विवाह गरौं भनेर । अनि हामीले जनवादी विवाह ग¥यौं २०१० सालतिर । हामीले लगत्तै सोध्यौं– विवाह कहा भएको थियो ? स्याङ्बो त्यति खुल्न मान्नुभएन, र सहजै माने जसरी भन्नुभयो – कम्युनिष्ट पार्टीमा । फेरी हामीले सोध्यौं, खर्च कति लागेको थियो ? स्याङ्बो फेरी पनि खुल्नुभएन र अलिकति फिस्स हा“स्दै भन्नभयो – त्यही अलिअलि टीका लगाएको, त्यतिबेला कमरेड निर्मल लामा पुरोहित बन्नुभएको थियो । आफ्नो परिवार र जीवनसाथीको बारेमा यतिमात्रै भन्नुभयो – विद्या राणा पनि पुष्पलाल प्रतिष्ठानको संस्थापक सदस्य हुनहुन्थ्यो । र हामी पुनः एउटा प्रश्न सोध्न बाध्य भयौं ? यहा“को श्रीमती कति वर्षको उमेरमा बित्नुभाको ?

उहाँले भन्नुभयो– भर्खर, भर्खरै हो, १२, १४ वर्ष भयो, ७२ वर्षको उमेरमा । उहांका २ छोरीहरु हुनुहुँदो रैछ, एउटा छोरी स्मिता स्याङ्बो श्रेष्ठको पनि भर्खर २, ३ महिना अघि मृत्यु भयो रे, अर्की छोरी मिनु स्याङ्बो जो जडिबुटीमा ग्य्राजुयशन गर्नुभाको छ रे, उहा“ पनि विवाहित । अहिले स्याङ्बोसँग आफ्नो पारिवारिक सदय कोही पनि छैनन् । ९४ वर्षको उमेरमा बेसाहारा जस्तै बनेर दिन कटाइरहेका छन् । स्याङ्बोकै भाषाअनुसार एक एडप्टेड छोरी अहिले उहासँग बस्नुहुँदो रैछ, यसो खाना, खाजा पकाएर दिने, स्याहार, सुसार गर्दिने नाम रैछ कमला । कमला पनि एक दिनमा ५, ६ वटा घरको काम गर्न जाँदी रैछिन्, खै उनले भन्दै थिइन्, घर–घरमा म बिउटी सम्बन्धित काम गर्न जान्छु, यसबाहेक उनको पेसाबारे पनि केही खुलेन । महिनामा ४, ५ हजार आम्दानी हुन्छ रे । स्याङ्बोको प्रतिमहिना ३ हजार वृद्धभत्ता आउंछ, त्यही सालाखाला ८, १० हजारले एक महिनाको गुजारा चल्ने गर्छ, स्याङ्बो बताउँनुहुन्छ ।

सुकुम्बासी बस्तीमा बस्नु अघि स्याङ्बो कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्दै आउनुभएको थियो । वि.सं. २०६४ माघ १ गते माघेसंक्रान्तिको दिन यही प्रतिस्ठानमा लेखेको उहाको कवितासंग्रह पुस्तक आवाज हराएको शहरमा समावेश छ । विशेषतः माघ १ गतेको डायरीमा लेखिएको विषयहरुको केही हुबहु त, केही सम्पादित अंश तल प्रस्तुत छन् ।

“ठण्डीको मौसम शुरु भएको छ । कीर्तिपुरमा रहेको चम्पादेवी गाउँ जाडोले चिसिँदै गइरहेको छ । चिसोको तापक्रमले खुम्चिँदै गइरहेको चम्पादेवीमा आइपुगेको छु म । यहाँ आउनुपर्ने प्रयोजन शरणार्थी जीवनलाई थन्काउनकै लागि थियो, शायद । अहिले उनी पनि छैनन् । तर रिक्तता बोकेर यसबेला प्रतिष्ठान परिसरमा भित्रिन पुगेको छु । मेरो बसोबासको प्रबन्ध यसै प्रतिष्ठान परिसरमा भित्रिन पुगेको छ । मेरो बसोबासको प्रबन्ध यसै प्रतिष्ठानमा गरिएको छ । कुन्नि म जस्ता वृद्धावस्थाका रिटायर कार्यकर्ताहरुलाई पार्टीले गर्ने सम्मान यस्तै एकान्तवास नै हो कि ?”

यिनै भावकृतिसँगै जोडिएका छन्, स्याङ्बोका कविताका भावहरु

केही बुझ्न सकेको छैन मैले ।
अहिले मसँग कोही छैन । केही छैन ।
बस् शून्यताहरु छन् ।
एकालापहरु छन् ।
ती शून्यता र एकालापहरुलाई जिकज्याक् तुल्याउनु
पुष्पलालका स्मृतिहरु छन् ।
बितेका दिनका धूमिल झझल्काहरु छन् ।


यसबाट थाहा हुन्छ, स्याङ्बोले राजनीतिसँगसँगै साहित्यिक यात्रा पनि गर्नुभएको थियो । उहा“का शुभचिन्तकहरु विनोद आश्रुमालीले लेख्नुभएको छ – देन्जोङका अबोला पहाडहरुसित जस्ता क्रान्तीकारी कविता लेखेकै कारण उहाँको गास, बास उठाइयो । प्रल्हाद पोखरेलले पनि स्याङ्बोलाई मानवतावादी दर्शनका प्रखर हिमायतीको संज्ञा दिनुभएको छ । यस्तै दिव्य गिरीले लेख्नुभएको छ – यौटा प्रगतिशील विचारबाट अगाडि बढेर जीवनभर जेलनेल र दुःख–कष्ट भोगेका कवि स्याङ्बोको कविताले मानिसलाई शान्ति र प्रगतितर्फ लाग्ने अभिप्रेरणा दिएको छ । यस्तै अर्का शुभचिन्तक राजेश्वर कार्की र सिताराम अधिकाीले पनि उहाँलाई एक श्रेष्ठ कविको रुपमा आफ्ना शब्दहरुमा उतार्नुभएको छ, र यी सबै उत्रिएका छन् – आवाज हराएको शहरमा, जुन वि.सं. २०६६ मा प्रकाशित भएको थियो भने यसलाई महेश प्रसाईले सम्पादन गर्नुभएको थियो । यो पुस्तक अनुसार पुष्पलाल र स्याङ्बोकी जीवनसाथी विद्या राणाको मृत्यु पश्चात् उहाँले आफूलाई परिवार, समाज र राजनीतिक यात्राबाट नितान्त एक्ल्याउँदै गएको प्रष्ट बुझ्न सकिन्छ । उहाँले लेख्नुभएको छ


“काठमाडौं घोषणापत्र कति क्रान्तीकारी थियो । नेपाल कम्युनिष्ट पार्टीको कंग्रेस कति रोमाञ्चकारी थियो । ती सबैप्रति गद्दारी गरिएको छ, अहिले । पुष्पलाल र निर्मल लामाका आदर्शलाई धोका दिएर हिंड्नेहरु सुविधासम्पन्न जनवादी भएका छन् । मस्तीजीवी भएका छन् सबै । विलासी जीवनमा फर्केका छन् सबै । हाम्रो त्याग र बलिदानीहरुमाथि तुषारापात हुन थालेको छ । कुन्नि, किन ती युवा अवस्थाका सम्झनाले तरंगित भइरहन्छ मन । त्यो जोश, जाँगर, लगाव र क्रान्तिको सपना अब सबै निभिसकेको छ । त्यो अदम्य आंट, साहस र ऊर्जाको गाथा अब सबै स्खलन भइसकेको छ । पुष्पलालको मौन सालिकलाई हेरेर पुराना दिनहरुतिर फर्कन थाल्छु, जब, गरिब मुलुकमा गरिने राजनीति अभिजात्य सामन्तहरुका लागि जनता ढाँट्ने भुलभुलैया मात्र रहेछ । संभ्रान्त वर्गकै जालोमा फसिरहने यो राजनीतिको नियति ठूलाठालूहरुलाई नै सत्तासुख हात पार्ने एउटा नियोजित गेमप्लान हुँदो रहेछ” ।

क्रान्ति भनेको मिथ्या र भ्रान्ति मात्र रहेछ ।
पुष्पलालको कानैमा आएर गुन्गुनाउँछ कसैले ।
उडायो सपना सबै हुरीले ।

यस्तै स्याङ्बोले आफ्नो व्यक्तिगत जीवनलाई सम्झेर लेखेका छन् – “मेरी पत्नी विद्या स्वर्गबास भइन् । म एक्लो भएँ । जीवनको उत्तराद्र्धमा पत्नीको सहयात्रा बढी आवश्यकताबोध हुँदो रहेछ । दुई छोरीहरु पनि बिहा भएर गईसके । पुस्तक साथी भएको छ, यो एकान्तवासमा । तर, मोनोटोनस हुँदोरैछ, यो मात्र पनि । त्यसैले केहीमा अल्मल्याउन सकिरहेको छैन, मैले आफूलाई । म पूर्ण तवरले उजाड भएको छु” ।

हर्ष स्याङ्बोको जागिरे, भूमिगत र जेल जीवन
: स्याङ्बोले वि.सं. २०१० सालदेखि २०१४ सालसम्म पश्चिममा काम गर्नुभएको थियो । त्यसपछि काठमाडौं आउनुभएको स्याङ्बो वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कू गरेपछि भूमिगत हुनुभयो । त्यसबेला २ जना छोरीसहितको परिवारसँगै सिक्किम भाग्नुप¥यो । उहाँ बताउँनुहुन्छ – सिक्किममा पनि भारत सरकारको निर्माण विभागमा कन्स्ट्रक्सनको ईन्चार्जको रुपमा ४, ५ वर्ष कन्ट्रयाक्टरको रुपमा काम गरें, मैले ओभरसियर ईन्जिनियरिङ पनि अध्ययन गरेको थिएं नि त । त्यो बेला स्याङ्बोले देनजोङका अबोला पहाडहरुसित शिर्षकमा एउटा कविता लेख्नुभएको थियो जसका कारण स्याङ्बोलाई उक्त जागिरबाटै निस्कासित हुनुप¥यो । सो कविताको एक अंश यस्तो छ:

ए देनजोङका
अबोला पहाडहरु
बोल बोल
तिम्रो भावना खोल
युगयुगदेखि
तपस्वी ऋषि झैं
मौन भई उभिरहेका
ए पहाडहरु हो
बोल बोल
तिम्रो भावना खोल

सन् १९६०, गान्तोक सिक्किममा रहँदा उहाँले लेख्नुभएको विद्रोही भावको यहीका कविताका कारण स्याङ्बाले जागिर छोडे । त्यसपछि उहाँलाई पुनः नेपाल आउने बाध्यता प¥यो र उहाँका ससुराली राणाहरुकै जी.एम. कन्स्ट्रक्सन जसले त्रिशुलीमा २ वटा पुल निर्माणको काम गरिरहेको थियो, त्यहाँ स्याङ्बो ईन्चार्जको रुपमा पुनः जोडिनुभयो । तर त्यसबेला स्याङ्बोले आफ्नो नाम ढाँटेका थिए – एच.बी. तामाङ भनेर । तरपनि स्याङ्बोभित्र कम्युनिष्ट पार्टी र क्रान्तिकारिताको ज्वाला कहिल्यै निभ्न सकेन, यस्तै गतिविधिमा संलग्न रहेको थाहा पाएपछि उहाँलाई तत्कालीन नेपाल सरकारले पुनः पक्राउ ग¥यो र केन्द्रीय कारागारमा २ वर्ष थुन्यो ।

जेलभित्र मलाई हातमा, खुट्टामा साङ्लोले बाँधियो, ५, ७ जना सुतिरहेका थिए, कोही मान्छे मारेर, कोही डांका गरेर त्यहाँ परेका रैछन् । पहिला टंकप्रसादलाई पनि त्यहीं राखेको रैछ, खान पनि दुःख थियो । ९४ वर्षको स्याङ्बोले सम्झेजति बताईरहनुभयो । १, २ माना चामल दिन्थ्यो, बाहिरबाट ल्याएर पनि खान्थ्यौं, गाह्रो थियो । यातनाहरु पाईयो, जेलमा छँदा अधिकांश समय कविताहरु लेखेर पनि बिताइन्थ्यो । जेलमा रहँदाका उहाँका केही कविताहरु यहाँ जस्ताको तस्तै साभार गर्न मन लाग्यो ।
वि.सं. २०२७ सालमा केन्द्रीय कारागार काठमाडौमा भीमसेन स्तम्भ शिर्षकमा रहेको कविताको एक अंश:

पूर्णिमाको रात
टहटह जून लागिरहेको छ
टुँडिखेल र शहीदगेट वरिपरि
फाट्टफुट्ट गाडीहरु दौडिरहेका छन्
चारैतिर चकमन्न छ,
शहरको बीचमा
ठिङ्ग उभिएको छ
यो धरहरा
भीमसेन स्तम्भ भएर,

यस्तै मेरो जन्मदिन शिर्षकमा अर्को अंश:
यो पर्खालभित्र जहाँ
मान्छे र मान्छेको स्वतन्त्रतालाई
फलामका साङ्लोले बाँधेको छ,
र आस्थाका बन्दीहरुलाई
विभिन्न अभियोगमा
थुनेर र छेकेर
कैद गरी राखिएको छ
त्यो ठूलो मूल ढोकामा
बन्दुक र बुट लगाएर
पालेहरुले मानछेहरुको आवाज र आस्थालाई निस्सासिराखेको छ,
त्यस ठाउँमा
मेरो जन्मदिन परेको छ,
मेरा मित्रहरु हो
नमनाओ, नमनाओ
यो पृथ्वी
सूर्यको वरिपरि
परिक्रमण गरिरहेको छ,

यस्तै भद्रगोल जेल काठमाडौं रहँदा मुक्ति चाह शिर्षकमा लेखिएको कविताको एक अंश:
रातभरी
रातकी रानी
र इन्द्रकमल फूलहरुले
सारा कारागारमा
सुगन्धित गराइरहन्छन्
मिरमिरे उज्यालोमा सूर्यले
राता किरणहरु
फिँजाउदै,
कारागारनेर ल्याउँछ
हामीहरु पनि
ती चराहरु जस्तै
पर्खाल नाघेर
कहिले
बाहिर जान पाउने हौं,
प्रत्युत्तरमा
चराहरु उडिरहेको
दृश्य निरन्तर
नाचिरहन्छ,
बन्दीहरुका आँखामा
चराहरु
र मुक्त आकाशको
स्वच्छन्दता
मात्र छ ।

स्याङ्बोले यी बाहेक धर्म र क्रान्ति, कवि र फूल, मेरो शवयात्रा, म मजदुर हुँ, मैले ढुंगासित प्रेम गरें।
लगायतका दर्जनौ कविताहरु आवाज हराएको शहरमा समावेश गरेका छन् । यसबाहेक सायद, हर्षसँग अन्य पुस्तकहरु पनि छन् । तर हामीलाई लाग्यो खर्च अभावमा ती पुस्तकहरु प्रकाशन हुन सकेका छैनन् । यो पुस्तक पनि विद्या स्याङ्बो स्मृति प्रतिष्ठानले प्रकाश गर्दिएको रहेछ । अभिजात्य राणा परिवारमा जन्मनुभएको विद्या राणाले पनि पार्टीमा सक्रिय रहेको बेला वि.सं. २०१४ सालतिर मंगलादेवी सिंहसित भद्र अवज्ञा आन्दोलनको क्रममा जेल जीवन बिताउनुभएको थियो । साहना प्रधान र मंगलादेवीजस्ता संघर्षशील नारीहरुको माझमा विद्या राणा पनि हुनुहुन्थ्यो, उहाँले जीवनको लामो र अन्तिम क्षणसम्म कष्टप्रद जीवन बिताउनुपरेको थियो । कस्तो विडम्पना ? आज हामीसँग ९४ वर्षको हर्ष स्याङ्बो त हुनहुन्छ, तर विद्या राणा स्याङ्बो हुनुहुन्न ।

पुष्पलाल गद्दार होईनन्, राष्ट्रवादी हुन्
त्यो बेला भारतका सिआइडीहरु पनि थिए नि त । ईण्डियन एम्बेसीबाट पैसा खाने नेताहरु थिए, कम्युनिष्टभित्रै त्यस्ता नेताहरु थिए स्याङ्बो बताउँनुहुन्छ – भारत इन्डिेपेन्डेन्ट भएको त १९४७ मा हो । उनीहरु मुक्त भएदेखि नै दे ट्राईड् नेपाललाई पनि सिक्किम र भुटान जस्तै बनाउन धेरै कोसिस गरिरा छ । आज पनि भारत हाम्रो स्वतन्त्रता हडप्न चाहन्छ । नेपालले त आफ्नो स्ट्याण्ड लिनैपर्छ । पशुपतिमा सबै ईण्डियन छ, दक्षिणा सबै भारतमा जान्छ । कल्चरल्ली वी आर डोमिनेटेड, पोलिटिकल्ली वी आर डोमिनेटेड, इकोनोमिकल्ली वी आर डोमिनेटेड । महाकाली, गण्डकी हाम्रो हो नि, त्यो पानी हाम्रो हो । तर उनीहरुको अधिनमा छ । ९४ वर्षको स्याङ्बोले गद्दार पुष्पलालबारे सबै असन्तुष्टिहरु, व्याख्या, विश्लेषणहरु थोरै तर भारी शब्दमा पोख्नुभयो भन्ने हामीलाई लाग्यो ।

२०४६ पछि पुनः सक्रिय राजनीति र मन्त्रीको पदको अफर अस्विकार
जेल जीवन बिताइरहनुभएको स्याङ्बोलाई तत्कालीन प्रधानमन्त्री तुलसी गिरीले भेट्न जानुभएको थियो र स्याङ्बोलाई भन्नुुभएको थियो रे – जेलमै बस्ने कि बाहिर निस्कने ? त्यसपश्चात् जीवनभरी तटस्थ बस्ने शर्तसहितको कागजपत्रमा हस्ताक्षर गराएपछि स्याङ्बो जेलबाट छुटे, स्याङ्बो भन्नुहुन्छ – त्यो समय छुट्नको लागि पनि त्यसो गर्नुप¥यो, बाध्यता थियो । यसैक्रममा हामीले सोध्यौं – यहाँलाई त मन्त्रीको अफर आएको थियो नि हैन र ? उहाँले भन्नुभयो – अफर ग¥याथ्यो, तर मैले अस्विकार गरें । किनभने आफूसँगै लागेका साथीहरु जेलभित्र थिए, यो अवस्थामा मन्त्री पद स्वीकार्नु आफ्नो धर्मले मानेन । पञ्चायत व्यवस्था ढलेपछि स्याङ्बो पुनः राजनीतिमा सक्रिय हुनुभयो वि.सं.२०४६ मा । स्याङ्बोले वि.सं. २०५६ सालमा सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको थियो भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पुशपति शम्शेर जबरा उहाँको प्रतिस्पर्धी हुनहुन्थ्यो ।

जसमा, पशुपति शम्शेर जबरा विजयी हुनुभएको थियो भने, स्याङ्बो पराजित हुनुभयो । त्यसबेलाका पार्टी अध्यक्ष मनमोहन अधिकारीले स्याङ्बोलाई पार्टीको तर्फबाट चुनाव प्रचारप्रसारका लागि करिब ४ लाख दिनुभएको थियो भने, करिब ५, ६ लाख आफैंसँग रहेको स्याङ्बो बताउनुहुन्छ – पशुपति शम्शेरसँग त, करिब १ करोड थियो नि, जनतामा चेतना पनि थिएन । स्थानीय मतदाताहरु भन्थे – स्याङ्बो, हामी त, पशुपति राजालाई नै भोट हाल्छौं । त्यो बेलाको चुनावी माहोललाई स्याङ्बो यसरी सम्झनुहुन्छ । त्यसपश्चात् स्याङ्बोले औपचारिकरुपमा राजनीतिमा बिट मार्नुभयो भन्दा पनि हुन्छ । फर्केर हेर्दा, स्याङ्बो बताउँनुहुन्छ – सायद, हामी योग्य पनि थिएनौं होला ।

सकुम्बासीबस्तीमा वर्षौदेखिको बास
वि.सं.२०६१ सालमा स्याङ्बोको श्रीमती बित्नुभएपछि उहाँले भक्तपुरको मनोहरा खोला नजिकैमा रु. ३ लाख रुपैंयामा अरु कसैको घर किन्नुभएको थियो, जसको आजसम्म दर्ता र पुर्जा भने छैन । सुकुम्बासी बस्तीमा बस्दा पनि म संघर्ष गर्छु भन्ने नै थियो । तर, उमेरले पनि साथ छोड्दै थियो, स्याङ्बो भन्नुहुन्छ – त्यो बेला त भर्खर, भर्खर बस्तीहरु बस्दै थिए, अहिले त ८, ९ सय धुरी घरहरु यहाँ भईसके । राजनीतिबाट निस्क्रिय भएपछि माक्र्ससिज्म्, लेनिनिज्म् र कम्युनिज्म्को बारेमा अध्ययन गरेर स्याङ्बोको दिन बितिरहेका छन्, माक्र्स ईज् ग्रेट फिलोसफर, कम्युनिष्टहरुको रिभोलुसन, ईन् द बिगिनिङ मै रहेको स्याङ्बो बताउनुहुन्छ । अहिलेका कम्युनिष्टहरुलाई कम्युनिष्ट नभन्दा पनि हुन्छ, सामूहिक रुपमा सोच्ने १० प्रतिशत पनि छैनन् । स्याङ्बो निरन्तर बताउनुहुन्छ – सर्वे भवन्तुः सुखी भन्नेबाट नै साम्यवादी सोचको सुरुवात भएको होे, साम्यवादी नभईकन संसारमा शान्ति हुँदैन । यसको लागि ठूलो मानसिक, नैतिक र व्यवहारमा शुद्धीकरण आउनुपर्ने अर्थात् कल्चर रिभोलुसनको आवश्यकता रहेको छ । यसै सन्दर्भमा स्याङ्बोका कविताका केही हरफहरु पुनः जोड्दा अझ उपयुक्त होला ।

पथभ्रान्ति शिर्षकमा लेखिएका कविताको केही हरफ:
दिग्भ्रमित
नहुनुपर्ने मैले,
कुन्नि किन यी मुर्दाहरुको
बस्तीमा
मेरो आवाज
मसित हरायो
मेरो यात्रा
मसित हरायो ।

यस्तै मुर्दाको आवाज शिर्षकमा छ –
ए मुर्दा भाइ हो,
उठ, उठ
एक भैं जुट
यो खाडलमा
पुरिएर
निस्सासिएर
थुनिएर
हामीलाई सडाइराख्ने
मान्छेहरुलाई
के अधिकार छ
यी ख्याकहरुलाई
के अधिकार छ,
हाम्रो सार्वभौम जीवनमाथि ।

यी दुई शिर्षकका कविताले स्याङ्बोको जीवनबारे अझ धेरै प्रस्ष्टसँग बोलेको छ । सुकुम्बासीबस्तीमा बस्नुपर्ने स्याङ्बोको बाध्यता र त्यही रहँदा पनि विकसित भएको उहाँको प्रगतिशील विचारधारा, यिनै कविताले खोलेको छ ।

हामीले पनि यत्तिकैमा सोध्यौं, यहाँको विचारमा जीवन के रैछ ?
स्याङ्बोले छोटो उत्तर दिनुभयो – जीवन ईज् नथिङ् । खुर्सानीको बोट जस्तै रैछ, जहाँ रोप्यो त्यही उम्रने, फल दिने अनि मर्ने, यति नै रैछ, मिस्टेरियस छ नि । अचानक स्याङ्बोले खै कसरी हो भगवान सम्झनुभएछ, भन्नुहुन्छ – कम्युनिष्टमा हिंड्दा भगवानको विरोध पनि गरियो, अहिले मर्ने बेलामा भगवान छ की जस्तो पनि लाग्छ, अब २, ४ वर्ष कति बाँच्छु होला । त्यसो त, उहाँले सन् १९५१ मा धर्म र भगवानसँग सम्बन्धित भगवानको मन्दिरमा नामक शिर्षकमा एउटा कविता लेख्नुभाको छ, जसको एक अंश:

जब शंखनाद
मन्दिरमा गुन्ज्यो
शंखनादमा
भिखारीको करुण स्वर
सुस्तरी क्षीण हुँदै थियो,
भगवान
एक टुक्रा रोटी ।

धर्म र क्रान्ति शिर्षकमा:
माक्र्सले भने
धर्म त केबल
गरिबहरुका लागि
अफिम हो,
जसको साहाराले
धनी वर्गले
हजारौं वर्षदेखि
गरिबहरुलाई लुटिरहेका छन्
पोप पादरी
मुल्लाह पुजारी सबै् डरले थर्–थर् काँप्न लागे,
मेरो गन्तव्य पनि उही थियो शायद,
मैले त्यही क्रान्तिमा
सहभागी
बनाएँ आफूलाई ।

९४ वर्षका स्याङ्बोले बोलेका केही शब्दहरु र यिनका भावहरु आजका पिढींले शायदै थोरै मात्रै बुझ्छन्, मलाई त्यस्तै लाग्यो । तर उनका कविताहरु यति प्रष्ट छन् – जसले स्याङ्बोलाई थप चिनाउन मद्दत गर्छ । यसैले पनि स्याङ्बोका कविताहरु हामीले यहाँ जोडिरहेका छौं ।

बिरामी स्याङ्बो
स्याङ्बोको छिमेकीहरुबाट थाहा पाईयो, स्याङ्बोको खुट्टा सुन्निरहने रैछ, दमको औषधि पनि लिदै हुनहुन्छ रे । छिमेकीबाटै थाहा भयो, उहाँको छाप्रोभित्र वर्षमा त सबै पानी चुहिन्छ रे । केही समय अघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घरैमा गाडी पठाइदिनुभएको रैछ, स्याङ्बोलाई भेट गर्न । यताउती अरु मन्त्री, नेताहरुलाई पनि थाहा छ, कम्युुनिष्ट आन्दोलनका हिमायती आज गुमनाम छन्, बुढेसकालमा पाउनुपर्ने स्याहार, सुसार छैन । न त छन्, सुख, दुख बिसाउन कोही आफन्त नै । शारीरिक, पारिवारिक, राजनीतिक, सामाजिक, आर्थिक हरहिसाबले शिथिल बनेका स्याङ्बोले दुई–तिहाई बहुमतको कम्युनिष्ट सरकार त देखेका छन्, तर यी कम्युनिष्टहरु कस्ता कम्युनिष्ट ? स्याङ्बोलाई सम्झन पनि सकेनन् ? पार्टी कार्यालयतिर जान पनि ट्याक्सी चाहिन्छ, अनुहारमा सयौं मोजा परेका स्याङ्बोले भन्नुभयो – हजार रुपैंया लाग्छ । किताबहरु निकाले ५०, ६० हजार लगानी गरेर, यो पनि किन्दैनन्, मान्छेहरु ।

अब त ईच्छा पनि केही छैन । २, ४ वर्ष बाँचुन्जेल यसो आफूलाई मन लागेको खान पाए, बस्न पाए पुग्छ । हामी जस्तो मान्छे त, दिनमै लाखौं जन्मिन्छन्, लाखौं मर्छन्, यो ल अफ नेचर हो नि । म आफूलाई असफल पनि भन्दिनँ, न त सफल पनि । अन्ततः हामीले पुनः सोध्यौं, पुष्पलालको बारेमा अरु केही ? उहाँले पुनः पुष्पलाललाई सम्झनुभयो र भन्नुभयो – पुष्पलालसँग पैसा हुँदैनथ्यो के, कता–कता जानुपर्ने, गाडी चढ्नुपर्ने, ट्रेन चढ्नुपर्ने, पैसा खोजखाज गरेर दिनुपथ्र्यो । उहांसँग चिया खाने पैसा समेत हुँदैन थियो, जनताले बास, गाँस कपास पनि दिंदैनथे, पुष्पलालले लुगा पनि फाँटेको लाउनु पथ्र्यो । स्याङ्बोले दोहोर्याउनुभयो –पुष्पलालबाट हामीले नैतिकता सिक्नुपर्छ, स्याक्रिफाईस सिक्नुपर्छ, आई रेस्पेक्ट हिम ।
ध्रुव अधिकारीका साथमा सपना थामी, नेपालपेज डटकम

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board