पहिरो पीडितका वेदना – ‘न गतिलो बास छ, न त खाने अन्न’

जाजरकोट, २३ साउन । बारेकोट गाउँपालिका-४, ५ र ६ का पहिरो पीडित त्रिपालमा सुत्न बाध्य छन् । गत असार २५ गते सो स्थानमा आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो पानी पर्नेबित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् । जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु भन्दछन् “न गतिलो बास छ, न त खाने अन्न नै छ ?”

झण्डै महिना दिन पुगिसक्दा पनि राज्यको तर्फबाट मन खुशी हुने खालको नयाँ कार्यक्रम तथा व्यवस्थापन नभएको विर्जित सार्कीले गुनासो गरे । “एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्दा कसरी व्यवस्थापन भएको होला ?”, स्थानीय ७४ वर्षीय दुर्गा सार्कीले भने । अधिकांश त्रिपालमा बसाइ भएकाहरु नौ जनाभन्दा माथि नै रहेका छन् ।

सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएका छन् । खानेपानीका पाइपहरु पहिरोले बगाएका छन् । खोलामा भल पिउन बाध्य भएको सर्वसाधारणको भनाइ छ । जङ्गलमा बास छ, कतिखेर सर्प लगायतका विषालु उभयचर प्राणी आउँछन्, के हुन्छ अत्तोपत्तो नभएको पीडितको भनाइ छ ।

जङ्गलभरि त्रिपाल राखेका कारण दिनमा काम जाँदा साना–साना बालबालिकालाई जङ्गली जनावर आएर मरिदिने डर भएको वडा नं ५ का प्रेम शाहीले जानकारी दिए । पानी पर्दा सबै पानी त्रिपालबाट घुसेर भित्र पस्दा अधिकांश दिन भोकै बस्नुपर्ने बाध्यता छ । खानेकुरास्वरुप दिएको प्रतिव्यक्ति दुई किलो चामल उहिल्यै सकिएको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिनुभयो । पहिरोबाट बचेको मकै सलह किराले सखाप बनाउँदा हैरान भएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।

विस्थापितलाई अहिले राम्रो ओत लाग्ने आवास र खानेकुराको आवश्यकता रहेको छ । राहत वितरणमा समेत पक्षपात भएको पीडित बताउँछन् । वडा नं ४ को वडा कार्यालय तालाबन्दी नै गरिएको छ । वडा ५ का खड्क शाहीका अनुसार आफूहरुको नाम काटेर आफन्तको नाम राखिएको छ । पाखाटोलमा १९ जनाको नाम काटेर जनप्रतिनिधिका आफन्तको नाम राखिएको हो । विस्थापित बसेको जङ्गलमा शौचालय नहुँदा जङ्गलभसर फोहर बढिरहेको छ । बालबालिकामा स्वास्थ्य समस्यासमेत देखिएको छ । एक हजार दुईभन्दा बढी सर्वसाधारण विस्थापित भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board