अर्थतन्त्रमा प्रभावः एक चौथाइ कर्मचारीले गुमाए ‘रोजगारी’

काठमाडौं, २२ साउन । कोरोना भाईरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२ दशमलव ५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् ।

यो अवधिमा होटल, रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा बढी कर्मचारी कटौति भएको पाइएको छ । त्यस्तै घरेलु उद्योग, लघु उद्यम लगायतका खुद्रा व्यापारिक क्षेत्रमा सबैभन्दा धेरै कामदार कटौति भएको राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा र ३५ प्रतिशत आंशिक रुपमा सञ्चालनमा रहेका छन् । त्यसबाहेक ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द भएका छन् । अधिकांश उद्योग/व्यवसायहरु बन्दा हुँदा अर्थतन्त्रमा गहिरो असर परेको निष्कर्ष राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनको रहेको छ । लकडाउनको अवधिमा उद्योग÷व्यवसायहरुले औसतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेका छन् ।

अन्य सुविधामा पनि उल्लेख्य कटौति गरेको प्रतिवेदनमा उल्लेख छ । यो अधिमा उद्योग व्यवसायहरुले औसतमा ७३ दशमलव ८ प्रतिशत उत्पादन/कारोबार घटेको बताएका छन् । ठूलो परिमाणमा उद्योग/व्यवसायहरुको उत्पादन घटनुले आर्थिक क्रियाकलापमा उल्लेख कमि आएको पुष्टि हुने राष्ट्र बैंकको निष्कर्ष छ । सर्वेक्षणले अधिकांश उद्योग व्यवसायहरुले नेपाल सरकारले बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराए रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने देखाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board