एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला, २१ साउन । अविरल वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो । उनले भने, “पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ ।”

कर्णाली राजमार्गको कालीकोट सडकखण्डका दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालिगाड, भैँसीगौंडा, टिमुरेभिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायत करीब ५० स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटकपटक दुःख भोग्नुपरेको गुनासो गरे ।

ग्याबिन जाली पर्खाल निर्माण
जुम्लामा यसपटक लामो वर्षापछि आएको बाढीपहिराले ठूलो क्षति गरेको छैन । देशभर बाढीपहिरो बितण्डा मच्चाइरहेका अवस्थामा जुम्लामा कुनै घटना नभएपछि सुरक्षित महसुस गरिएको हो । यस्तै बाढीपहिराको जोखिम ध्यानमा राखी हिमा गाउँपालिका–७ कुडुगाउँमा १९० मिटर ग्याबिन जाली भर्ने काम गरिएको छ । अनुकूलन कोष, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीको रु २५ लाख ८७ हजार ७९० सहयोगमा पहिरो रोक्नका लागि ग्याबिन जाली भर्ने काम गरिएको हो ।

गाउँबस्तीदेखि माथि सिँचाइ नहर भएकाले पानी चुहिने र वर्षाका समयमा पहिरो जाने सम्भावना देखिएकाले गाउँपालिकाको समन्वयमा ग्याबिन जाली भर्ने काम भएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले बताए । त्यसैगरी पुरोना सिँचाइ नगरबाट पानी चुहिने भएकोले रु नौ लाख १६ हजार ३३१ मा १८८ मिटर नहरको पनि पुनःनिर्माण गरिएको छ ।

कोष, वन मन्त्रालय र डब्ल्युएफपीको सहयोग तथा साझेदारी सहयोग केन्द्र ९पेस नेपाल० जुम्लाद्वारा सञ्चालित खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकूलन परियोजनाअन्तर्गत रु ४१ लख ९९ हजार ५५२ मा नहर पुनःनिर्माण र ग्याबिन जाली भर्ने काम भएको हो । यसै बजेटभित्र रु एक लाख नौ हजार ६७८ मा हातेऔजार खरीद, रु ५९ हजार ५०० व्यवस्थापन खर्च र रु पाँच लाख २६ हजार २५२ बजेट बराबर समुदायको श्रमदान पनि रहेको जनाइएको छ ।

यसबाट ७८ घरधुरीका ४९५ जनसङ्ख्या लाभान्वित भएको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने, “यस परियोजनाबाट स्थानीयवासी पनि बाढीपहिराबाट सुरक्षित भएको छ, सिँचाइबाटअन्नबाली उत्पादन वृद्धि हुने भएको छ ।” छिमेकी जिल्ला कालीकोटमा बाढीपहिराले धनजनको क्षति भइरहेका अवस्थामा जुम्लामा यही साउनको तेस्रो सातासम्म त्यस्तो कुनै पनि घटना नभएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, “बाढीपहिराका कारण कुनै घटना भएका खण्डमा तत्काल उद्धार तथा राहतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले तयारी गरेको छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board