मन्दिर शिलान्यास : जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर अयोध्या प्रस्थान

काठमाडौं, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा सपना पूरा हुने भएको छ । उत्तर प्रदेशमा रहेको अयोध्यामा मोदीले राम मन्दिरको शिलान्यास गर्दैछन् । त्यसको तयारी स्वरुप अयोध्या फूल र बत्तीले सिंगारिएको छ ।

बुधबार हुने शिलान्यास कार्यक्रममा प्रधानमन्त्री मोदीसँग भारतीय जनता पार्टीका नेता, विभिन्न राज्यका राज्यपाल, मुख्यमन्त्रीको सहभागिता रहने जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदी अयोध्यामा बाबरी मस्जिद रहेको स्थानमा राममन्दिर बनाउनुपर्ने पक्षमा थिए ।

मस्जिद हटाएर मन्दिर बनाउने विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो। गत वर्ष भारतीय सर्वोच्च अदालतको फैसलासँगै यसको समाधान भएको हो । अदालतको फैसलापछि अयोध्यामा राम मन्दिर बनाउने मोदीको सपना पूरा हुन लागेको छ ।

यसैवीच बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान रामको मन्दिर शिलान्यासका लागि रामको ससुराली जनकपुरधामबाट चाँदीका ५ वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताए । एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको उनले जानकारी दिए ।

भगवान रामको मन्दिर निर्माणका लागि हुने भूमिपूजामा सहभागी हुन महन्त दासलाई अयोध्याबाट निम्तो आएको थियो । दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको थियो ।

यसअघि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन महन्थ दास सोमबार महोत्तरीको भिठामोड नाका भएर जान खोज्दा नेपाली सीमा नकट्दै उनलाई फेरी जनकपुरधाम नै फर्काइएको थियो ।

गाडीको पास र पीसीआर परिक्षणको रिपोर्ट नरहेकोले आफूलाई सोमबार सीमाबाट फर्काइएकोे महन्थ दासले बताए । उनले अब आफू गाडीको पास र पीसीआर परिक्षणको रिपोर्ट लिएर अयोध्या जान लागेको बताए ।

गत वर्ष कात्तिक महिनामा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गा राम मन्दिरको भएको फैसला गरेको थियो । मुस्लिम समुदायले सो जग्गा बाबरी मस्जिदको हुनुपर्ने दाबी गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मिएको तर्क गरेपछि नेपाल र भारतमा तरंग उत्पन्न भइरहेका बेला विश्व हिन्दु परिषद नेपालले भारतको अध्योध्यामा राममन्दिर बन्न लागेको अवसरमा उत्सव मनाउने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board