कोरानाको त्रास: परीक्षणको दायरा बढाउँदै महानगर

काठमाडौँ, २० साउन । बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ ।

सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पिसिआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । यही १४ गते वडा २८ मा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि सङ्क्रमणको जोखिम बढेकाले परीक्षण गरिएको हो ।

त्यसैगरी वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना सङ्क्रमण बढिरहेको छ । वडा २७ मा सङ्क्रमितको सम्पर्कमा रहेका ३०२ जनाको साउन १३ गते कोरोना परीक्षण गराइएको थियो ।

परीक्षणका क्रममा २० दिनअघि भारतको सीतामढीबाट आएका एक महिलामा सङ्क्रमण पोजेटिभ देखिएको थियो । उनीबाट पहिले उनका भाइमा सङ्क्रमण सरेपछि उनीहरुको सम्पर्कमा रहेकालाई खोज्दै १५ जनालाई परीक्षण गरिएको थियो ।

सङ्क्रमणको दर बढेपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रा पर्व पनि घरमा नै विधि पु¥याएर मनाउनसमेत आग्रह गरेका छन् । ठूलो जमातमा सङ्क्रमण फैलिए त्यसलाई न्यूनीकरण गर्न समस्या हुने भन्दै प्रमुख शाक्यले आज एक विज्ञप्ति जारी गरी सबै नगरवासीलाई आग्रह गरेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board