नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार

काठमाडौं, १८ साउन । कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट नेपालमा पहिलो पटक कोरोना संक्रमितको उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट ६५ वर्षीय संक्रमितलाई सफल उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।

विराटनगरका यी संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा डा सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसपछि पनि उनको स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । दासले भने सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ।

कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।

यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस ९कोभिड–१९० का बिरमीको उपचारको प्रयास गरिएको थियो । उक्त उपचारको प्रयासमा केही सकारात्मक नतिजा आएको भए पनि यसले उत्साहजनक नतिजा भने दिन सकेको छैन । यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति