कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध

कर्णाली, १८ साउन । अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

“कालेखोला, दहीखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ”, उनले ओलियाले भने, “आज पिली सडकको पहिरो हटाउने काम भइरहको छ, भोलिसम्म सडक खुल्छ होला ।” बाढीपहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जानकारी दिए ।

“मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखलाई यही साउन १५–१७ गतेसम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थियो”, कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भने, “साउन १३ गते हिँड्दा १७ गतेसम्म कालीकोट सडकखण्डमा आएको बाढी र पहिरोको अवरोधमा परियो ।” भेटेरेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षा सहभागी हुनेभन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भएको सुनाए ।

जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलोपटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुखेसो गरे । राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकले वर्षेनी यही समस्या भोग्नुपर्ने उनीहरुको भनाइ थियो ।

खाँडाचक्र नगरपालिका–६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरनोतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटक–पटक दुःख भोग्नुपरेको गुनासो गरे । चार दिनसम्म सडक अवरुद्धमा पर्दा रु ७० हजारको तरकारी कुहिएर गएको उनको भनाइ थियो । गाडी व्यवसायी भानु देवकोटाले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीवासी कहिले हुने हो रु भन्ने प्रश्न गर्नुभयो । मुलुक सङ्घीयतामा गइसकेपछि पनि कर्णालीका नागरिकको दुःख टर्न नसकेको व्यवसायी उनले गुनासो पोखे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board