काठमाडौ १७ साउन । कोभिड– १९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ।
पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिए । काठमाडौ मा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पाँच सय ९७ पुगेको छ । यसमध्ये काठमाडौ चार सय २३ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५७ जना कोरोना सङ्क्रमित पुगेका छन् ।
काठमाडौ उपत्यकामा बढ्दो जोखिम
पछिल्ला दिनमा बढिरहेको संक्रमितहरुको संख्या, ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा पनि सङ्क्रमण देखिनु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरमा सङ्क्रमण बढ्नु, तरकारी पसल तथा महाबौद्धको होलसेल पसलका व्यापारीहरुमा कोरोना सङ्क्रमण हुनु लगायतका कारण काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम निकै बढेको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डे भन्नुहुन्छ, ‘काठमाण्डौ उपत्यकामा जोखिम ह्वात्तै बढेको सत्य हो, हामी थप परीक्षण तथा अनुसन्धानको काम गरिरहेका छौं, अहिले नै समुदायमा कोरोना फैलिसकेको भन्ने आधार छैन तर जोखिम भने निकै बढेको छ ।’
काठमाडौ उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेपछि सरकारले काठमाडौ भित्रने नाकाहरुमा स्वाव संकलन गरेर परीक्षण गर्न थालेको छ । यसरी गरिएका परीक्षणमा पनि कोरोना सङ्क्रमण भेटिन थालेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पनि काठमाडौ उपत्यकामा जोखिम बढिरहेको बताए उनले भने, ‘काठमाडौ सङ्क्रमितको संख्या बढिरहेको छ, सुरक्षित हुनको लागि दिनदिनै आग्रह गर्दा पनि पालना भएको छैन, यसले हाम्रो जनस्वास्थ्यमा दुर्घटना ल्याउन सक्छ, नाकामा पनि नियन्त्रण भएको छैन, यी सबै कुराले हामी उच्च जोखिममा रहेकोले यसलाई रोक्न सबैको सहयोग आवश्यक छ ।’
‘जुनसुकै बेला नाका बन्द र लकडाउन हुन सक्छ’
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डे काठमाडौ उपत्यकामा जुनसुकै बेला नाका बन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने बताउछन् । सङ्क्रमण बढेको ठाउँ विशेषमा लकडाउन गर्न सक्ने व्यवस्था रहेको भन्दै निर्देशक पाण्डे भन्छन् ‘काठमाडौ सङ्क्रमणको डरलाग्दो लक्षण देखिन थालेको छ, हामी थप परीक्षण र अनुसन्धान गरिरहेका छौं, यदि मानिस आउने क्रम रोकिएन, सङ्क्रमण बढ्दै गयो भने लकडाउन वा नाकाबन्दको निर्णय हुन्छ, यसका लागि सम्वन्धित मन्त्रालयहरुले जोखिमको आँकलन गरी निर्णय लिनेछन् ।’
काठमाडौ उपत्यकाको जनजीवन लकडाउन अघिकै अवस्थामा फर्किन थालेको छ । सडकमा हिँड्नेहरुले मास्क कमै मात्र लगाउने गरेका छन् भने व्यक्तिगत दूरीको नियम पनि पालना भएको देखिंदैन । यस्तो अवस्थाले सङ्क्रमणको डर बढेको भन्दै विज्ञहरुले हरेक व्यक्ति सचेत हुनुपर्ने बताएका छन् ।
COMMENTS