पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु

नेपालगञ्ज,१७ साउन । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

उनको अनुसार गएराति ८ः०० बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो । मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जको ट्याङ्कर पार्किङस्थल सञ्चालनमा नआउँदा सडकमै ट्याङ्कर राख्ने गरिएको छ । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएको बताउनुभयो । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्याङ्कर रहेका छन् ।

कोरोना महामारीले सार्वजनिक सवारीसाधन सञ्चालन नभएका कारण पेट्रोलियम पदार्थ खपत कमी भएकाले अहिले धेरैजसो ट्याङ्कर पार्किङमा हुने हुँदा समस्या देखिएको प्रबन्धक पोखरेलले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति