दाङमा पहिरामा पुरिएर आमाछोरीको मृत्यु

काठमाडौं, १४ साउन । दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरे । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आएका थिए । मृतकका श्रीमान्को केही समयअघि मृत्यु भइसकेको बताइएको छ ।

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षात्का कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board