अफगान शान्ति वार्ता सफल होला त ?

काबुल, १३ साउन । लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ ।

अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ ।

पहिलो चरणको युद्धबिराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन यही शुक्रबारदेखि शुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहनेछ ।

तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताए ।

यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको बिनाशर्त रिहाईका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन ।

तर राष्ट्रपति घानीले सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै भने , “शान्तितर्फ सरकारको प्रतिबद्धता जनाउँदै इस्लामिक गणतन्त्र अफगानिस्तानले पाँच हजार तालिबानी बन्दीहरुलाई मुक्त गर्ने कार्य चाँडै सम्पन्न गर्नेछ ।”

पाँच हजार तालिबानी युद्धबन्दीलाई मुक्त गर्न यसअघि गत फेब्रुअरीमा अमेरिका र तालिबानबीचको एक सम्झौतामा सहमति भइसकेको छ ।

राष्ट्रपति घानीले तालिबान समूहसँगको प्रत्यक्ष मध्यस्थता वार्ता अर्को साताभित्रै शुरु हुने सम्भावना रहेको बताए ।

राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेदिकीले काबुल सरकारले युद्धबिराम पालना भएनभएको अनुगमन गर्ने जानकारी दिनुभयो । उनले अफगान जनताले दिगो युद्धबिराम चाहनुका साथै अफगान सरकार र तालिबानबीच प्रत्यक्ष वार्ता होस् भन्ने चाहेका छन् भने ।

तालिबान समूहले गत साता नै इद पर्व लगत्तै अफगान सरकारसँग प्रत्यक्ष मध्यस्थता वार्ता गर्न तयारी गरिरहेको संकेत दिएका थिए ।

तालिबान समूहका तर्फबाट जारी एक वक्तव्यमा तालिबानका सैन्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकूहरुलाई इद अल–अधाका अवसरमा तीन दिनसम्म कुनै सैन्य कारबाही नगर्न आदेश दिनु भएको उल्लेख छ । उहाँले सरकारी वा दुश्मन पक्षबाट कुनै कारबाही भए त्यसलाई स्वीकार गर्न नसकिने पनि चेतावनी दिएका छन् ।

सन् २००१ मा अफगान युद्ध शुरु भएयता यो तेस्रो युद्धबिराम हो । यसअघि सन् २०१८ को जुन तथा यसै वर्षको मे महिनामा रमादानका अवसरमा युद्धबिराम गरिएका थिए । पछिल्लो घोषणाप्रति आम अफगानीले सन्तोषप्रद भन्दै स्वागत गरेका छन् ।

काबुलस्थित अमेरिकी कुटनीतिज्ञ रस विल्सनले युद्धबिरामको स्वागत गर्नुका साथै दुबै पक्षले जतिसक्दो चाँडो मध्यस्थता वार्ता गर्ने विश्वास व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै सबै अफगानीले इद पर्वलाई शान्तिपूर्वक मनाउने बताए । अमेरिका र तालिबानबीच गत फेब्रुअरीमा सम्झौता भएयता तीन हजार ५०० भन्दा बढी अफगान सैनिकको ज्यान गइसकेको राष्ट्रपति घानीले बताउनु भएको छ । यस्तै, ७७५ जना सर्वसाधारण मारिनुका साथै एक हजार ६०९ जना घाइते भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board