काठमाडौँमै पहिरोको जोखिम, स्थानान्तरण गरियो तीन घर

काठमाडौँ, १४ साउन । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ ।

केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्याईरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पु¥याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिराको जोखिममा परेका परिवारलाई अस्थायी रुपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिए ।

पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति