मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, १३ साउन । मनसुन सक्रिय भएसँगै देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यून चापीय रेखा वर्षा गराउने प्रणाली नेपालको तराई भू–भाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

अबका तीन दिन साउन १५ गतेसम्म देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार यसवर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुवान र पहिराको जोखिम बढेको बताइएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव २ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति