राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त


काठमाडौं, १३ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त गरेको हो ।

त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएका छन् । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिवमा नियुक्त गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

उक्त पदका लागि २७ जनाले आवेदन दिएका थिए । । नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ । सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त भएका थिए । भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उहाँ पदमुक्त भएका थिए ।
त्यसैगरी बैठकले १३औँ दक्षिण एशियाली खेलकुद (साग) को प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । उपाध्यक्ष कोइरालाको पनि चार वर्षको पदावधि रहनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board