म मुश्किलले मेरा बुवा पुष्पलालसंग ६ महिना पनि बस्न पाइन – उमेशलाल श्रेष्ठ (पुष्पलालका छोरा तथा उद्योगी)

काठमाडौं । ४२ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा एबीसी टेलिभिजन र नेपालपेज डटकमलले विभिन्न व्यक्तित्वहरुसग विशेष कुराकानी गर्दै आइरहेको छ । यसै सन्दर्भमा सपना थामी र ध्रुव अधिकारीले पुष्पलालका छोरा उमेशलाल श्रेष्ठ, जो अहिले प्रसिद्ध उद्योगी व्यवसायी बनेका छन् । उनैसँग पुष्पलालको बारेमा र बर्तमान देशको अर्थतन्त्रका विषयमा गरिएको कुराकानीको सारसंक्षेप ।

देशले ४२ औं पुष्पलाल स्मृति दिवस मनाइरहेको छ, पुष्पलाललाई सम्झिरहेको छ । यहाँहरुले पारिवारिकतर्फबाट उहाँलाई कसरी सम्झिरहनुभएको छ ?

हामी उहाँलाई एकदिन मात्रै सम्झदैनौं, निरन्तररुपमा सम्झन्छौं । पारिवारिकरुपमा सम्झने भनेको आफ्नो धर्मको चलनअनुसार श्राद्ध गरेर सम्झने हो, नत्र भने हामीले उहाँलाई हरेक दिन जस्तो सम्झिरहन्छौं । अहिले त झन्, कम्युनिष्ट पार्टीको सरकार पनि छ, यसले गर्दा पनि उहाँ हुनुभएको भए, के हुन्थ्यो भन्ने ? अहिले उहाँ हुनुभएको भए, ९६ वषृको हुनुहुन्थ्यो सायद । उहाँ भए के होला, कस्तो हुनथ्यो होला भन्ने सबैको जिज्ञासा पनि त छ नि । सम्झन्छौं, हामी । विल्कूल पारिवारिकरुपमा सम्झन्छौं ।

देशले कसरी सम्झिरहेको छ जस्तो लाग्छ ? समग्रमा यहाँले हेर्दाखेरी ?

मलाई के लाग्छ भने, ७१ साल भयो है, नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको । त्यसपछि साँच्चै नै, नेपालमा एउटा आन्दोलनको लहर आयो । र म नि, हिजो पनि म तपाईको एबीसी विशेष कार्यक्रम हेर्दै थिएं, गद्दार पुष्पलाल लेख्ने व्यक्तिले उहाँको बारेमा राम्रो कुराहरु गर्नुभाथ्यो, सुन्दा खुही नै लाग्यो । उहाँलाई ज्यूँदैमा चाहिं धेरैले गाली गरे । तर, उहाँको मृत्युपछि उहाँको देनहरु सम्झेर आए । विशेषगरी, जनआन्दोलनको कुरालाई भन्छु – अब अरु पनि थुप्रै कुराहरु गर्नुभाछ, अब म त्यति राजनीतिक व्यक्ति नभएकोले, म राजनीतिमा त्यति छैन, राजनीतिकरुपले म कुरा गर्न पनि सक्दिनँ । तर व्यक्तिगतरुपले मैले मेरो बुवासँग धेरै कम समय बिताए ।

म सायद ४ वर्ष या ५ वर्षको हुँदाखेरी उहाँ निर्वासनमा जानुभाथ्यो, त्यसपछि म १० वर्षको उमेरको भएपछि मात्रै हामीहरु वर्षको एकचोटी जाडोको बिदामा बनारस, दरभंगा अथवा गोरखपुर जान्थ्यौं । र १०, १२ दिन १५ दिन सँगै बिताउँथ्यौं । र त्यो सौभाग्य मैले जम्मा ८, ९ वर्ष मात्रै प्राप्त गरें । दिन गन्ने हो भने आधा वर्ष पनि सँगै बिताईन होला । अहिले सम्झिँदाखेरी के लाग्छ भने, कस्तो सहृदय मान्छे, कस्तो सजिलो मान्छे, एकचोटी गाली पनि गर्नुभा छैन । अब केटकेटीमा त अलि सैतानी गरिन्थ्यो नि त, बदमासी गरिन्थ्यो, एकशब्द गाली छैन । त्यो मात्रै होइन, उहाँको साथीहरु, मित्रहरुसँगको व्यवहार, उहाँको दानी नेचर, उहाँसँग थियो नै के र ? त्यैपनि दानी नेचर, बडा दानी नेचर । कसैलाई जाडो लागेको छ भने, आफ्नै कोट पनि उतारेर दिने खालको ।

मलाईभन्दा सायद मेरो मुवालाई थाहा छ होला, मेरो दिदीहरुलाई थाहा छ होला, मेरो काकाहरुलाई थाहा छ होला । मैले पुष्पलाल भनेर विस्तारै पछि बुझें । मैले पढ्दै गएँ, पढ्दै गएँ। उहाँको लेखहरु, रचनाहरु पढें, माक्र्सवादको पनि अध्ययन गरें, अरु विभिन्न अध्ययन गर्दाखेरी ए, म त ठूलै मान्छेको पो छोरा रैछु भन्ने लाग्यो । बुवाप्रति त ठूलै सम्मान भैहाल्छ, त्यसपछि मेरो बुवाप्रतिको सम्मान वृद्धि हुँदै गयो । र अहिले आएर त, उहाँले बनाएको पार्टीले दुई तिहाई मत ल्याएको छ, म त्यसमा खुसी नै छु । हुन त, सरकारको कतिपय काम गर्ने ढंगबाट, चालबाट एक व्यवसायी रुपमा म खुसी छैन । त्यैपनि जनरल गरिबलाई अलि–अलि हेरिराछ, सरकारले, त्यसकारण म खुसी नै छु ।

आफ्नो बुवासँग बिताएको कुनै पल याद छ कि ?

मलाई यादै छैन, ती कुरा । मलाई केही यादै छैन । सायद, एकचोटी राती आउनुभाथ्यो, त्यो के हो मलाई थाहा छैन । खासै याद छैन ।

यहाँले माक्र्सवाद अध्ययन गर्नुभयो, बुवाको किताबहरु पनि अध्ययन गर्नुभयो । तर राजनीतिमा किन लाग्नुभएन ?

राजनीतिमा म त्यही ०३६ सालमा अलि–अलि लाग्याथें, विद्यार्थीको एउटा मोर्चा सम्हालेर लाग्याथें। तर त्यस्तै खालको राजनीति भन्नाले खुलारुपले म कहींपनि लागिनँ । मैले खासमा २०३४ सालदेखि नै आफ्नो काम सुरु गरेको, म त्यो बेला सायद, १९, २० वर्षको थिएं होला । म घर व्यवहारमै अल्झिएं, भन्नुस् न । अब त्यो भन्दा अगाडि घरको एउटा मात्रै आमा त्यो बेला एक जना मात्रै कमाउने हुनुहुन्थ्यो, त्यसपछि बुवा बित्नुभयो । म बुवा बित्नु अलिकति अगाडि काम सुरु ग¥याथें ।
त्यो बेला बुवा, आमा सँगै बस्नुहुन्थ्यो, दिल्लीमै बस्नुहुन्थ्यो ।

अनि यता दिदीको पनि बिहे भईसक्याथ्यो, म एक्लै बस्थें काठमाडौंमा । परिवार चलाउन प¥यो नि त, त्यसकारण म कामधामतिर लागें, व्यवसायहरु सुरु गरें । मलाई के लाग्यो भने एउटा परिवारबाट एक जना मान्छे गए पुगिहाल्छ नि, पछि ०४६ सालपछि अलि दबाब आको थियो, अरु–अरुबाट । तर मलाई के लाग्यो भने हैन, उहाँहरुले राजनीतिक चेतना फैलाउनुहुन्छ, मेरो आमाले, मेरो बुवाले । सामाजिक सचेतनाको कुरा गर्नुहुन्छ । म आर्थिक सचेतनाको कुरा गर्छु, कुरा त त्यही हो आखिर देश कसरी सपार्ने भन्ने मात्रै कुरा हो । मैले त्यही ठानेर मैले राजनीतितिर कहिलेपनि झुकावहरु बढाईन ।

व्यवसायमा छु, लाग्छ सफलै छु जस्तो लाग्छ । तर सफल छु या छुईन ? यहांहरुले हेर्ने कुरा हो । तर मलाई के लाग्छ भने म ठीकठाकै छु, आफ्नो व्यवसायमा सर्वोत्कृष्ट नहुँला तर म राम्रो २, ३ मध्ये पर्छु भनेपछि त्यो राम्रै कुरा हो नेपालको लागि ।

पुष्पलाल यहाँको त आफ्नै अभिभावक, तर समग्रमा देशकै अभिभावक हुनुहुन्छ, उहाँ पारिवारिकरुपमा कस्तो अभिभावक ? अनि राष्ट्रियरुपमा कस्तो ? केही भन्न चाहनुहुन्छ ?

मैले त्यसरी उहाँसँग समय नै बिताउन पाँइन । मैले सम्पूर्ण बाल्यकाल आमासँग बिताए । ८८ वर्षको उमेरमा बित्नुभयो उहाँ । मलाई चै नि, एज् अ फादर मलाई यादै छैन । मैले भने नि, मैले उहाँसँग सायद, १२० देखि १५० दिन मात्रै बिताएं, त्यो भन्दा बेसी दिन बिताएकै छैन ।

यहाँको त आमा पनि बामपन्थी राजनीतिमै हुनुहुनथयो, यहाँको आमा र बुवाको राजनीतिक पृष्ठभूमिलाई कसरी हेर्नुहुन्छ ?

केटकेटीदेखि नै उहाँहरु राजनीतिकरुपले सचेत व्यक्तिहरु हुन्, राजनीतिकरुपले अत्यन्तै सचेत । मेरो बुवा, मेरो ठूलोबुवा गंगालाललाई मारिंदाखेरी गंगालाले भन्नुभाथ्यो रे – प्रजातन्त्रको दियोलाई तिमले निभ्न नदिनु भन्नुभाथ्यो । त्यसले गर्दाखेरी मेरो बुवा राजनीतिमा लाग्नुभयो । त्यो बेला प्रजापरिषद्, त्यसपछि राष्ट्रिय काँग्रेसमा हुनुहुन्थ्यो, त्यसो हुँदाहुँदै उहाँले नेपाल कम्युनिष्ट पार्टी गठन गर्नुभयो । मेरो आमाको सन्दर्भमा चाही उहाँ २००२/०३ सालदेखि नै राजनीतिभन्दा पनि महिला आन्दोलनको लागि उहाँ धेरै एक्टिभ हुनुहुन्थ्यो ।

२००४ सालमा महिलाहरुले ठूलो आन्दोलन ग¥याथ्यो, त्यो बेला को थियो ? राणाहरुको मोहन शमशेर थियो कि को थियो ? थाहा छैन, मलाई एक्ज्याक्ट्ली यकिन भएन, एउटा शम्शेर थियो । यहाँ काठमाडौं नजिकै एउटा छ नि, त्यहाँ उहाँहरुलाई बन्दी बनाएको थियो, १०, १२ दिन बन्दी बनाईसकेपछि त्यो बेलाको श्री ३ महाराजकहाँ लगेर सोधेछ, किन यो केटीहरु ? भन्दोखेरी हामीले पढ्न पाऊँ भन्नुभएछ र उहाँलाई ल ठीक छ यिनीहरुलाई दरबारस्कूलमा भर्ना गर्देऊ भनेर २००४ सालमा नै उहाँले प्रथम ४ महिलाहरु हुनुहुन्थ्यो, मेरो ठूलीआमा, उहाँ, अंगुरबाबा जोशी र अर्को भुवन सिंह हो कि को हो ? चारै जना बितिसक्नुभयो, अंगुरबाबा जोशी त भर्खरै बित्नुभयो, केहीदिन अगाडि मात्रै बित्नुभयो । नेपालबाट पहिलोपटक एसएलसी दिएर पास हुने नेपालको प्रथम महिलाहरु यिनै चार हुन् । र त्यसपछि मात्रै उहाँको झुकाव कम्युनिष्ट पार्टीतिर भयो र राजनीतिक जीवन सुरु भयो ।

अन्तर्वार्ताका क्रममा फोटो – ध्रुव अधिकारी, नेपालपेज

आजको दिनमा भनिन्छ नि, नेपाल कम्युनिष्ट पार्टीले पुष्पलालको तस्विर मात्रै राखिरहेका छन्, जुन चाही कम्युनिष्ट पार्टीको सिद्धान्त, मार्गनिर्देशन छ त्यसलाई उनीहरुले पछ्याउन सकेका छैनन्, उहाँको छोरा भएको नाताले उहाँको सपना पूरा गर्नुपर्छ, फेरी पनि पुष्पलालहरु जन्मनुपर्छ भन्ने लाग्दैन ?

अब फेरी अर्को पुष्पलाल जन्मनु त मुस्किलै होला, यो धेरै गाह्रो कुरा जस्तो लाग्छ । एउटा कुरा हामीले के मान्नुपर्छ भने त्यो बेलाको देशको परिस्थति, त्यो बेलाको सामाजिक, आर्थिक परिवेश, त्यो बेलाको ईन्डस्ट्रीलाईजेशन, त्यो बेलाको कृषि नीति र त्यो बेलाको उहाँको नीतिहरु एकदम सही थिए । तर मेरो मान्यता के छ भने, नीतिहरु भनेको सुधार हुँदै जानुपर्छ, समय अनुसार परिवर्तन हुनुपर्छ, सन् १९१८ मा लेनिनले जे नीति लगाए, अहिले पनि त्यही नीति लाउने भन्ने यो सबै नौंटंकी कम्युनिष्ट हुन्, त्यो हुँदैन, चेन्ज हुँदै जानुपर्छ ।

जस्तो चीनले चेन्ज ग¥यो आफूलाई । जस्तो चीनल कम्युनिष्ट राष्ट्रै हो नि, हामी त कम्युुनिष्ट राष्ट्र होइन, चुनाव जितेर आको मात्रै हौं, चीनले आफ्नो ईकोनोमिक सिस्टमलाई जसरी डेभलप् ग¥यो, त्यही तरिकाले गर्नसक्नुपर्छ हामीले पनि । त्यो सन् १९१८ को जस्तो अर्थनीतिले सायद, देश चल्दैन होला । त्यसैले हाम्रो संविधानमा पनि के लेखिया छ भने यो समाजवादतर्फ उन्मुख छ, समाजवाद भनेको के हो ? समाजवाद भनेको ईक्वालिटी भनेको हो । तपाई र म बराबर, महिला र पुरुष बराबर, अब हाम्रो सम्पत्तिमाथिको हक भयो, हाम्रो अरु हक भयो सबै बराबर । अब सबै बराबर त ठ्याक्कै हुन सक्दैन, अलिकति तलमाथि त हुन्छ । तर धनी र गरिबबीच दुरी कम भएपछि अलि राम्रो भयो नि त । अहिले यहाँ त गरिबहरु साह्रै गरिब छन्, अब पहिले–पहिले कम्युनिष्टहरु के सोच्थे भने धनिहरुलाई काटेपछि धनी सकिन्छन्, गरिबलाई राम्रो हुन्छ, त्यो होईन । गरिबलाई कसरी माथि उकास्ने ? त्यो पो सोच्नुप¥यो ।

मलाई लाग्छ, सरकारले अहिले त्यही सोचिराछ, त्यही गरिराछ । काम गर्दाखेरी अलिकति तलमाथि, दायाबायाँ हुन्छ हैन, उहाँको नीति त्यही ठ्याक्कै हुबहु लाद्नुपर्छ भन्ने छैन । अहिले के कसैले २१ औं शताब्दीको जनवाद भन्छ, कसैले जनताको बहुदलीय जनवाद भन्छ, केलाएर हेर्नुस् न मेरो बुवाले नौलो जनवाद के भन्नुहुन्थ्यो, केलाएर हे¥यो भने भित्री तात्विक भिन्नता केही पनि छैन । त्यो प्रायजसो सबै बहुदलीय व्यवस्थाको अन्तर्गत रहेर, प्रतिस्पर्धाको राजनीति गर्ने भनेर त्यसमा लेखियाछ । त्यसैले तात्विक भिन्नता म त केहीपनि देख्दिनँ, नयाँ जनवाद, २१ औं शताब्दीको जनवाद अथवा मदन भण्डारीको जबज, जनताको बहुदलीय जनवाद भनेको बेसिकल्ली त्यही हो, दायाबायाँ अलि–अलि फरक छ खासै केही छैन ।

समाजवादमा जुन उत्पादन स्वदेशमै हुनुपर्छ, उत्पादन शक्तिहरु सामाजिकरण हुनुपर्छ भनिन्छ, अहिलेको देशको उत्पादन र व्यवसायिक क्षेत्रलाई चाही कसरी हेर्नुभाको छ ?

यसमा अलिकति समन्वयको कमी छ जस्तो लाग्छ । हाम्रो नेताहरुले एउटा कुरा बोल्नुहुन्छ, राष्ट्रिय पूँजीको विकास गर्ने, राष्ट्रिय पूँजीपतिको विकास गर्ने र त्यो अनुसारको कानुन नबनिराको अवस्था छ । यो कर्मचारीतन्त्रले पनि त्यति साह्रो साथ नदिईराको अवस्था छ, त्यल्ले गर्दा अलिकति, यो सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर किनभने निजी क्षेत्र भनेको हाम्रो अर्थतन्त्रको ढाड हो, अर्थतन्त्रलाई डो¥याउने चीज हो, निजी क्षेत्रको अपेक्षा गरेर कुनै पनि मुलुक सफल भाको छैन । एकछिनलाई हेर्नुस्, नर्थ कोरिया हेर्नुस्, क्युबा हेर्नुस्, क्युबा विस्तारै परिवर्तनतिर छ हैन, त्यसैले निजी क्षेत्रलाई जहिलेसम्म उपेक्षा गरिन्छ, अहिले झण्डै–झण्डै त्यही अवस्था छ । निजी क्षेत्रलाई उपेक्षा गर्नुहुन्न, निजी क्षेत्रलाई साथ लानुपर्छ ।

मैले किन यसो भन्ने गरेको छु भने, सरकारको सम्पूर्ण अर्थतन्त्र त, जिडीपीको करिब–करिब ७० प्रतिशत निजी क्षेत्रले दिन्छ, सरकारी क्षेत्रले ४, ५ लाख जागिर देला, निजी क्षेत्रले ५०, ६० औं लाख जागिर दिन्छ । आज हाम्रो देशको समस्या भनेको के हो ? हाम्रो जवान, हाम्रो भाई–बहिनीहरु विदेश गएर पसिना काढ्दै काम गर्नुपर्ने ।

हामीले आफ्नो ठाउँमा उद्योगधन्दा राम्ररी गर्दैनौं, कृषि क्षेत्रमा राम्ररी गर्दैनौं । ती सारा आफ्नो घर छेऊमा बसेर काम गर्न सक्थे नि त, सायद ती, सारा कसैले त कर पनि तिर्थे होला, करको दायरा पनि बढ्थ्यो होला, केही लिन केही दिन पनि सक्नुपर्छ सरकारले ।उहाँहरुलाई कृषिमा अलिकति छुट देऊ, उहाँहरुलाई उद्योगधन्दामा छुट देऊ, नेपालमा हेर्नुस् सबभ्नदा ठूलो समस्या भनेकै बेरोजगारीको समस्या हो । बेरोजगारीको समस्या हल गर्नलाई राष्ट्रिय पूँजीको विकास गर्नुपर्छ, पूँजीपतिको त्यस ैपनि विकास हुन्छ । स्वाबलम्बनतर्फ अघि बढ्न चाहीं प्रयत्न हुनुपर्छ । त्यो खासै प्रयत्न भइरहेको छैन, समस्याको चुरो भनेकै यही हो के ।

नीति र योजना राम्रो छ तर समन्वय भएन भन्न खोज्नुभएको हो ?

नीतिगतरुपमै समस्या छ, ईम्प्लिमेन्टेसन त झनै समस्या छ, अब हेर्नुस् अस्ति बजेट आयो, हामी सबै दुखी भयौं । बजेटले केही पनि गरेनँ, केही पनि भनेन । अब के गर्ने होला भनेर साना, मझौला, व्यापारीहरु दुखी भएर बस्यो । र हामीले अत्यन्तै लबिङ ग¥यौं सरकारसँग र मौद्रिक नीतिले गर्दाखेरी हामी सबै हौसिएका छौं, यो मौद्रिक नीतिले गर्दा अब केही होला है । र सरकारलाई धन्यवाद दिन चाहन्छौं त्यसका लागि । र हाम्रो जहिले पनि कमजोर पक्ष भनेको कार्यान्वयन हो । राम्रो कुरा आएर के गर्नु ? राम्रो बगैंचामा आँप फल्याछ, खानै पाएनँ भने के काम ? त्यो आँप फलेको मतलब नै भएन । त्यसैले कार्यान्वयनतिर हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले अथवा सम्बन्धित मन्त्री ज्यूहरुले कार्यान्वयनतिर ध्यान दिनुभयो भने मलाई लाग्छ, देश चाही उन्नति पथमै लाग्ला ।

अहिले देशमा स्थायी सरकार भइरहँदा लगानीमैत्री वातावरण कस्तो छ ? निजी क्षेत्रमैत्री छ कि छैन ?

यो लगानीमैत्री भन्ने चाही उहाँहरुले सिक्नुपर्छ, हामीले भन्दा विल्कुलै लगानीमैत्री वातावरण छैन । झन्झटिलो, नेपाल सरकारको कार्यालयमा ढिलासुस्ती जस्ता यी सबै कारणले स्वदेशी लगानीकै त वातावरण छैन, विदेशी लगानी कहाँबाट आउँनु ? नेपालमा कस्ट अफ बेसिस यसैपनि बढी छ । ईन्डिया र चाईनामा भन्दा १५ देखि २० प्रतिशत कस्ट अफ बेसिस बेसी छ, त्यसैले हाम्रा सामानहरु महंगा छन् । यी सबै ढिलासुस्तीको कारणले अरु विभिन्न कारणले पनि हो । ट्रान्सपरटेसन राम्रो छैन, पूर्वाधार विकास भइसक्या छैन, त्यसले पनि कस्ट अफ बेसिस बढाको छ । त्यसमाथि सरकारी झमेला । जस्तो म एउटा कम्पनी बन्द गर्न खोेज्दैछु । डेढ साल लाग्यो, एउटा कम्पनी बन्द गर्नको लागि, यस्तो पनि कहीं हुन्छ ? यस्ता सिस्टमहरुलाई सरकारले केलाएर हेर्नुपर्छ, हामीले पनि ठाउँ–ठाउँमा कम्प्लेन गर्नुपर्छ । जबसम्म सरकारले आफ्नो सेवाग्राहीहरुसम्म राम्रो तरिकाले सेवा पु¥याउन सक्दैन, तबसम्म लगानीको वातावरण बन्दैन ।

लगानी सम्मेलन त कति भए, कति भए, वैदेशिक लगानी कति आउछ, कति आउंछ भने, तर लास्ट टाईम पनि कति विलियन डलर आउंछ भने तर खै त आको ? खै आको छैन । लगानी आउन नसक्नुको कारण, म कहीं लगानी गर्छु भने, म त त्यसको प्रतिफल खोज्छु, यहाँ लगानी गरुँ, विदेशमा लगानी गरुँ, जब प्रतिफलको आश कम हुन्छ, काम गर्न गाह्रो हुन्छ भने, म किन लगानी गर्छु ? अरुले किन लगानी गर्छ ? त्यसैले सरकारले हेर्नुपर्ने कुरा यो हो, लगानीमैत्री वातावरण कसरी बनाउने ? एकद्धार प्रणाली भन्छन्, हामीकहाँ १२ वटा ढोका त पहिल्यै थियो, त्यसमा एउटा झ्याल थपेर आयो । जहिले पनि प्रतिफल त्यही हुन्छ, कर्मचारीतन्त्रले हामी उद्योगी, व्यवसायीहरुलाई घुमाईरहन्छ । फन, फन, फन घुमाईराख्ने, अनि हामी घुमिराख्ने । अनि नेताजीहरुले जति नै सदिक्षा राखेपनि विकास नहुने, समस्या त यो हो नि ।

कम्पनी बन्द गर्न त यति झन्झट छ भन्नुभयो, कम्पनी खोल्न चाही कतिको सहज छ त ?

कम्पनी सुरु गर्न त एकदमै सजिलो छ । सुरु गरेपछि त धरापभित्र प¥यो नि तपाई, धरापभित्र छिर्नलाई यसो ढोका खोल्दिए पुग्यो नि, बाहिर निस्कन चाही धेरै गाह्रो छ । मुख्य कुरा त यही हो क्या, मलेसियामा पनि यस्तै सिस्टम छ, तर त्यहाँ कम्युनिष्ट सिस्टम छैन, राष्ट्रिय पूँजी र राष्ट्रिय पूँजीपतिलाई विकास गर्ने भन्ने छ । त्यो कुनै पनि मुलुकले गर्नुपर्छ, आवश्यक पनि छ ।

समाजवादी अर्थतन्त्रबारे तपाई एक उद्योगी, व्यवसायी घरानाकोतर्फबाट कस्तो धारणा राख्नुहुन्छ ?

यो समाजवादी अर्थतन्त्र भनेको दुरी घटाउने कुरा मात्रै हो ।अरु केही होईन, कोही पनि दमित नहोस्, कोही पनि आर्थिकरुपले कमजोर नहोस्, मैले बुझेको समाजवाद भनेकोे यही हो । समाजवाद भनेको पुरानो कम्युनिजम् ल्याउने भनेको होइन । यसमा उद्योगधन्दा पनि हुन्छ, प्राईभेटाईजेशन पनि हुन्छ, प्राईभेट कम्पनीहरुलाई समावेश पनि गरिन्छ, मेरो अर्थमा मैले बुझेको समाजवाद त्यही हो । मैले बुझेको समाजवाद उत्तर कोरियाको जस्तो होईन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board