बाढीको उच्च जोखिममा कपिलवस्तुको दलित बस्ती

कपिलवस्तु,११ साउन । बर्षायाम शुरु भई खोलामा बाढी आउन थालेपछि हरिकला परियारको मनमा कतै बाढी र डुबानमा परेर अकालमै ज्यान जाने त होइन भन्ने डरत्रास पैदा हुन्छ । कपिलवस्तु नगरपालिका–९ कुस्मामा चार घर रहेको दलित बस्ती बाढीको उच्च जोखिम छ । खोला किनारमै घर हुँदा हरिकला जस्तै सबैलाई वर्षायाममा राति निन्द्रा लाग्दैन ।

“गत वर्ष राति सुतिरहेको बेला बाढीले घर डुबायो, अन्नपात गाईवस्तु बगायो”, हरिकलाका श्रीमान् टीकाबहादुरले चने, “हामीले मजदुरी गरेर दुःखले बनाएको घर बाढीले कतिबेला भत्काउला भन्ने डर छ, किसानलाई पानी नपरी नहुने तर हामीलाई पानी परे खान बस्नसमेत चिन्ता हुन्छ ।”

जनताको सबैभन्दा नजिकको स्थानीय सरकारबाट कहिल्यै समस्या हुँदा कुनै राहत महसुस गर्न नसकेको ओमबहादुर सुनारले बताए। “गाउँमा बिजुलीका पोल नहुँदा वर्षौँदेखि टुकीको भरमा बस्नुपर्ने बाध्यता छ”, उनले भने । कपिलवस्तु–९ का वडाध्यक्ष शिवबहादुर वाग्लेले बिजुलीका पोलको लागि तत्काल आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा भारतीरा एकतर्फीरूपमा बनाइएको बझाहा बाँधका कारण किसान फेरि समस्यामा परेका छन् । बाँधका कारण झण्डै ३०० बिघा खेतीयोग्य जमीन डुबानमा परेको छ । मायादेवी–४ को सीमा क्षेत्रमा भारतले बाँध बनाएको र सोही बाँधका कारण त्यस क्षेत्रका किसानहरु समस्यामा परेका हुन् ।

बाँधका कारण वडा नं ४ को तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँको खेतीयोग्य जमीन डुबानमा परेको हो । भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको कारण आफूहरु समस्यामा परेको किसान लालमोहर यादवले गुनासो गरे ।

सीमा क्षेत्रको भारतीय भूभागमा पर्ने बाँधको ढोका बन्द गरिँदा सीमा क्षेत्रको ४७ नम्बरको सीमा स्तम्भसमेत पानीमा डुबेको छ । हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आधा भाग नेपाल र आधा भारततर्फ पर्ने गरेको छ । बझाहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्र वरिपरि बाँध बनाएको छ । बाँधमा रहेका अठ्ठाइस वटा ढोका बन्द गरिँदा नेपालमा समस्या देखिँदै आएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति