समुदायस्तरबाट भएको विकास दिगो हुन्छ: उपसभामुख शर्मा

काठमाडौं, ११ साउन । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समुदायस्तरबाट भएका विकास निर्माण दिगो र प्रभावकारी हुने बताए। कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–९ शान्तिवनमा निर्माण सम्पन्न भएको ढल एवं स्ल्याबको आज उद्घाटन गर्दै उनले योजना छनोट गर्दा जनअपेक्षा र आवश्यकतालाई महत्व दिनुपर्ने बताए ।

भूमिहीन सुकुम्वासीलगायत आधारभूत तहका जनता बसोवास गर्ने क्षेत्रको विकासमा तीनै तहका सरकार र जनप्रतिनिधिको विशेष ध्यान पुग्नुपर्ने बताउँदै उनले तोकिएको समयमा गुणस्तरीय निर्माणका लागि उपभोक्ता वर्ग सचेत हुनुपर्ने आवश्यकता औल्याए ।

प्रदेशसभा सदस्य रामजी बरालले स्थानीय समुदायको सक्रियता तथा जनप्रतिनिधिको पहलमा विकास निर्माणले गति लिएको बताए । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईअन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रु सात लाख ९० हजार तथा दुई लाख ४८ हजार १८० को स्थानीय जनश्रमदानसहित कूल रु १० लाख ४० हजार ३३६ को लागतमा ढलसहित स्ल्याब निर्माण कार्य सम्पन्न भएको हो ।

क्षेत्री समाज नेपालका अध्यक्ष प्रा डा दिलबहादुर क्षेत्रीले आवश्यकताका आधारमा विकास निर्माणलाई अघि बढाइनुपर्नेमा जोड दिँदै कर्तव्य पूरा गरेर अधिकार खोज्नुपर्नेमा जोड दिए । शान्ति वन ढल तथा स्ल्याब निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङ, पोखरा महानगरपालिका–९ का सदस्य राममाया मानन्धर, निर्माण अनुगमन समितिका संयोजक प्रकाश शर्मा, पूर्खबहादुर मगरलगायतले कम लगानीमा बढी उपलब्धि हुने खालका योजनालाई महत्व दिइनुपर्ने धारणा राखे।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board