कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौँ, ११ साउन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ ।

सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

अलपत्र नेपालीको उद्धार
यस हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपि यही साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगन गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ ।

यस्तै मलेशिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायतका देशबाट यस हप्तासम्म २१६ शव नेपाल पु¥याइ परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी छ ।

यसैबीच एनआरएनएको कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनएका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ शुरु भएदेखि समितिले गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ ।

उनले कोरोना भाइरसको महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् एनसीसीको निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताए । उनले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नुपरेको अप्ठ्यारो र संवेदनशील यस घडीमा मल्हम लगाउने काम भइरहेको जनाउँदै यस कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरे ।

बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा दुई हजार १०० स्वयंसेवक खटिरहेको जानकारी दिए । उनले सङ्घका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमार्फत ८१ हजारभन्दा बढीले परामर्श लिएको बताए । बैठकमा स्वास्थ्य समितिका संयोजक डा सापकोटाले गैरआवासीय नेपालीमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका बारेमा आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकाले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि सङ्क्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सहभागीहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको र आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा बताएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board