नेपालमा अब कोरोनाले भयावह रुप लिन सक्छ – डा. प्रभात अधिकारी


१ सय २० दिन सम्म लगाइएको लकडाउन अन्त्यको घोषणा सँगै देशका विभिन्न भागमा कोरोनाको संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको सन्दर्भमा आम नागरिक कसरी कोरोना संक्रमण हुनबाट जोगिने भन्ने विषयमा केन्द्रित भएर सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी सँग अनन्त अनुरागले गरेको नेपाल पेजका लागि गरेको कुराकानीको मुख्य अंशः

सरकारले लकडाउन अन्त्य गरेको यो समयलाई कसरी लिनुभएको छ ?

सामान्य रुपमा लकडाउन खोलेपछि केसहरु बढ्छ नै । त्यो थाहा भएकै कुरा हो । तर, त्यो भन्दा अगाडि कुन कुन क्षेत्रमा हटस्पट छ, कुन कुन ठाँउमा एकदमै डेन्जर छ, कुन कुन ठाँउमा ग्रिन जोन छ, त्यो अनुसार हट जोनलाई लकडाउमा नै राख्ने, ग्रिन जोनलाई खोल्ने बैज्ञानिक तरिकाले गर्नुपर्थ्यो ।
समुदायमा संक्रमण फैलिएको छ कि छैन टे«सिंगहरु गर्नु पर्थ्यो । कन्टयाक्ट ट्रेसिंग चुस्त बनाउनु पर्थ्यो । कन्टयाक्ट ट्रेसिंगबाट आएको मान्छेलाई पिसिआर चेक गर्नु पर्थ्यो । सामुदायिक स्तरमा संक्रमित छ कि छैन पत्ता लगाएर रेड जोन, ग्रिन जोन पत्ता लगाएर सोही अनुसार खोल्नु पर्थ्यो । सरसर्ती हेर्दा सरकारले लकडाउन खोल्न अलिक हत्तार भए जस्तो लाग्छ ।

नेपालमा लकडाउन हटेपछि कोभिड–१९ कुन अवस्थामा पुगेको छ ?

अहिले कतिपय केसहरु यस्ता पनि भेटिएका छन् जसको कुनै पनि ट्राभल हिस्ट्री देखिएको छैन । अहिले बाहिरबाट आउनु पर्दैन, तराईको हटस्पटबाट आएको हुनाले त्यसलाई ट्राभल हिस्ट्री मान्नुपर्छ । ट्राभल हिस्ट्री नभएको , पोजिटिभ मान्छेसँग पनि संगत नभएको, आफ्नै घर टोलमा बसेको मान्छेलाई कोभिड पोजिटिभ भेटिएको छ । एक जना व्यक्तिको मृत्यु समेत भइसकेको छ । यसको अर्थ कहाँ बाट आयो त । यसरी हेर्दा नेपालको सन्दर्भमा कुनै कुनै ठाउंमा कोभिड समुदायिक स्तरमा पुगेको देखिन्छ । त्यसैले एकै पटक लकडाउन खोल्नु हुंदैनथ्यो । पहिले पहिचान गर्नुपर्थ्यो । पहिचान गरिएको क्षेत्रलाई निगरानीमा राखेर लकडाउन खोल्नुपर्थ्यो । गर्नुपर्ने चाहिं त्यो थियो । तर नेपालभरी खोलियो ।


अहिले वीरगंज र विराटगनर त केवल उदाहरण मात्र हो । अहिले उद्योग, कलकारखाना जुन हिसावले खोलिएको छ, र बीचमा कुनै पनि रोकटोक छैन, र चेकिंगहरु जुन रुपमा समुदायिक स्तरमा हुनुपर्ने हो भएको छैन । बीरगंजमा भएको केसहरु अब पोखरामा, काठमाडौंमा र भक्तपुरमा जादैंन भन्ने के ग्यारेन्टी छ ? कतिजना मान्छेको त कुनै किसिमको लक्षण पनि हुँदैन । रेडस्पटका लक्षण नभएका मान्छेहरु खुल्ला रुपमा आवतजावत गरेपछि ठुलो जनघनत्व भएको शहरमा फैलियो भने त व्यापक रुपमा फैलिन्छ त । त्यसलाई त नियन्त्रण नै गर्न सकिंदैन । त्यही यो भवितव्यको कुरा हो । यो हुने सम्भावना धेरै छ ।

त्यसो हो भने, सरकारले विना तयारी, हचुवाको भरमा क्षेत्रहरु पहिचान नगरी लकडाउन खोलिएको तपाईहरुको बुझाई हो ?

file photo.

आंशिक तयारी मात्रै भयो, जस्तै टेस्टींगहरु बढाइयो, एक स्तरमा समुदायिक स्तरमा पिसिआर टेस्टहरु पनि गरियो, त्यो राम्रै कुरा हो । तर, त्यतिले मात्रै पुग्दैन । हामीले के भनेको हो भने, इलाइजर टेष्ट बाट सेरोजोली टेष्ट गरेको भए हुन्थ्यो ।

नेपालमा यो सेरोलोजी टेष्ट भएको छ कि छैन ?

भएको छैन । जस्तो कि मन्त्रालयबाट यसलाई मान्यता दिएको छ कि छैन, मलाई जानकारी छैन । तर, त्यसको टेष्टहरु किटहरु छ । नेपाल सरकार बाहेक निजी स्तरको ल्याबहरुमा छ ।

कोरोना लागेर आइसोलेसनमा बसेका मान्छेहरुलाई पिसिआर चेक गरेर नेगेटिभ देखिएपछि घर पठाइन्छ, यो कोरोना नभएको ठोकुवा हो कि होइन ?

अहिले चै ठोकुवा हो । साइन्स चेन्ज भइरहेको हुन्छ, अहिलेको साइन्स अनुसार मानौं कसैलाई संक्रमण भयो, अब विस्तारै ठिक हुदैं पनि गयो, ८० प्रतिशतलाई त आफैं ठिक हुन्छ । ८० प्रतिशतमा पर्यो भने लक्षण पनि आउला, तर विस्तारै ठिक हुन थाल्छ, ठिक पनि हुदैं गयो, लक्षण पनि हराउँदै गयो भने ८, ९ दिनमा पिसिआर चेक गर्दा प्रायः नेगेटिम देखाउँछ । पिसिआर पोजिटिभ भएपनि त्यो भाइरस संक्रामिक हुदैंन, त्यो डेड भाइरस हो । त्यो कसरी थाहा पाइन्छ, त्यो नेपालमा सम्भव छैन, विकसित देशहरुमा पिसिआर पोजिटिभ केसहरुलाई कल्चर गरेर हेर्न,े हेर्दा भाइरस ग्रो गरेन भने त्यसैले त्यो डेड भाइरस हो ।

नेपालमा कल्चर गर्ने गरिएको छ कि छैन ?
नेपालमा कल्चर गर्नै सकिदैंन । त्यसका लागि ठूलो ल्याबहरु चाहिन्छ, त्यस स्तरको ल्याबहरु हामी सँग छैन ।

एक पटक लागिसकेको व्यक्तिलाई फेरि लाग्ने सम्भावना रहन्छ कि रहन्न ?
लाग्ने सम्भावना रहन्छ । चाइनामा पनि एक पटक लागेको मान्छेलाई पटक पटक लागेको छ । तर, तुरन्त नलाग्न सक्छ । किनभने शरिर भित्र एन्टीबडी हुन्छ, भाइरस टोट्ली धेरै चेन्ज भएर आएन भने त एन्टीबडीले त्यो भाइरसलाई रोकेर राखेको हुन्छ । तर, कहिले कांही के हुन्छ भने, भाइरस चेन्ज भइरहेको हुन्छ, अलिक फरक भाइरस आइदियो भने, शरिरको इम्युनिटीले काम नगर्न सक्छ । त्यही भएर लाग्दै लाग्दैन भनेर हुँदैंन ।

नेपालको पच्छिलो डाटालाई अध्ययन गर्दा नेपालमा कोभिड १९ नियन्त्रणको रेखाभित्रै छ भन्छन नि ?

यस्तै डाटाको पछि लागेर अमेरिका फसेको पनि हो । अमेरिकामा कोभिडको हिस्ट्री हेर्दाखेरी सुरुमा २ सय, ३ सय केस हुँदाखेरी अमेरिकन राष्ट्रपतिले यो हामीले नियन्त्रण गरी सक्यौं, यो अब घटेर जान्छ, एक महिना दुई महिनामा जिरो केस हुन्छ भन्नुभएको थियो । तर, त्यसको ठिक उल्टो केस भयो, दुई महिनामा यति केस बढ्यो कि न्यूयोर्क सिटी ध्वस्त भयो, न्यूयोर्कले त्यस्तो गरेको थाहा पाउँदा पाउंदै पनि सोही अनुसारको नियन्त्रण र न्यूनियकरणको उपाय अबलम्बन नगर्दा अहिले फ्लोरिडा र टेक्सास धरासायी भइरहेको छ । मेरो विचार हाम्रो अवस्थामा पनि त्यही दिशातर्फ उन्मुख छ । हामीलाई लागि रहेको छ भाइरसले । हामीलाई केही पनि गर्दैन, यसरी अनुमानको भरमा त्यसरी बस्नुभएन । अरु देशमा तान्डव मचाइरहेको छ भने, हामी पनि सोही अनुसार तयार हुनु पर्यो ।
त्यसो हो भने, नेपालमा अझै पनि कोरोनाको रेड लाइन आउन बाँकी नै छ ?
पानी पर्नु भन्दा अगाडि हावा चल्छ नि, अहिले हावा मात्र चलेको छ, पानी पर्न बाँकी नै छ, माथि आकाशमा कालो बादल देखेको छैन भनेर पानी पर्दैन भनेर बस्नु गलत कुरा हो । हामीले पहिले नै पानीबाट बच्नलाई छाता लगाउने हो कि, बाढी पहिरो आउन सक्छ, त्यसको तयारी, पूर्व तयारी त गर्नुपर्यो नि ? कोरोनाको भयावह स्थिति आउन सक्छ भनेर पूर्व तयारी र सर्तक हुनु आवश्यक छ ।

तपाई जस्ता जानकारहरुले लकडाउन खुलिसकेको अवस्थामा सरकार र आम जनतालाई दिने सल्लाह के हुन्छ ?

यसमा म चाहीं एउटा कोभिड सम्बन्धी र अर्काे ननकोभिड डिभाइड गर्छु । कोभिडको विषयमा फोकस गर्ने हो भने, पहिले रोकथाम योजना बनाउनु पर्यो । रोकथाम योजनामा टेस्टीगंको कुरा हुन्छ, पिसिआर अझै बढाउनु पर्यो । यसमा अलिक दायरा फराकिलो पार्नु परयो, ज्वरो नआए पनि अरु लक्षण देखा परेको चेक जाँच गर्न पर्यो । कन्टयाक्ट ट्रेसिगं पनि बढाउनु पर्यो, विभिन्न माध्यमहरु प्रयोग गरेर रेड जोन, ग्रिन जोन म्यापिगं गर्न सकिन्छ । त्यही म्यापको आधारमा खोल्ने कि लकडाउन गर्ने निर्णय लिन सकिन्छ । आउटव्रेक भइहाल्यो भने, त्यसको उपचार के ? आइसियुको बेडको नम्बरहरु बढाउने, त्यो भन्दा महत्वपूर्ण कुरा हामीलाई अक्सिजन चाहिन्छ, प्रयाप्त उपलब्ध छ कि छैन हेर्नुपर्यो । यसमै काम गर्ने औषधीहरु छन्, त्यसको व्यवस्था गर्नु पर्यो । भेन्टिलेटर लगायतको उपकरणको व्यवस्था गर्नु पर्यो । कोभिड भन्दा ननकोभिडबाट पनि मान्छे मर्न सक्छ, त्यसको लागि पनि तयारी र ध्यान दिनु पर्यो । कोभिड सँगै ननकोभिडको ध्यान दिनुपर्छ ।

लकडाउन खुलेपनि यदि हामी सचेत भएनौं भने अझै पनि भयावह स्थिति आउन सक्छ ?
अहिले लकडाउन खुल्यो वा खुकुलो भयो भन्दैमा हाम्रोमा भाइरस छैन, हामीलाई भाइरसले केही पनि गर्दैन, भाइरस हरायो, हामी जित्यौं, त्यो भनेको गलत कुरा हो । यस्तो भ्रममा नबस्नुहोला, हामी कोभिड १९ बाट बच्न जे गरीरहेका थियौ, सामाजिक दुरी, मास्क, हात धुने लगायतको सरकारले जारी गरेको गाइडलाइन परिपालना गर्नु जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board