नयाँ कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो !

काठमाडौं, १० साउन ।कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।

अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् ।

उनका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उनले भने, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।”

लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताए । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् । उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । “अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका सङ्क्रमित उपचार गराउन आउँछन्”, उनले भने, “ती कतिपय सङ्क्रमितलाई सघन उपचार कक्ष आइसियु र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।”

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा । विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने सङ्क्रमितमा लक्षण देखिन थालेका बताए । “पहिले अस्पतालमा भर्ना हुने सङ्क्रमित लक्षणविहिन रहेका थिए”, उनले भने, “तर अहिले अस्पतालमा भर्ना भएका सङ्क्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।उनका अनुसार अहिले अस्पतालमा १५ जना सङ्क्रमित भर्ना भएकामा तीन जनामा सामान्य लक्षण देखिएका छन् ।

अस्पताल भर्ना भएका सातजना सङ्क्रमित भारतका रहेका छन् । ती सङ्क्रमितमा हल्का ज्वरो आउने, रुघाखोकीका समस्या रहेका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३७४ सङ्क्रमितमध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने सङ्क्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ । यसैगरी विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ६६ हजार ८४० जना रहेका छन् । तीमध्ये ५४ लाख ७५ हजार १६३ जना ३४.९ प्रतिशत सक्रिय सङ्क्रमित रहेका छन् भने छ लाख ३६ हजार ७८७ जना कोभिड–१९ का कारणले मृत्यु भएका छन् । जुन कूल सङ्क्रमितको ४.१ प्रतिशत हो । यस्तै ९५ लाख ५४ हजार ८९० जना निको भई घर फर्किसकेका छन् । जुन निको हुने ६१ प्रतिशत हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति