केपी ओलीले दुई मध्ये एक पद छाड्नै पर्छ, विधि मान्नै पर्छ – रघु पन्त, स्थायी समिति सदस्य, नेकपा

काठमाडौं । नेकपा भित्र देखिएको विवाद कसरी समाधान गर्ने, पार्टी भित्रको अहिलेको विवादको सहज समाधान कसरी हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर नेकपाका स्थायी समिति सदस्य रधुजी पन्तसँग अनन्त अनुरागले नेपलपेजका लागि गरेको कुराकानीको सम्पादित अंश :

अहिले पार्टीमा देखिएको विवाद पदको लागि हो कि पद्धतिका लागि ?

अहिले नेकपा भित्र शुरु भएको विवाद विधि, पद्धति विधान मान्ने कि पद मान्ने कुरा, पदमा बसेको प्रधानमन्त्रीले मैले जे भन्छु त्यही ठिक भन्दै अंहकार पालेका छन् । पार्टीमा विधान छ, विधान अनुरुप पार्टी चल्नु पर्यो, पार्टीको बैठक बस्नु पर्यो ।
सरकार व्यक्तिको होइन, पार्टीको सरकार हो । गएको निर्वाचनम कुनै व्यक्ति विशेषलाई दिएको बहुमत होइन । हामीले निर्वाचनमा कुनै व्यक्तिलाई अगाडि सारेर मत मागेको होइन । हामीले मत मागेका थियौं नेकपाका लागि । नेकपाले स्थिर सरकार दिन्छ भनेर बमहुत देउ भनेर जनतासँग मत मागेका हौं ।

प्रधानमन्त्रीले पार्टी र दलको भूमिकालाई स्वीकार गर्नु पर्यो । उहाँका नजिकका साथीहरुले भन्नुहुन्छ जनताले बनाएको प्रधानमन्त्री । माफ गर्नुहोला जनताले बनाएको प्रधानमन्त्री होइन, जनताले बनाएको संसद हो, पार्टीले संसदीय दलमा निर्वाचित गरेर संसद मार्फत उहाँलाई प्रधानमन्त्री बनाएको हो ।

तर, पार्टी अध्यक्षको नेतृत्वमा चुनाव लडेर दुई तिहाई बहुमत ल्याएको कुरा सत्य हो नि ?

विलकुलै होइन । उहाँको नेतृत्वमा लडेको होइन क्लियर हुनुस् । हामीलाई त थाहै छैन । उहाँले त प्रचण्डसँग कुन बेला आलोपालो भनेर सहमतिमा हस्ताक्षर गर्नुभयो । आधी आधी चलाउने हस्ताक्षर उहाँले नै गर्नुभएको हो । पछि उहाँले मान्नुभएन, त्यो फरक कुरा हो । त्यो दिएको कागजले के सिद्ध गर्यो भने उहाँको एकल नेतृत्वमा भएको थिएन । उहाँको एकल नेतृत्वमा भएको भए त उहाँले भन्नसक्नु पर्थ्यो नि, यो निर्वाचन मेरो नेतृत्वमा लडेको हो । मैले ५ बर्ष सरकार एकल रुपमा चलाउंछु, यो कुरा पार्टीलाई भन्नुपर्थ्यो र प्रचण्डजीलाई पनि भन्न सक्नु पर्थ्यो । उहाँले त प्रचण्ड सँग खुुसुक्क कागज गर्नुभयो । आधी कार्यकाल मैले चलाउने आधी कार्यकाल तपाईंले चलाउने, अर्थात चुनाव पनि त्यतिबेला फरक फरक चुनाव चिन्हबाट लडेको हो नि । यो त स्पष्ट छ नि । न प्रचण्डजीको एकल नेतृत्वमा चुनाव लडिएको थियो, न त केपीजीको नेतृत्वमा एकल चुनाव लडिएको थियो । यो चुनाव हामीले आ–आफनो पार्टीको नेतृत्वमा लडेको हो । पार्टी एकिकरण भएपछि बहुमत भएको छ । पार्टीको विधान अनुसार पार्टी चल्नु पर्यो, त्यसै गरी देशको संविधान अनुसार सरकार चल्नु पर्यो । हाम्रो भनाई यत्ति हो ।

निर्वाचनदेखि यहाँ सम्म आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकालाई गौण देख्नुहुन्छ ?

म कसैको भूमिकालाई गौण देख्दिन । तर कसैको एकल भूमिका थियो भन्ने कुरा पनि म मान्दिन । निश्चिय नै पार्टीको बहुमत आउनुमा केपी कमरेडको भूमिका छ, तर के अरु सबै घाँस काटेर बसी रहेको थियो र ? थिएन । हाम्रो पनि भूमिका छ । धेरै कार्यकर्ता आफुमाथिको अन्याय अत्याचार विर्सेर पार्टीलाई जिताएका हुन । कुनै एक व्यक्तिको एकल पराक्रमले नेकपाले विशाल जित हात पारेको होइन । आज मात्र होइन, हिजोदेखि नै जो जो नेतृत्वमा बसे तिनीहरुको एकल नेतृत्वमा होइन, हाम्रो पार्टी यहाँसम्म आइपुगेकै सामुहिक नेतृत्वले, सामुहिक कार्य प्रणालीले, पार्टीलाई प्रमुख मान्ने, संगठनलाई प्रमुख मान्ने, विधि र पद्धति अनुरुप चल्ने कुराले हो । तर, अहिले त्यो ब्रेक हुन थाल्यो, सरकार त्यो भन्दा फरक तरिकाले चल्न थाल्यो, त्यो भन्दा फरक ढंगले पार्टी चलाउन थालियो । पार्टी त चल्दै चलेन । आज एकिकरण भएको दुई बर्ष भई सक्यो, तर पार्टीको एकिकरण टुंगिएको छैन । बीचमा पार्टीको महाधिवेसनको लफडा ल्याइएको छ । एकिकरण नै पुरा भएको छैन, महाधिवेसन कसरी गर्ने ? मंसिरमा अर्ली महाधिवेसनको बम फोडिदिने मान्छेहरु अलमल पर्छन् अनि हामीले त महाधिवेशन गर्ने भन्या थियौं, महाधिवेशनबाट भाग्न पाईदैंन भनेर कुर्लनका लागि हो । त्यो कसरी सम्भव हुन्छ, हामीलाई त चित बुझाउनु पर्यो नि ?

त्यसो भए प्रधानमन्त्रीज्यूले पार्टीको विधि र प्रक्रियालाई मान्नुभएको छैन, उहाँ पार्टी भन्दा माथि हुनुहुन्छ, तपाईको तर्क यही हो त ?

उहाँ माथि छु भन्ने देखाउन खोज्नु भयो । जस्तो उदाहरणको लागि, हाम्रो पार्टीको बैठक बालुवाटारमा बस्नुपर्ने हो र ? प्रधानमन्त्रीको निवासमा बस्नुपर्ने होइन नि ? तर प्रधानमन्त्रीको निवासमा स्थायी कमिटिको बैठक किन राखियो भने, प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सजिलो होस् भनेर राखेको हो नि, उहाँकै आंगनमा बैठक राखेर पछि आउन सजिलो होस् भनेर । तर, उहाँ बैठकमा नै आउनुहुन्न । गजव छ भन्या । हाम्रो पार्टीमा अहिलेसम्म कुनै पनि नेताले यस्तो गर्नुभएको रेकर्ड छैन । झलनाथ खनाल अध्यक्ष हुँदा दुई घण्टा केपी कमरेडले औला देखाएर आलोचना गरेको हाम्रो कानले सुन्या छ, हाम्रो आँखाले देख्या छ । झलनाथले शान्त भएर सुन्नुहुन्थ्यो, माधव कमरेडलाई पनि उहाँले छाला खुइलिने गरी आलोचना गर्नुहुन्थ्यो । उहाँहरु शान्त तरिकाले सुन्नुहुन्थ्यो, बैठकमा जवाफ दिनुहुन्थ्यो र सहमति गरेर अगाडि बढिन्थ्यो । आज त्यो आलोचना भन्दा केपी ओली माथि हुनुहुन्छ ? हामीले त सबैको आलोचना गर्थ्यौं त, केपी ओलीजीको आलोचना गर्न नपाइने ? उहाँले बैठकमा आफनो कमीकमजोरी र आलोचना सुन्नु पर्दैन ? बैठकमा नआएर चल्छ, समस्या त उहाँको कारणले भएको हो, उहाँ अध्यक्ष, उहाँ प्रधानमन्त्री । कहाँ गएर आलोचना गर्ने सडकमा गएर आलोचना गर्ने होइन होला नि त ?

स्थायी कमिटिले तय गरेको एजेण्डा भन्दा बाहिर गएर कुराकानी उठ्यो नि ?

त्यो त उहाँले उठाई दिएको हो नि ? हामीले बैठकमा कोभिडको समस्याका बारेमा राम्ररी छलफल गरीरहेका थियौं । त्यसलाई दोश्रो एजेण्डा बनाएर हामी सिमा समस्याको बारेमा छलफल गर्न सुरु गरेका थियौ । प्रधानमन्त्रीज्यूले आपत्तिजनक कुरा बाहिर बोलिदिनुभयो । त्यसले देश भित्र पनि तंरग उत्पन्न भयो, देशका जनतालाई पनि आक्रोसित बनायो, हामीलाई पनि आक्रोसित बनायो, त्यसले छिमेकीसँगको सम्बन्धमा पनि नकारात्मक असर पर्यो । त्यसले गर्दा खेरी बैठक तंरगित भयो । तपाई कल्पना गर्न सक्नुहुन्छ, यो पार्टीका कुनै नेता विदेशी शक्तिको इसारामा लागेर उहाँलाई हटाउन खोज्दै छ भनेर ? आरोप लगाउने हो ? यस्तो कल्पना पनि कसैले गर्न सक्छ ?

अहिले देखिएको विवाद प्रधानमन्त्रीज्युलाई दुईटै पदबाट राजिनामा नगराईकन यथास्थितिमा सम्भव छ ?

यथास्थितिमा समाधान त निस्किदैं निसिक्दैन, त्यो त स्थायी कमिटिको बैठकलाई त्यतिकै छोडेको जस्तो हुन्छ, यसलाई यत्तिकै छोड्यो भने फेरि ३ महिना पछि ठुलो बबन्डर सहित आउनेछ । किन भने समस्या त पाकेर बस्छ नि, यो समस्या समयमा नै समाधान गरेको भए यहाँसम्म आउँदैनथ्यो । यो समस्या विगत एक डेढ बर्षदेखि पाक्दै पाक्दै यहाँसम्म विस्फोट हुने अवस्थामा आइ पुगेको हो । यसलाई छोपछाप गर्नुभयो भने फेरि ज्वालामुखी फुट्छ, त्यसैले हामीले भन्यौ, यस्को स्थायी समाधान खोजौं, आपसी समझदारीबाट यसको समाधान खोजौं र पार्टी एकता र सरकारलाई प्रभावकारी बनाऔं ।

त्योभए उहाँले दुवै पदबाट राजिनामा दिनु पर्ने ?
अहिले त हामी एक कदम पछाडि हटेर भनेका छौं, उहाँलाई अप्ठायारो भएको छ भने, अहिले उहाँले प्रधानमन्त्री र अध्यक्ष पद मध्ये एउटा चयन गर्नुस् । एक पद त उहाँले छोड्नै पर्छ । उहाँले प्रधानमन्त्री पद छाड्ने कि अध्यक्ष पद, त्यो उहाँको निर्णयमा भर पर्छ ।

निष्कर्षमा भन्नु पर्दा, अहिले नेकपाभित्र देखिएको विवाद व्यक्ति र पद भन्दा पनि पार्टीलाई विधि, पद्धति अनुसार चलाउने संघर्ष हो त ?

एकदमै । अहिले देखिएको विवाद पार्टीलाई विधि र पद्धति अनुसार चलाउने संघर्ष हो । पार्टीलाई शुद्ध बनाउने, पार्टीलाई विधि अनुसार चलाउने र सरकार पनि राम्रो सँग चलोस् भन्ने राम्रो कामना राखेर गरिएको संघर्ष हो यो । हामी त्यो संघर्षमा लागि रहेका छौं । हामी सफल हुनेछौं ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board