युवतीमाथि एसिड आक्रमण: ‘कोठा जाँदैगर्दा बीच बाटोमा लुकेर एसिड हान्न लगाए’

काठमाडौँ, ९ साउन । काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो ।

मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियुक्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्राउ गरेको हो । आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् ।

फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसिड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो । टोलीले उनीहरुलाई राति १०ः४५ बजे गार्मेन्टबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका मोहम्मद आलम र फैयाज आलम

आफूअनुकूलको काम नमानेकाले एसिड हानेको प्रारम्भिकरूपमा बयान दिएको प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । एसिड प्रहारबाट गम्भीर युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

उनको अनुहारलगायत शरीरका विभिन्न अङ्गमा असर पुगेको छ । एसिड हान्ने फैयाजसमेत घाइते भएको जनाइएको छ ।

यसरी भएको थियो घटना
प्रहरीले दिएको जानकारीअनुसार युवती विवाहको तयारीमा थिइन् । अर्कैसँग विवाह गर्ने कुरा मोहम्मदलाई मन परेको थिएन । त्यसैले उनले घटना घटाउन पुगेको जनाइएको छ । पहिले पीडित युवतीकी दिदी सोही गार्मेन्टमा काम गर्दा उनीसँग चिनजान भएको थियो । केही वर्षअघि ती युवतीले पनि छोटो समय गार्मेन्टमा काम गरेकी थिइन् ।

त्यसपछि युवती होटल ह्यातमा काम गर्दै आएकी थिइन् । पूर्वयोजना मुताविक सहयोगी फैयाजलाई बीच बाटोमा एसिड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीबार मोहम्मदले विभिन्न बहाना बनाई युवतीलाई फोन डायल गरे । निकै कर गरेपछि युवती मोहम्मदले भनेको ठाउँमा आइन् ।

केहीबेर होटलमा बसेर कुराकानी पनि भएको छ । त्यसपछि युवती कोठातर्फ जाँदै गर्दा बीच बाटोमा लुकेर बसेका फैयाजले एसिड हानेका प्रहरीले जनाएको छ ।

एसिड आक्रमण भएको दिन बिहीबार साँझ पनि उनलाई आलमले पाँच पटक फोन गरेको देखिन्छ । ‘धेरै फोन आएपछि उनले उठाएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘फोनमा भेटेर चिया, खाजा खाउँ भनेर प्रस्ताव गरेको पाइएको छ ।’

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले अर्कैसँग विवाह गर्न लागेकाले एसिड हानेको प्रारम्भिक चरणमा खुल्न आएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board