काठमाडौँमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं, ९ साउन । प्रहरीले काठमाडौंको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गरेको आरोपमा दुई जनालाई नार्गजुन ४ सिर्जनसिल टोलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेको प्रहरीले जनाएको छ । युवतीलाई आफूहरूले मन पराएको तर, उनले अरू नै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको उनीहरूले बताएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । एसीड प्रहारबाट घाइते युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो । मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ । युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए । आफू भने अलि परै बसेका थिए ।
एसिड प्रहार गरिसकेपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board