प्रदेश नं १ : प्रदेशसभा भोलिदेखि अन्त्य

काठमाडौं, ८ साउन । प्रदेश नं १ को प्रदेशसभाको जारी बजेट अधिवेशन यही साउन ९ गते राति १२ः०० बजेबाट अन्त्य हुने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जारी छैटौँ तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो जानकारी दिए । बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै यातायात व्यवस्था कार्यालय ओखलढुङ्गामा स्थापना गर्ने निर्णय गर्नुका साथै महालेखा परीक्षकको प्रतिवेदन–२०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको मन्त्री आङ्बोले जानकारी दिए ।

यस्तै अन्य निर्णयमा सामाजिक विकास मन्त्रालयको प्रस्तावअनुसार मस्जिद व्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०७७ स्वीकृत गर्नुका साथै सामाजिक संस्था ऐन–२०७५ संशोधनका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । पर्यटन विकाससम्बन्धी नियमावली–२०७७ र प्रदेश वातावरणसम्बन्धी नियमावली–२०७७ समेत बैठकले स्वीकृत गर्ने निर्णय गरेको मन्त्री आङबोले जानकारी दिए । बैठकले पर्यटन र वनसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने निर्णय गर्नुका साथै प्रदेश सरकारले अघिल्लो आवमा भएका कामको बाँकी भुक्तानी दिने र स्रोत मिलान गर्ने निर्णय भएको मन्त्री आङबोले बताए ।

बैठकले प्रदेश सरकारले चालू आवका कार्यक्रम कार्यान्वयन प्रक्रिया शुरु गर्ने निर्णय गर्नुका साथै घरेलु विकास समितिमा कार्यरत सबै करार सेवाका कर्मचारीको समयावधी एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार सङ्घीय सरकारले घरेलु विकास समिति हस्तान्तरण गर्दा आएका सबै अस्थायी करार सेवाका कर्मचारीको म्याद एक वर्ष थप गर्ने निर्णय भएको मन्त्री आङबोले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board