वर्तमान राजनीतिमा पुष्पलाल र बीपीको सान्दर्भिकता

विचारको हरेक वर्षझैँ यो वर्ष पनि साउनको पहिलो साता नेपाली वाम– प्रजातान्त्रिक राजनीतिका दुई महारथीहरु पुष्पलाल र बीपी कोइरालाको स्मरण गरियो । सामाजिक सञ्जालका भित्तादेखि राजनीतिक दलका कार्यक्रमहरुमा यी दुई हस्तीहरुको योगदानको चर्चा भयो । अहिले प्रमुख राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको सात दशकदेखिको राजनीतिको मार्गदर्शक बनेका यी दुई शिर्षस्थ नेताहरुकै अथक संघर्ष, त्याग र सिद्धान्तनिष्ठाको आलोकमा आजको परिवर्तन सम्भव भएको हो । निरंकुशताको अन्त्य गर्दै मुलुक र जनताको रुपान्तरणका लागि दुवै नेताहरुले जीवनभर संघर्ष गरे पनि उहाँहरुको जीवनकालपछि मात्र परिवर्तन सम्भव भयो । मुलुक पुष्पलाल र बीपीले कोरेको मार्गचित्रमा अगाडि बढ्दै पञ्चायतको अन्त्यपछि संविधानसभा हुँदै गणतन्त्रसम्म पुगेको छ । तर समकालीन नेपालको राजनीति भने ठिक उल्टो गतिमा छ । पुष्पलाल र बीपीको अनुयायी दलहरुका अधिकांश नेता कार्यकर्ताले उहाँहरुको सिद्धान्तनिष्ठा, सादगीपूर्ण जीवन, संघर्ष र त्यागलाई बिर्सेका छन् । फलतः युगान्तकारी परिवर्तनपछि पनि राजनीतिको केन्द्रबिन्दुमा जनताको स्थान बन्न सकेको छैन ।
पुष्पलाल र बीपी समकालीन मात्र हुनुहुन्नथ्यो, उहाँहरुबीच मुलुक र जनताको समृद्धिका लागि वैचारिक सामिप्यता पनि थियो । बीपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनाबाट समाजवादी आर्थिक कार्यक्रमको पक्षधर हुनुहुन्थ्यो भने पुष्पलाल साम्यवादी राजनीतिक–आर्थिक संरचनाबाट मुलुक र जनताको समृद्धिको वकालती । दुवै विचारमा माक्र्सवादी दर्शनको प्रभाव थियो । मुलुक र जनताको समृद्धिको यात्राका लागि सबैभन्दा पहिले एकदलीय पञ्चायती व्यवस्था र राजा निरंकुशताको अन्त्य गर्ने मुद्दामा दुवै नेताको एकमत थियो । यसैले पञ्चायत बिरुद्धको संघर्षलाई निष्कर्षमा पु¥याउन वाम–लोकतान्त्रिक शक्तिहरु मिल्नुको विकल्प नभएको उहाँहरुको ठहर थियो । तर संकुचित राजनीतिक एजेण्डामा केन्द्रीत जडसुत्रवादी कम्युनिष्ट घटकहरु पुष्पलालको विचारसँग सहमत भएनन् । बरु उल्टै उहाँमाथि ‘गद्दार’को पगरी गुथाएर राजनीति गर्न थाले । यता बीपीको दल कांग्रेसभित्र पनि कम्युनिष्टसँग भन्दा राजासँग सहकार्य गर्नुपर्छ भन्ने हीनग्रन्थी हावी थियो । समयक्रममा नेकपाभित्र पुष्पलाललाई गद्दार देख्ने प्रवृत्ति सच्चिंदै पार्टी पुष्पलालकै पदचिन्हमा हिंड्न तयार भयो । यसैगरी पटक पटकका एकल संघर्षको विफलतापछि कांग्रेस नेतृत्वमा सहकार्यको विकल्प छैन भन्ने चेत पैदा भयो । फलतः दुवै नेताको जीवनकालपछि मात्र २०४६ सालमा आएर वाम –कांग्रेस सहकार्यले निरंकुशताको अन्त्य ग¥यो । २०६२÷०६३ को आन्दोलन, संविधान सभा र गणतन्त्र स्थापनासम्मको उपलब्धि यिनै दुई हस्तीको सहकार्यको आवधारणाको द्योतक हो । यद्यपि अझै पनि मुलुकको समृद्धि र मुलुकबासीको जीवनस्तरमा रुपान्तरणका लागि यी दुई शक्ति मिलेर जानुको विकल्प देखिदैन ।
सात दशकको राजनीतिक यात्रामा पुष्पलाल र बीपीको उचाईको कुनै पनि नेता जन्मेन । यो बीचको अवधिमा राजनीतिमा आएका एकादुई आशलाग्दा नेताहरु पनि उहाँहरुकै पदचिन्ह पछ्याउँदै आएका छन् । यथार्थमा पुष्पलाल र बीपीका अनुयायी दलहरुमा आज पनि वास्तविक उत्तराधिकारीको खडेरी छ । पुष्पलाल र बीपीको सिद्धान्तनिष्ठा, संघर्ष र त्यागको स्थान आज उहाँहरुकै दलमा गुटगत राजनीति, नातावाद, कृपावाद, सत्ता लोलुपता, भ्रष्टाचार र सुविधा मोहले लिएको छ । यसैले राजनीति र आम जनताबीच क्रमशः गम्भीर अविश्वासको खाडल गहिरिंदै छ । बीपीको प्रजातान्त्रिक समाजवादको आर्दश र पुष्पलालको ‘राजनीति जालझेल होईन, सिद्धान्त संगठन र संघर्षले निर्देशित यात्रा हो’ भन्ने दर्शन आज खोपीको देउतासरह बेलाबेलामा पूजिने वस्तु बनेको छ । तर अझै पनि बेला घर्केको छैन । वर्षमा एकदिन सम्झिने औपचारिकताभन्दा पनि पुष्पलाल र बीपीको अनुयायी दलका नेता, कार्यकर्ताले उहाँहरुको विचार, व्यवहार र देखाएको आदर्शको अनुशरण गर्न जरुरी छ । तर विडम्वना नेपाली कांग्रेससले बीपीको समाजवादको नाममा निजीकरण र उदारवादलाई अंगालेर वीपकै धज्जी उडाएको सन्दर्भ पनि विर्सन मिल्दैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board