‘पुष्पलालको योगदान अविस्मरणीय छ’

कास्की, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कार्यालयका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उहाँले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले सङ्घर्ष र बलिदानका ७१ औँ वर्ष पार गर्दै राष्ट्रकै मुख्य राजनीतिक शक्तिमा स्थापित हुन सफल भई राज्यको नेतृत्व गरिरहेको उल्लेख गरे ।

कम्युनिष्ट पार्टीको स्थापनासँगै लोकतान्त्रिक आन्दोलनले सामन्तवाद र साम्राज्यवाद विरोधी स्पष्ट दिशा र समाजवादको सुस्पष्ट गन्तव्य हासिल गरेको इञ्चार्ज गुरुङले उल्लेख गरेका छन् । “विसं २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपाको गठनपश्चात् नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाई स्थापित गर्न सफल भएको छ”, वक्तव्यमा भनिएको छ ।

नेपाललाई २१ औँ शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्न बलियो आधार तयार पार्नका लागि पार्टीको एकतालाई जोगाउने, अघि बढाउने तथा थप सुदृढ पार्ने सन्दर्भमा पार्टीको आन्तरिक जीवनमा देखिएको समस्यालाई नेतृत्वबीचको सार्थक सम्वाद र सहमतिमार्फत समाधान गरी पार्टीलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक, सांस्कृतिक एवं भावनात्मक रुपमा अझै एकताबद्ध र सुदृढ बनाउन आजको दिनले प्रेरणा प्राप्त होस् भन्ने उनको कामना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति