काठमाडौं ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस आज (बुधबार) विविध कार्यक्रम गरी मनाइँदैछ ।
विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।
विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी सहिद गङ्गालालका भाइ हुन् । उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद्मा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे ।
अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
नेपालको राजनीतिमा आएको परिवर्तनहरु सगै कम्युनिष्ट विचार विकास र विस्तार हुदै आएको छ । नेपालमा पनि २००६ सालमा विधिवत रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले यतिबेला ७१ वर्ष पुरा गरेको छ भने कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा देशभर विभिन्न कार्यक्रमसहित मनाइदै छ ।
विक्रम सम्बत १९९७ मा राणाशासनविरुद्धको आन्दोलनमा आफ्ना दाजु गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि उनी राणाविरोधी आन्दोलनमा सक्रिय हुदै २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दै संस्थापक महासचिव समेत भएका थिए । श्रेष्ठको विसं २०३५ साउन ७ गते भारतको नया दिल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । पुष्पलालको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरिएको छ । कम्युनिष्ट र बामपन्थी विचारधारा बोकेका राजनीतिक दलहरु र कम्युनिष्ट सिद्धान्तमा अडिक नेताहरुले पुष्पलालको स्मृति दिवस मनाउछन् । कम्युनिष्ट सिद्धान्तबाटै निर्देशित भएको दावी गर्ने पार्टी नेपालमा अहिले दर्जन भन्दा बढी छन् । सबैले आ–आफ्नै तरिकाले पुष्पलालको स्मरण पनि गर्ने गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गर्न पु¥याएको योगदानलाई स्मरण गर्दै आगामी दिनमा पार्टीभित्रको कमी कमजोरीलाई सच्याएर आगाडी बढ्न सकेमा मात्र पुष्पलालको सही अर्थमा सम्मान हुने बताएका छन् ।
२ वर्ष भन्दा बढी समय बितिसक्दा पनि नेकपाको पार्टी पूर्ण रुपमा एक हुन सकेको छैन । पछिल्लो समयमा नेकपा भित्र देखिएको आन्तरिक द्धन्द्धले झण्डै दुई तिहाईको मत रहेको नेकपा भित्रै पनि निराशाजनक अवस्थाको सिर्जना हुने गरेको छ । एउटै विचारधारा भएर पनि दुई दिशामा विभाजित रहेका तत्कालिन एमाले र तत्कालिन माओवादीले २०७५ जेठ ३ गते गरेको पार्टी एकीकरण सगै निकटमा भविष्यमा नै पुष्पलालको सपना पुरा हुन्छ कि ? भन्ने आशाजनक वातावरणको सिर्जना भएको छ । तसर्थ, कम्युनिष्ट विचारधाराका विचारक एवम् संस्थापक पुष्पलाल श्रेष्ठको सही स्मृतिका लागि राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलनले ल्याएको परिवर्तन र स्थापित भएका मुल्य मान्यता विचारहरुलाई आत्मसाथ गर्दै वामपन्थी राजनीतिक दलहरु अहिले एक भएर अगाडि बढ्न आवश्यक छ ।
COMMENTS