21 July, 2020 2:22 pm


काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने

काठमाडौं,६ साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पारे ।

“कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन, हामी भनेर लाग्नुपर्छ”, उनले भने । राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुन्छ भन्दै उनले अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले वा इतर पक्ष एक ठाउँ हुनुपर्नेमा जोड दिए ।

महामन्त्री कोइरालाले काँग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको बताउँदै महाविधेशनको मिति तय भइसकेपछि त्यसलाई प्रभावित पार्न सभापतिले विभाग गठन गरिरहेको आरोप लगाए । महाधिवेशन हुनका लागि मात्र आठ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन् भनी प्रश्न गर्दै उनले आफूले सभापतिलाई सधैँ सहयोग गरेको तर उनले ‘पार्टीमा एकलौटी गर्न नछाडेकाले’ आफू पनि सभापतिविरुद्ध लाग्न बाध्य भएको स्पष्ट पारे ।

महामन्त्री कोइरालाले अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा सँग प्रतिस्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेकामा जोड दिँदै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । उनले काँग्रेस र मुलुक अब बिपी कोइरालाले देखाएको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनको बाटामा हिँड्न आवश्यक रहेको बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर धर्ती, बद्री पाण्डे, गगनकुमार थापालगायतले बिपीको योगदानको चर्चा गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board