काठमाडौं, ६ साउन । केही दिनयता जारी वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या छ ।वर्षासँगै खोला तथा नदीमा आउने बाढीका कारण सम्भावित जोखिममा परेका बासिन्दाहरुलाई मौसम विज्ञान विभागले एसएमएस र सामाजिक सन्जालमार्फत् पूर्वसूचना जारी गर्दै आएको छ । यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको छ । बुधबारदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले दिएको जानकारी अनुसार भोलिदेखि पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने छ ।
साउन चार गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि छ । त्यसैले देशभर मध्यमदेखि भारी वर्षा हुँदै आएको छ । महाशाखाका अनुसार मनसुनी निम्न चापीय रेखा साउन ९ गतेदेखि दक्षिण जाने छ । निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गएमा भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ । मौसम विज्ञान विभागका अनुसार तीन दिनयता गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ मा भारी वर्षा मापन भएको उनले बताए ।
COMMENTS