21 July, 2020 8:35 am


स्मृति दिवस विशेष : चिउरा र गुणको पोको लिएर वनारस गएका वीपी नेपाली राजनीतिमा कसरी उदाय, यस्तो उनको जीवनको रहस्य

काठमाडौं, ६ साउन । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली कांग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण २०३९ साउन ६ गते निधन भएको थियो ।

विपी कोइरालाको जन्म वि.सं. १९७१ सालमा भारतको बनारसमा पिता कृष्णप्रसाद कोइराला एवं माता दिव्या कोइराला जस्ता समाज सुधारकको घरमा भएको हो । भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख केन्द्र बनारस, पटना, कोलकातामा उनको लालनपालन र शिक्षा भएको थियो ।
तत्कालीन समयका प्रभावशाली अन्तर्राष्ट्रिय व्यक्तित्वहरू टर्कीका कमाल पाशा, चीनका डा. सन् यात सेनको उदय र अन्तर्राष्ट्रिय घटनाहरू सोभियत रुसको कम्युनिस्ट आन्दोलन, जापानको शक्ति राष्ट्रका रूपमा स्थापनाले उनको जीवनमा गहिरो प्रभाव परेको थियो । दोस्रो विश्व युद्ध, जर्मनमा हिटलरको उदय एवं पतन पनि सोही कालखण्डमा भएको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अस्थिर एवं दुई ध्रुवबीचको शीत युद्धको समयमा उनी राजनीतिक रूपमा सक्रिय भएका थिए । उनको स्वर्गारोहण ०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा क्यान्सर रोगबाट भएको थियो । तत्कालीन एकतन्त्रीय राणा शासनका कारण उनको परिवारले भारतको बनारस प्रवासमा चरम कष्ट पाएको थियो । बेलायती साम्राज्य भारतमा रहेसम्म नेपालबाट राणा शाही उन्मुलन गर्न सकिँदैन भन्ने मान्यताका कारण भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्न भएका थिए ।

भारतीय स्वतन्त्रता आन्दोलनको दौरानमा सन् १९४२ को भारत छोडो आन्दोलनमा पक्राउ परी हजारीबाग जेलमा बस्दा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, राममनोहर लोहियालगायत भारतका नेताहरूको सामिप्यता प्राप्त गर्ने मौका प्राप्त गरेका थिए ।
विपी बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील र अति महत्वाकांक्षी थिए । विपी कोइराला बिसौँ शताब्दीको पश्चिमी स्वतन्त्रता, मानवीय स्वतन्त्रता, प्रतिष्ठा तथा मानवाधिकारबाट प्रभावित हुनाका साथै महात्मा गान्धीको अहिंसावादी सिद्धान्तबाट पनि अभिप्रेरित भएको देखिन्छ ।

वीपीको अध्ययन

वीपीको अध्यनको थालनी बनारसबाट भएको थियो । टेढीमा आए पछि टेढी (हाजिको वाग)मा जग्गा किनेर कृष्णप्रसादले स्कूल र छात्रावास बनाए । विश्वेश्वरको अध्यन यहींबाट राम्रोसँग थालनी भयो । वी.पी. टेढीबाट बनारस जान चाहान्थे ।

उनलाई बाटोखर्च दिन नसक्ने अवस्थाले गर्दा यो समस्या हल गर्नको लागि सानीआमा सँग भएको मुन्द्री र बहिनी नलिनीले पनि मुद्रि दिए पछि वीपीले चिउरा र गुणलाइ पोको पारेर बाटोमा खानको लागि लिएर वनारसतिर लागे । यो सुन बेचेर प्राप्त रकमले स्कुलमा भर्ना भए । वीपीले मेट्रिक पास दोस्रो श्रेणिमा गरे ।

मेट्रिक पास गरेपछि कलकत्ताबाट अध्ययन गरोस् भन्ने कृष्णप्रसादको चाहाना थियो तर वीपी कलकत्ताभन्दा वनारस नै राम्रो मान्दथे र उनले वनारसै पढ्न थाले । १२ पास पनि वीपीले वनारसबाटै गरे । सन् १९३४मा वीपी राजनीति शास्त्रमा स्नातक भए । यिनले कानूनमा स्नातकोपाधि पनि पाएका थिए ।

वीपीको विवाह

वीपीको विवाह पनि साधारण रूपमा भएको थियो । उनले झापाका बडाहाकिम कमलप्रादकी छोरी शुशीलासँग विवाह गरेका थिए । विवाह गर्दा पनि वीपीको आर्थिक अवस्था निकै कमजोड थियो । उनका साथी देवेन्द्रसँग चार(पाँचसय रुपियाँ लिएर विवाह सुसम्पन्न गरे । वीपीको विवाहमा आमा बाबु दुवैको उपस्थिति थिएन । दाम्पत्य जीवन पनि सुखमय रह्यो । उनीबाट तीन छोरा र दुई छोरी जन्मे ।

वीपीको राजनीतिक जीवन

वीपीको राजनीतिको थालनी पनि रहस्यमय छ । उनी सर्बप्रथम आतङ्कवादमा देखिए । उनलाई वेतियामा भएको हत्या हिंसा र डकैतीको केशमा चारमहिना (१९३०) थुनामा बस्नु प¥यो । मोतीहारीको डकैतीको केशमा पनि नाम मुच्छिएको थियो तर त्यसमा यिनको सहभागिता थिएन र सफाइ पाए ।

यिनको राजनीति प्रभाव सर्बप्रथम माक्र्सवादमा परेको थियो । उनी बम्बै पनि गएका थिए र उनले माक्र्सवादका कृतिहरूको अध्ययन पनि गरेका थिए । कृष्णप्रसाद कांग्रेसी संस्थामा आवद्ध थिए । राजनीतिमा पनि कृष्णप्रसादको छाप वीपीमा परेको थियो ।

पटनामा बस्दा यिनले नरेन्द्र, लोहिया र जेपीजस्ता भारतीय नेताहरूको सम्पर्क भयो । पछि यिनीहरूसँको सम्पर्कले गर्दा वी.पी. पार्टीमा पनि आवद्ध भएका थिए । भारतमा जब अंग्रेजलाई भारत छोड भन्ने आन्दोलन भयो । त्यस समयमा वीपी धेरै पटक जेल पनि गए ।

अंग्रेजले भारत छाड्नै प¥यो । भारत स्वतन्त्र भयो । भारतीय आन्दोलनको प्रभाव क्षिमेकी देशमा पनि परेको थियो । नेपालमा पनि राणाले गरेको अत्यचारबाट नेपाली जनता मुक्त हुन चाहान्थे । जन चाहनालाई बुझ्दा साहित्यकार तथा लेखकको यस्ता बेलामा चुपलागेर बस्ने अवस्था थिएन ।
धरणी धरले ‘नैवेद्य’ लेखे, कृष्णलाल अधिकारीको ‘मकै खेती’,जस्ता कृतिको जन्म पनि भयो । कृष्णलाल अधिकारीले ‘मकै खेती’लेखेकोमा सरकारले जेल चलान ग¥यो र उनको जेलमै मृत्यु भयो । यी मात्र नभएर यी भन्दा पनि पहिला राणा धपाऊ भन्ने अभियान नभएको हैन तर यिनलाई राणाहरूले निर्मम तरिकाले दवाएका थिए । १९९३ साल जेठ २२ गते नेपाली जनताले मुक्तिको लागि प्रजापरिषद नामक संस्था खोले ।

यस माथि पनि राणाहरूको कडा निगरानी थियो । यो मर्म वीपीलाई थाहा थियो । उनले संगठनको महसूस गरेर पटनाबाट निस्कने पत्रिका ‘सर्चलाइट’ नेपालमा प्रजातन्त्र ल्याउनको लागि इच्छुक व्याक्ति मेरो सम्पर्कमा आउनु भनि समचार छपाउने काम गरे । यो समचारले इच्छुक नेपालीहरू वीपीको नजिक आउन थाले । वनारसमा तदर्थ समिति खोल्ने तय भयो । सुब्बा देवीप्रसादको अध्यक्षतामा उपाध्यक्ष बालचन्द्र शर्मा र वीपी संयोजक रहने गरी तदर्थ समिति गठन गरियो ।

भारतमानेपालमा प्रजातन्त्र ल्याउनको लागि एउटा संस्थाको, जन्म भयो । यो तदर्थ समितिले भारतका कुना काप्चामा रहेका नेपालीहरूलाई यो संंदेश दिदै भेटने काम पनि भयो । यसै समयमा गणेशमानजीको र वी.पी.को भेटवार्ताहरू पनि भए । यो तदर्थ समितिले कलकत्ताको भवानीपुरमा बृहत सभाको आयोजना गरेर सञ्चालक समितिको चयन गर्ने काम भयो । १३ सदस्य रहेको समितिको सभापति ट्रकप्रसाद आचार्यले सम्हालेका थिए ।

राष्ट्रिय कांग्रेस भनेर पार्टीको नामाकरण गरियो । नेपालमा मज्दुर आन्दोलन पनि भयो । यस आन्दोलनमा पनि वी.पी. गिरफ्तार हुनु भयो । एकातिर देशको आन्दोलनलाई अगाडी बढाउनु थियो भने अर्कोतिर पार्टीमा पनि तनाव थियो ।

पार्टी पनि विभाजित भयो । वीपीले एक पार्टीको नेतृत्व लिनु भयो भने अर्को पार्टीको नेतृत्व डिल्लीरमण रेग्मीले । देशमा प्रधानमन्त्री बन्ने होडमा रहेका राणाहरूमा पनि पदृम शम्शेरले मन्त्रीपद त्यागे र मोहन शम्शेर प्रधान मन्त्री भए । एक त राणाहरू ए, वी, सी, बर्गमा विभाजित थिए । सुवर्ण शम्शेरलाई जुद्धशम्शेरले निकालेका थिए । सुवर्ण शम्शेरले नेपाल प्रजातन्त्र कांग्रेसको संस्थापकको रूपमा नेतृत्व लिए ।

मोहन शम्शेरले पार्टीहरूलाई प्रतिबन्ध लगाए । वीपी पार्टी सुधिरीकरणको लागि भूमिगत रूपमा नेपाल आएका थिए तर पक्रिए र जेलमा राखिए । यहाँ पनि वीपीले अनसनमा बस्नु प¥यो । रिहाइ भए पछि ,देशमा प्रजातन्त्र बहाली गर्न संघर्ष विना सम्भव नहुने देखेर वीपीले संघर्षको लागि आवाहन गरे । वि.सं. २००७ सालमा दिल्लीमा सम्झौता भयो र प्रजातान्त्रिक सरकारको गठन भइ मोहन शम्शेरको प्रधान मन्त्रीत्वमा वीपी गृह मन्त्री बन्नु भयो ।

यो मन्त्रीमण्डल त्यति टिकाउ हुन सकेन । २००८ सालमा मातृकाप्रसाद प्रधान मन्त्री भए । मातृका र वीपीमा मनोमालिन्यता बढ्न थाल्यो । मातृका दरवारतिर ढल्किए र अलग्गै पार्टी खोले नेकाकौ छैटौं महाधिवेशनमा वी.पी.ले चाहेको समाजवादी अर्थनीति लागु भयो । वि.सं. २०११ चैत्र १ गते राजा त्रिभूवनको स्वर्गारोहण भयो । महेन्द्र राजा बने पछि संविधान सभा नगराउने छाँट देखियो । वीपीले संविधान सभाको चुनाउ चाँहाँदा चाँहादै पनि राजाले प्रधान मन्त्री परिवर्तन गर्दै संसदीय चुनावको घोषण गरे ।

वीपीले परिस्थितिलाई अध्ययन गर्दै चुनावलाई स्वीकारे । चुनाव भयो । नेकाले बहुमत ल्यायो र वी.पी. प्रधानमँत्री भए । नेकाको सरकारलाई पतन गरउनको लागि ठूलो षडयन्त्र भइरहेको थियो । २०१७साल पौष १गते तरुणदलको उद्घाटन भाषण गर्दा गर्दै वीपी लगायतका नेताहरूलाई गिरफ्तार गरियो ।

पार्टीहरूमा प्रतिबन्ध लगाइयो । अन्तराष्ट्रको दवावलाई पनि महेन्द्रले सुनेन् । राजबन्दीलाई पत्रपत्रिका पढ्न पाउने छुट हुनुपर्ने, राजबन्दी सँगै बस्न पाउने, खेल खेल्ने व्यवस्था, भेट्न आउनेले भेट गर्न पाउने पर्ने सुविधा, न्याय पाउनको लागि अदालत जान पाउने सुविधा केही नभएकोले वी.पीले यी सुविधाको लागि अनसन बसे ।

न्यायलयमा जान पाउने सुविधा भने सरकारले दिएन तर अरु माग राज्यले प्रदान ग¥यो । यसरी सुन्दरी जल जेलमा आठ बर्ष बस्दा वीपी विमारी पर्नु भयो । उपचारको लागि वि.सं २०२५ साल कार्तिक महिनामा रिहा भए ।

भारतमा उपचार गराएर पुन वीपी नेपाल आउनु भयो तर भारतमा उपचारले मात्र नहुने भए पछि वीपीले युरोप जाने राहदानी माग गर्नु भयो तर त्यो नेपाल सरकारले दिएन र भारतैबाट राहदानी मिलाएर युरोपमा गएर उपचार गराएर फर्कनु भयो । देशमा प्रजातन्त्र पुनर्वहाली गर्न सशस्त्र क्रान्तिको महसूस गरेर वीपीको नेतृत्वमा सशस्त्र क्रान्ति भयो तर क्रान्ति सफल हुन सकेन । वीपी भारतमा रहन पनि, इन्दिरा गान्धीको विस्तारवादी नीतिले गर्दा, कठीन भयो ।

देश नै नरहने हो कि भन्ने आशंकाले गर्दा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते नेपाल आए । नेपाल फर्कने क्रममा वीपीलाई देशद्रोह र राजद्रोहका मुद्दा चलाइयो । पञ्चहरू कुर्ले, फाँसीको सजाएको माग गरियो । तर २०३४ सालम राजा वीरेन्द्रले उपचारको लागि अमेरिका जाने र सरकारी खर्चमा उपचार गराउने भन्दै रिहा गरियो । वीपीले उपचार गराएर भारत हुँदै नेपाल फर्किए ।

जेलमा रहँदा होस् तथा बाहिर जाँदा होस् वीपीको चिन्तन देशमा प्रजात र समाजवादको स्थापनाको लागि संघर्षरत रह्यो । सिडनीमा भएको समाजवादको सम्मेलनमा पनि वीपी सहभागी भए र समाजवादकै लागि ओकालत गरे । २०३६ सालमा राजा वीरेन्द्रबाट सुधारिएको पञ्चायत वा बहुदल रोज्ने भनेर जनमत सङ्ग्रहको घोषण गरियो । जनमतसङ्ग्रहमा पनि नेपाली जनताको चाहना पुरा हुन पाएन । बाजी पञ्चहरुले नै मारे ।

२०३८ वैशाखमा सुधारिएको संविधान अनुसार चुनाव हुने भयो । एवम् रीतले वी.पीको सारा जीवन संघर्षरत नै रह्यो । देश काल परिस्थिति बुझेर देशलाई प्रजातन्त्र र समाजवादमा लाने वीपीको जुन अठोठता थियो त्यो भने उनको जीवनकालमा पुरा हुन सकेन तर भाइ गिरिजा प्रसाद कोइरालको नेतृत्वमा नेपालमा गणतन्त्र नै वहाली भयो । यसको संरक्षण र सम्बद्र्धन गर्ने काम अव सवै नेपालीको काँधमा आएको छ ।

वीपीको साहित्यिक यात्रा
वी.पीको जीवनलाई नियाल्ने हो भने राजनीति योगदानमात्र हेरेर पुग्दैन । उनको साहित्यिक योगदानको पनि अध्ययन हुनुपर्दछ । उनको, उनलाई नेपाली साहित्यि लेखनभन्दा पहिला उनमा अंग्रेजी र हिन्दी कथा उपन्यासको अध्ययनमा रुचि थियो । उनी हिन्दी साहित्यका साहित्यकारहरू शान्तिप्रिय द्विवेदी, रामकृष्ण दास, जयशङकर, मैथिलीशरण गुप्ता, सुमित्रानन्दन पन्त, मुन्सी प्रेमचन्द्रसँग साहित्य लेखन र अध्ययनको सिलसिलामा उनको सम्बन्ध बढ्दै गएको थियो ।
यिनले कृतिहरूको अध्ययन गर्ने मात्र हैन यसलाई व्यवहारमा उतार्ने वानी भएकोले, उनलाई हामीले कहिले फ्रायडवादीको रूपमा, कहिले छायावादी, कहिले यौनवादी, कहिले मनोविज्ञानवादी कहिले आदर्श वादी, कहिले रहस्यवादी, कहिले अध्यात्मवादी, कहिले नियतीवादी, आदि विविध वादीको रूपमा पाउँछौं । उनको लेखनको थालनी पनि हिन्दी भाषाबाट भयो । लेखनको थालनी १६ बर्षको कलिलो उमेरमै भएको थियो । ‘चन्द्रवदन’ नेपालीको उनको पहिलो कथा हो ।

‘कथा कुसुमा’, ‘श्वेत भैरुवी ’ ‘दोषी चश्मा’ वी.पीका कथा कृतिको रूपमा अध्ययन गर्न पाइन्छ भने फुटकर कथाहरू पनि विभिन्न पत्रिकामा पढ्न पाइन्छन् । ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, सुम्निमा, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ र ‘बाबु आमा र छोरा’ वी.पीका उपन्यासहरू हुन् यी उपन्यास बाहेक वी.पी.ले आफ्नो कथा, जेलजर्नल, आत्मवृतान्त आदिका अमूल्य कृतिहरू हामीलाई छाडेर जानु भएको छ । उहाँ कवि, निबन्धकार कथाकार, उपन्यासकारमात्र नभै उहाँ एक दार्श्निनक पनि हो ।
अन्त्यमा
वी.पी,.यो देशका बरिष्ठ साहित्यकार मात्र नभएर ,मूद्र्धन्य राजनेता पनि हुन । त्यसोहुँदा यो देशले वी.पी.बाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको छ । आजको नेपाली काँग्रेसले, यही दर्शन अवलम्वन गरेर काँग्रेशको नेतृत्वमा दूई दुई ओटा शान्तिप्रिय जनआन्दोलन परिचालन गरेर सफलता हाँसिल ग¥यो । २०४६ सालको क्रान्ति सफल बनाएर संविधान दिन सक्षम भयो ।
यो संविधानमा पनि राजाको शक्ति बलियो नै रहेछ र दोस्रो जनआन्दोलन पनि नेकाको नेतृत्वमै ( वी.पी.का भाई गिरिजा प्रसादको नेतृत्वमा) सञ्चालन गरेर देशमा प्रजातन्त्रमात्र नभै गणतन्त्र वहाली गराएको छ । नेपाली साहित्यको भण्डारमा वीपीका यी गहन, सारगर्भित कृतिहरूले कोशे ढुङ्गा थपेर गएको छ ।
उनको कलम साहित्यिक क्षेत्रमा अद्वितीयरूपमा चलेको छ । आज उनका अनुयआइहरूले वीपीले दिएको मार्गदर्शनलाई सही रूपमा व्यवहारमा उतार्न सकेमामात्र वी.पी. प्रतिको सच्चा आदर भाव सम्मान हुनेछ ।

स्रोत – विभिन्न सामाजिक संजाल

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board