पानीको बहावले नारायणी नदीमा खतराको तह पार गर्‍यो

काठमाडौं, ५ साउन । लगातारको वर्षापछि बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । आज मध्यान्हदेखि खतराको तह पार भएसंगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई सजग रहन अनुरोध गरेका छन् । जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ ।

सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ । नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ । जलस्तर बढ्दो क्रममा नै रहेको छ ।

नारायणी नदीमा बाढी आउंदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा रहन्छ । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको तटबन्धसमेत भत्काएको थियो । नवलपुर क्षेत्रमा पनि जोखिम बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति