20 July, 2020 11:28 am


उपत्यकासहित देशभर झरी, यी स्थानमा बाढी र पहिरोको खतरा

काठमाडौँ, ५ साउन । नेपालमा केहि दिनसम्म भारी बर्षा हुने क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता रहनुपर्नेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पुनःन्यूनचापीय रेखा नेपाल नजीक आउने भएकाले मनसुन सक्रिय हुने र मुलुकका विभिन्न जिल्लामा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने अनुमान गरिएको छ । त्यसैले प्राधिकरणले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ । उक्त मनसुन झण्डै चार दिन कायम रहने जनाइएको छ ।

सतर्क रहन आग्रह
मनसुन सुरु भएयता देशका विभिन्‍न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ । प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यको भनाई छ । कर्णाली प्रदेश र सुदूरपश्‍चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाई छ।

मनसुन सुरु हुनुभन्दा पहिले देखि नै औसतभन्दा बढी वर्षा भइरहेको छ । गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद शिव बाँस्कोटाले जमिन चिरा परेको र रुखहरू ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

पानीका मुहानहरू सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उनको आग्रह छ ।

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षासमेत हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन हुन मौसम विभागको अनुरोध छ ।

न्यूनीकरण तथा व्यवस्थापन तयारी के छ ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार विपद् व्यवस्थापनमा संलग्‍न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको जानकारी दिएका छन् । सरकारी गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको छ ।

पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका क्षेत्रका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएसँगै विपद्को पूर्वतयारी आवश्यक भएको छ ।

“मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ, काठमाडौँलगायत पहाडी भेगमा मध्यम वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनु आवश्यक भएको बताए ।

उनका अनुसार प्रदेश ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ । पश्चिमको कञ्चनपुरसहितका केही स्थानमा कम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मनसुन फेरि सक्रिय हुने पूर्वसूचना दिँदै केही क्षेत्रमा भारी वर्षाको सूचना दिएको छ ।

सोही अनुसार आउँदो चार दिन केही भेगमा अधिक वर्षा हुनसक्ने औँल्याइएको छ । साथै सम्बन्धित सरोकारवालालाई बाढी, पहिरो र डुबानलगायतका विपद्विरुद्ध पूर्वतयारी थाल्न अपिल गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले साउन ५ देखि ९ गतेसम्म कन्काई, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १, २ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना रहेको जनाएको छ ।

सोमबारदेखि कोसी, नारायणी, महाकाली नदीमा बहाव सतर्कता तह पुग्ने अनुमान गरिएको छ । मङ्गलबार कोसी बढेर तराईमा बाढी र डुबान हुनसक्ने भएकाले पूर्वतयारी गर्न भनिएको छ । अन्य नदीको बहाव उत्तिकै रहने अनुमान गरिएको छ ।

यस्तै सुर्खेतमा एक वर्षअघि स्थापना गरिएको राडार बिग्रिएको झन्डै एक महिनापछि बनेको छ । राडार बिग्रदा वर्षा, बादलसहित मनसुनी क्रियाकलापको सूचना सङ्कलनमा समस्या भएको थियो ।

वर्षा सुरु नहुँदै बनाउने प्रयास भए पनि बन्दाबन्दीका कारण नसकिएको मौसमविद्हरूले जनाएका छन् । तर पछि अलिक खुकुलो भएसँगै प्राविधिक टोली काठमाडौँबाट सुर्खेत पुगेर राडारको मर्मत सम्भार गरेको जल तथा मौसम विज्ञान कार्यालय नेपालगञ्जका मौसमविद् विनोद पराजुलीले जानकारी दिए ।

राडारले त्यहाँबाट पूर्व अर्घाखाँची र बुटवलसम्म तथा पश्चिम नेपालसहित २२ जिल्लाको समग्र पूर्वसूचना प्रणाली नियमन गर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board