अन्नपूर्ण गाउँपालिकाः खाद्य पदार्थलाई ब्रान्डका रुपमा स्थापित गर्दै ‘एक घर एक तालीम’

गण्डकी, ४ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिकाले परम्परागत खाद्य पदार्थलाई ब्रान्डका रुपमा स्थापित गर्दै त्यसको बजारीकरण गर्ने भएको छ । गाउँपालिकाले हस्तकलाका सामग्रीसहित र परम्परागत खाद्य पदार्थहरु सिन्की, गुन्द्रुक, मह, कफी, अलैँची आदि लाई विशेष ब्रान्डका रूपमा स्थापित गर्ने भएको छ । साथै निकासीजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गर्ने तयारी अगाडि बढाएको छ ।

स्थानीय स्रोत सीप साधन एवम् प्रविधिको प्रयोगलाई बढावा दिई परम्परागत रूपमा रहेका राडीपाखी, कम्बल, भाङ्ग्रा, झोला बनाउने तानहरूलाई आधुनिकीकरण गरी व्यावसायिकताका साथ अन्नपूर्ण ब्रान्डका रूपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

उनका अनुसार स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटी, अल्लोमा आधारित उद्योग गाउँपालिका तथा स्थानीयवासीसँग साझेदारीमा स्थापना गर्न लगानीकर्तालाई उचित वातावरणको व्यवस्था गरिनेछ । कोदो खेतीतर्फ सर्वसाधारणलाई आकर्षित गर्न प्रवद्र्धन कार्यक्रमका साथै गाउँपालिकाका होटल तथा रेष्टुरेन्टमा कोदोको परिकार सहितको मेनु राख्न अनिवार्य गरिने उनले बताए ।

प्रदेशसँगको सहकार्यमा औद्योगिक ग्राम स्थापनालगायत मझौला तथा ठूला उद्योगको विकास गर्न जग्गा व्यवस्थापनमा सहयोग तथा सहजीकरण गरिने अध्यक्ष कुँवरले बताए । अन्नपूर्ण पोलिटेक्निकल इन्स्टिच्युट र सिटिइभिटीसँगको समन्वय र सहकार्यमा युवा लक्षित पेसागत तालीम सञ्चालन गर्नाका साथै विपन्न समुदायका लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट युवा उद्यमीको विकास गर्ने गाउँपालिकाको तयारी छ ।

स्थानीय प्रशासन एवमं सुरक्षा निकायको समन्वयमा कालो बजारी, एकाधिकार अन्त्य गर्ने तथा गुणस्तरीय र नियमित आपूर्ति सुनिश्चित गर्न संयुक्त बजार अनुगमन कार्यक्रम सञ्चालन गरी उपभोक्ता अधिकार संरक्षण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका बजार केन्द्रमा छुट्टाछुट्टै बजार व्यवस्थापन समिति गठन एवम् क्रियाशील गर्ने र पालिकास्तरको एक उद्योग वाणिज्य सङ्घ गठन एवम् क्रियाशील बनाई त्यसको साझेदारीमा सौहार्द्रपूर्ण व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न आवश्यक समन्वय गरिने उनले बताए ।

‘एक घर एक तालीम’ अनिवार्य गर्दै सबै वडामा तालीममार्फत् रोजगारी सृजना गर्न युवा रोजगार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । साथै तीनमहिने हाउस वायरिङ र प्लम्बिङलगायत अन्य व्यावसायिक तालीममार्फत युवालाई स्वरोजगार बनाउने योजना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति