19 July, 2020 9:11 am


ठोरीस्थित सीता गुफा नजिकै रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला

काठमाडौं, ४  साउन । `प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले जनाएको छ । बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेतले उक्त क्षेत्रमा देखापरेका थिए । पूजापाठका लागि गएका स्थानीय त्यहाँ पुग्दा एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला पारे ।

यता ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठका अनुसार बिहान पूजापाठ हुँदासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक उखेलेर फालिएको छ । अयोध्या भूमिको चर्चा र राम नेपाली नै हुन्न भन्ने कुराको सत्यता लुकाउनलाई भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ उखेलेर फालेको स्थानीयले बताए ।

सीमा स्तम्भ गाडिएको स्थानभन्दा केही मिटर टाढा फालेको अवस्थामा सीमा स्तम्भ फेला पारेको र अहिले माथिल्लो निकायमा जानकारी गराएर सीमा स्तम्भको सुरक्षा गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

सीमा स्तम्भ किन उखेलेर फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको दाहालको भनाईछ । प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board