18 July, 2020 6:38 am


मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असार । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू—भाग गलिसकेकोले पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ ।

मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ । प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताउनुभयो ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँको भनाई छ । मनसुन सुरुहुनुभन्दा पहिले देखि नै औषतभन्दा बढी वर्षा भइरहेको उहाँले बताउनुभयो ।

गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद शिव बास्कोटाले जमिन चिरा परेको र रुखहरु ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । पानीका मुहानहरु सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैना गरेर राखिएको बताउनुभयो । सरकारी गैरसरकरी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उहाँको भनाई छ ।

नेपालमा मनसुन सुरु भएको ३० दिन (जेठ ३० देखि असार २७ सम्म) मा मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३०दिनको अवधिमा १ सय १० जनाको मृत्यु भएको प्राधिकरणले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

अझै ३२ जना बेपत्ता रहेका छन् भने १ सय ३२ जना घाइते छन् । विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको मृत्यु भएको छ । देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानविय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board