काठमाडौं,३० असार । आइतबारदेखि विद्युत्गृहको यन्त्रमा खराबी आएपछि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् बन्द भएको हो । यसले गर्दा दुई गाउँपालिकाका करीब १८ घरधुरीका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।
आयोजनाको विद्युत्गृहमा रहेका दुई यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा सिमकोटलगायत गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत् आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ । सिमकोटमा विद्युत् अवरुद्ध भएपछि असार मसान्तमा विकास बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ । अनलाइनमार्फत भुक्तानीको व्यवस्था भएकाले बत्ती अनिवार्य भएकाले काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिए ।
जिल्लाका सात स्थानीय तहमध्ये पाँच तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आएको तर विद्युत् नहुँदा अनलाइन भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ । यस्तै विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा एक्सरे, भिडियो एक्सरेलगायत विद्युतीय माध्यमबाट हुने सम्पूर्ण काम ठप्प भएको अस्पतालका डा टसीआन्जुक लामाले जानकारी दिए ।
COMMENTS