चिप्लेढुङ्गा, २८ असार । पोखराको फेवाताल सफाइ अभियानमा निरन्तर सक्रिय खहरे आमा समूहलाई प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले रू ५० हजार सहयोग गरेको छ । फेवातालमा प्रदूषण बढ्दै वातावरणमा असर पर्ने थालेपछि सफाइ अभियान शुरु गरिएको समूहका अध्यक्ष मैया थापाले जानकारी दिए ।
“हामी पाँच वर्षदेखि निरन्तर यस अभियानमा सक्रिय छौँ आजसम्म १५१ हप्ता पुगिसकेको छ । घामपानी, बादल नभनी कोरोना त्रासको समयमा समेत सामाजिक दूरी कायम गरेर सफाइ अभियानमा क्रियाशील भयौंँ, हाम्रो सक्रियतालाई देखेर प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले ५० हजार रकम पठाएको छ । यसले थप ऊर्जा मिलेको छ”, थापाले भने ।
विसं २०७० सालमा स्थापित समूहमा पछिल्लो समय ८० सदस्य छन् । उक्त सफाइ अभियानबाट सङ्कलित फोहोरलाई पोखरा महानगरपालिकाको समन्वयमा ग्रिन पार्कका अध्यक्ष सुजन गुरुङले व्यवस्थापन गर्दै आएका छन् ।
प्रवासी समूह अष्टे«लियाका संयोजक शंकर कोइरालामार्फत सङ्कलित उक्त रकम नेपालका संयोजक धर्मराज पहारी र समूहका सदस्य तेजनारायण पराजुलीले समूहका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए ।
COMMENTS