Nepal Page

२८ असार २०७७, आइतबार


इन्द्रावती नदीमा बालकसहित तीन बेपत्ता

काभ्रेपलाञ्चोक, २८ असार । इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् ।

शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले बताए । उनका अनुसार शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक इन्द्रावती नदीमै बेपत्ता भएका हुन् । अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन् ।

माझीको सिन्धुपाल्चोकको ¥यालेमा पनि घर भएका कारण रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा लामा र माझीलाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै नेपालले बताए । उनले भने, “राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ ।” उहाँका अनुसार शनिबार साँझदेखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन ।

अविरल वर्षाका कारण नदीको बहाव बढिरहेकाले खोजीमा निकै कठिनाइ भइरहेको नेपालले बताए । “आज पनि बिहानैदेखि पानी परिररहेको छ, तर पनि हामी प्रयासरत छौँ”, नेपालले भने । उनले स्थानीय विपद् व्यवस्थापन समिति, प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधिको संलग्नतामा खोजी भइरहेको बताए । दुई जिल्लाको सीमा भएर बग्ने इन्द्रावती नदीको बीचमा सयौँ रोपनी खेत भएका कारण बर्सेनि वर्षायाममा मानिसका साथै खेतसमेत बगाउने गरेको छ ।

यसैबीच अविरल वर्षाका कारण सात घर पहिरोको जोखिम भएकाले वडा कार्यालयले राहत उपलब्ध गराएको छ । सात परिवारलाई राहतसहित अन्यत्रै सारिएको वडाध्यक्ष नेपालले बताउनुभयो । उहाँका अनुसार वर्षा अझै लम्बिँदा सो वडामा थप घर जोखिममा पर्ने देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति