बैंकिङ कसूर मुद्दाका दुई फरार पक्राउ

काठमाडौँ, २६ असार । बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले आज सूचना जारी गरी जनाएको छ ।

काठमाडौँ ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार र काठमाडौँ कलङ्कीका मनोजलाल सिंह दुलाललाई आज पक्राउ गरिएको हो । उच्च अदालत पाटनको गत फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र रु छ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो ।

सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्थानीय स्वयम्भूबाट पक्राउ गरिएको छ । यस्तै उच्च अदालत पाटनको माघ १० गतेको फैसलाले सात दिन कैद र रु १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई स्थानीय रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ । अदालतले उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी विभिन्न मितिमा बैंकको चेक काटी बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति