काठमाडौं, २३ असार । देशमा रोजगारीको अवसर नहुँदा विदेशिने युवाहरुको लर्को लाग्न थालेको छ । विश्वमा कोरोना महामारीका कारण स्थगन भएको पुनः श्रम स्वीकृति सुचारु भएसंगै विदेशिनेको लर्को लाग्न थालेको हो ।
शनिबारदेखि सोमबारसम्म ७ सयभन्दा बढीले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिइसकेका छन् । शनिबार ४७, आइतबार ३०७ र सोमबार ४१० गरी ३ दिनमा ७६४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
गत फागुन २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा सबै प्रकारका श्रम स्वीकृति स्थगन गरेसंगै त्यसयता वैदेशिक रोजगारी ठप्प थियो । असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदामा नेपाल आएका तथा भिसा र करार अवधि बा“की रहेका श्रमिकहरुका हकमा कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसंगै विदेशिनेको लर्को लाग्न सुरु भएको हो ।
यसअघि सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएको अवस्थामा लकडाउनका कारण अड्किएका श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गरी स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्घोषसमेत गरेको थियो । विदेश जान नपाएका श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने भन्दै पटक–पटक गरिएको यस्तो घोषणा व्यवहारमा भने लागू हुन सकेको छैन ।
देशमा आकर्षक रोजगारीको अवसर नहुँदा विदेशिनेको लर्को लाग्न थालेको हो । कोरोनाका कारण लाखौंको संख्यामा बेरोजगारी सिर्जना भएको छ । अधिकांश युवाहरु नयाँ श्रम स्वीकृति खुल्ने पर्खाइमा छन् ।
COMMENTS