6 July, 2020 11:42 am


६० ग्राम सुनको मास्क बनाउन आठ दिन लागेको थियो, मुल्य कति ?

भारत, २२ असार । कोरोनाभाइरसको संक्रमण रोक्न भारतमा एकजनाले भने सुनको मास्क लगाउन थालेका छन्। पुनेका शंकर कुरहडे नामका ती व्यापारीले चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाउन थालेका हुन्।

६० ग्राम सुनको उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको थियो। कोरोनाभाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य भइसकेको बेला बजारमा विभिन्न प्रकारका विभिन्न मूल्यमा मास्क पाइन्छ। सुरूसुरूमा त धेरै ठाउँमा मास्कको अभाव पनि भएको थियो।

‘यो पातलो मास्क हो र स-साना प्वालहरूले मलाई स्वास फेर्न सजिलो भएको छ,’ शंकरले समाचार संस्था एएफपीलाई भनेका छन्,’मलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन यो मास्क प्रभावकारी छ भन्ने यकिन छैन तर म अन्य सावधानी अपनाइरहेको छु।’

४९ वर्षीय ब्यापारी घरबाट बाहिर निस्किदा सुनका ब्रेसलेट, नेकलेस, औंठीलगायत गहना लगाउँछन्। समाचारमै कसैले चाँदीको मास्क बनाएर लगाएको थाहा पाएपछि उनले पनि सुनको मास्क बनाउन दिएका हुन्।

‘अहिले मान्छेहरू मसँग सेल्फी खिच्ने भन्छन्,’ उनले भने,’बजार जाँदा सुनको मास्क लगाएको देखेर उनीहरू अचम्मित हुन्छन्।’ भारतले अहिले सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। भारतमा आइतबारसम्म ६ लाख ७५ हजार बढी संक्रमित छन् भने १९ हजारले ज्यान गुमाइसकेका छन्।

भारत कोरोना भाईरसबाट प्रभाबित विश्वकै तेस्रो मुलुक
भारतमा पनि कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो विवरण अनुसार भारत कोरोना भाईरसबाट प्रभावित बन्ने विश्वकै तेस्रो मुलुक बनेको छ । विश्व स्वास्थ्य संगठनले मास्क लगाउँदा संक्रमण रोक्न धेरै सहयोग पुग्ने बताएको छ।

कोरोना भाईरस (कोभिड – १९) बाट प्रभाबित बन्ने विश्वका मुलुकहरुमध्ये भारत तेस्रो मुलुक बनेको छ । भारत (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा देखिएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २८८ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २४८ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४२५ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका चार लाख २४ हजार ४३३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६ हजारभन्दा धेरै संक्रमित फेला पर्दा आठ हजार ८२२ जनाको मृत्यु भइसकेको छ ।

तामिलनाडुमा अहिलेसम्म एक लाख ११ हजारभन्दा धेरै संक्रमित फेला पर्दा एक हजार ५१० जनाको मृत्यु भएको छ । त्यस्तै दिल्लीमा पनि ९९ हजारभन्दा संक्रमित फेला परेका छन् भने तीन हजार ६७ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २७ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७८५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७५७ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि ११ हजारभन्दा धेरै संक्रमित भेटिँदा ९५ जनाको मृत्यु भइसकेको छ ।


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board