6 July, 2020 8:06 am


नेकपा विवाद, राष्ट्रपतिसंग तीन पूर्व प्रधानमन्त्री, ओलीका दूत देउवासंग मन्त्रणा पत्रिकामा छरपष्ट

काठमाडौं २२ असार । ससत्तारुढ दल नेकपाभिको विवादले आइतबार नेताहरुको दौडधुप र बहसका लागि ग्वारग्वारती पारेको आजका पत्रिकाहरुले मुख्य समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकले नेकपामा टोन डाउन– विवादको गांठो प्रधानमन्त्री हेडलाइनमा प्रमुखताका साथ समाचार छापेको छ ।
नयां पत्रिका दैनिकले पार्टीभिब र कांग्रेससंग समानान्तर संवादमा ओली भन्ने व्यानर हेडलाइनमा आइतबार दिनभरका गतिविधि सहित चिनिया राजदूत होउ यान्छीले नेकपा बरिष्ठ नेता माधव नेपाललाई भेटेको समेत समाचार तस्वीर सहित छापेको छ ।
अन्नपूर्ण दैनिकले ओली दाहाल वार्तालाक शुरुमा भनन, छुट्दा मत्थर हेडलाइनमा वार्तालाप जसस्ताकोतस्तै जस्तो भाषामा समाचार छापेको छ ।
नागरिक दैनिकले भने नेकपा संकट गहिरिंदै केन्द्रीय कमिटि बैठक माग हेडलाइनमा दुई कोलमको समाचार छापेको छ । काठमान्डु पोष्टले भने – फ्युड कन्टिन्युज इन दि रुलिंग पार्टी एज ओली–दाहाल टल्क्स फेल हेडलाइनमा दुई कोलमको समाचार छापेको छ ।

अन्नपूर्ण दैनिकको समाचार यस्तो छ ।

ओली–दाहाल वार्तालाप : सुरुमा भनाभन, छुट्दा मत्थर

ओली–दाहाल वार्तालाप : सुरुमा भनाभन, छुट्दा मत्थर


राजनीति

 २२ असार २०७७ ०६:१६:०

काठमाडौं : सत्तासीन नेकपामा शक्ति–संघर्ष साम्य भएको छैन। सहमतिको बिन्दु खोज्न आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले दुई–दुई विश्वासपात्रसहित बैठक गरे। साथमा थिए, ओलीतर्फ विष्णु पौडेल र शंकर पोखरेल, दाहालतर्फ जनार्दन शर्मा र वर्षमान पुन। अत्यन्त तिक्ततापूर्ण सुरुआत भएको बैठक अन्त्यतिर केही मत्थर भयो। फेरि सोमबार समाधानको खाकासहित वार्ता हुने भएको छ।

प्रस्तुत छ, उक्त बैठकमा दुई अध्यक्षको वार्तालाप सुनेका नेताहरूसँग गरिएको कुराकानीका आधारमा उतारिएको संवाद :
स्थान : प्रधानमन्त्री निवास, बालुवाटार
समय : आइतबार मध्याह्न १२ः२०

पात्र : केपी शर्मा ओली, पुष्पकमल दाहाल, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा।

ओली : (कुरा सुरु गर्दै) तपाईंहरू ६ जना बसेकै हुनुहुन्छ, हिजो पनि बस्नुभयो क्यारे। त्यहीं बन्यो होला नि सहमतिको खाका ? के के बनाउनु भएको छ ? बसेर के के गर्नु भएको छ ? लौ सुनाउनुहोस्।

दाहाल : तपाईंले सबै कुरा बर्बाद गर्ने भएपछि बस्नै पर्‍यो नि। अध्यादेश ल्याउने, पार्टी फोड्ने तयारी गरेपछि पार्टीलाई कसरी बचाउने, जोगाउने भनेर सल्लाह गर्नु परेन हामीले ? त्यही सल्लाह गरेका हौं बसेर।

ओली : मलाई त हटाउने कुरा गर्नु भएकै छ, राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउँदै हुनुहुन्छ क्यारे … कहिले हो लगाउने ?

दाहाल : कस्ले भन्यो यस्तो हावादारी वाहियात कुरा ? राष्ट्रपतिको गरिमामय पदलाई समेत विवादमा तान्ने गरी यसरी प्रचारबाजी गर्ने ? कहाँ त्यस्तो गरिएको छ ?

ओली : मलाई थाहा छ। सूचना मकहाँ आइपुगेको छ। तपार्इंहरू बसेर के के गर्दै हुनुहुन्छ भन्ने कुराको..।

दाहाल : सूचना भए भन्नुहोस् के के छ ? कहाँ–कहा के के गरिएको छ ? गलत सूचनामा नलाग्नुहोस्।

०००

प्रधानमन्त्री ओली र दाहाल दुवैको घोचपेचमा बालुवाटार बैठक सुरु भयो। दुईतिर मुख फर्काउन थालेका दुई अध्यक्षको झोक्काझोक्कीमा चुपचाप बसेर सुनिरहेका थिए पौडेल, पोखरेल, पुन र शर्मा। वातावरण सुरुमै बिथोलिन खोजेपछि चुपचाप बसेका दोस्रो पुस्ताका यी ४ नेताहरू अगाडि सर्न थाले।

सहभागी ४ नेताहरू : (दुवै अध्यक्षलाई शान्त हुन आग्रह गर्दै) अहिले दुनियाँले यो हाम्रो छलफललाई हेरिरहेको छ, पार्टी र सरकारलाई जोगाउने र एकताबद्ध भएर कसरी निस्कने भन्ने हाम्रो अहिलेको छलफलको विषय हो। आपसी असमझदारी बढाउने होइन, घटाउनेतिर सोच्नुपर्छ। तर पनि स्थिति साम्य हुन सकेन।

दाहाल : तपाईंले हिजो मन्त्रीहरूलाई नै बोलाएर कित्ता छुट्ट्याउनुहोस् सम्म भन्न भ्याउनुभयो। तपाईंका गतिविधि एकपछि अर्काे गरी पार्टी एकता संकटमा पार्ने खालकै देखिएका छन्। यस्ता गतिविधि रोक्नुहोस्, म एकताकै कुरा गर्न आएको छु।

ओली : कसले एकता नगर्ने भनेको छ र ? तर तपाईंहरूका गतिविधि एकता जोगाउने छन् कि भत्काउने ? हेर्नु पर्दैन ? सोच्नु पर्दैन ?

दाहाल : तपाईं युवा विद्यार्थीलाई बालुवाटार बोलाउनुहुन्छ। पार्टी नेताहरू विरुद्ध सडकमा प्रदर्शन गर्न उतार्नुहुन्छ। गालीगलौजमा लगाउनुहुन्छ। यसले वातावरण बिथोल्ने मात्र काम गरेको छ।

ओली : कहाँ उचालें मैले ? उल्टै तपाईंहरू ग्याङ बस्नुहुन्छ, मविरुद्ध तानाबाना बुन्नुहुन्छ। घेराबन्दी गर्नुहुन्छ। मलाई सबै जानकारी छ। (फेरि दोस्रो पुस्ताका नेताहरू अगाडि सर्छन् )

दोस्रो पुस्ताका नेताहरू : कमजोरी दुवै पक्षका होलान्। अब गल्ती नदोहोर्‍याउने र यस्ता गतिविधिलाई नियन्त्रण गरेर जाने गरी वातावरण निर्माण गरौं। विश्वासको वातावरण पहिले बनाऔं। असमझदारी र आशंका हटाउने गरी अगाडि बढौं। एकअर्का नेताप्रति लक्षित गतिविधि र आरोप प्रत्यारोप रोकौं।

दाहाल : ठीक छ, यस्ता गतिविधि रोकौं, कसले हुन्न भनेको छ ?

ओली : ठीक छ, यसमा रोकौं। त्यसपछि दुई अध्यक्षबीच अनौपचारिक सहमति बन्यो– सडकमा एकअर्काकै पक्ष, विपक्षमा नउत्रने। नाराबाजी र प्रदर्शन रोक्ने। सामाजिक सञ्जालहरूमा आरोप प्रत्यारोप नगर्ने। वार्ता र संवादबाटै सहमतिको खोजी गर्ने। पार्टी एकताका लागि आह्वान गर्ने गरी वातावरण निर्माण गरेर जाने। दुवै अध्यक्ष केही शान्त र मत्थर देखिए। दोस्रो पुस्ताका नेताहरू : अब विषय प्रवेश गरौं। विवाद लम्ब्याउनेभन्दा सहमतिको खोजी गरौं। पार्टी एकतालाई जोगाउने गरी विन विन बाटो खोजौं।

ओली : तपाईंहरूले भन्दै गर्नुहोस्, तर म दुवै पद छोड्दिनँ। मैले पटक–पटक भनिसकें। यसमा म दायाँ–बायाँ हुन्न। कसैले यसरी भन्दैमा मैले किन दिने प्रधानमन्त्रीबाट राजीनामा ? किन छोड्ने पार्टी अध्यक्ष ? यो कल्पनाभन्दा बाहिरको विषय हो।

दाहाल : कहीँ न कहीँ सहमति त खोज्नैपर्छ। लचिलो कहाँसम्म हुने ?

ओली : म दुवै पद छोड्दिनँ। तपाईंहरू अनावश्यक उचालिने नगर्नुस्। कुरै सकिन्छ।

दाहाल : कहाँ त्यसरी हुन्छ ? तपाईंले केही न केही त्याग गर्नैपर्छ। साथीहरूले त्यसरी कुरा उठाइसकेपछि बैठकमा जाने, त्याग गर्ने काम तपाईंले गर्नैपर्छ।

ओली : सहमति मंसिर ४ मा दुई अध्यक्षको कार्य विभाजनमा गरिएको सहमतिबाट खोजौं। त्यहींबाट निस्कन्छ निकास। त्यसैलाई स्थायी समितिमा थप व्याख्या गरेर अनुमोदन गराएर जाऔं।

दाहाल : मंसिर ४ भन्दा अगाडिको पार्टी एकता गर्दाको २ जेठको सहमतितिर जाऔं न त। त्यसलाई आधार बनाएर खोजौं। कुरा त्यहींबाट बिग्रेको छ। त्यहीबाटै सपारेर जाऔं।

ओली : त्यसमा हुन्न। ४ मंसिरमा दुई अध्यक्षका बीचमा अधिकार बाँडफाँट भएकै छ। त्यहाँ कहाँ के नमिलेको हो, त्यसमा मिलाउन सकिन्छ।

दाहाल : ४ मंसिरको सहमति धेरै पछि हटिसक्यो, त्यसमा मात्र हुन्न। नयाँ सहमतिको खोजी गर्नुपर्छ। (वातावरण फेरि बिग्रने सम्भावना देखेपछि दोस्रो पुस्ताका नेताहरू अगाडि सरे।) दोस्रो पुस्ताका नेताहरू : यो हुन्छ, हुन्न भन्दा पनि सहमति के के मा कसरी गर्ने, खाका बनाएर छलफल थालौं।

दाहाल : ठीक छ, खाकै बनाएर छलफल गरौं।

ओली : हेरौं न त, कस्तो खाका ?

दोस्रो पुस्ताका नेता : भोलि बिहान ठण्डा दिमागमा छलफलमा बसौं। एउटा गृहकार्यसहितको खाकामा छलफल गर्ने गरी।

दाहाल : लौ ठीक छ, तपाईंहरू पनि अनौपचारिक रूपमा छलफल गर्नुहोस्, एकआपसमा छलफल गरौं। ठोस केही खाका बनाई सहमति खोजौं।

(ओली खास बोलेनन्।)

दाहाल : स्थायी समितिको बैठक छ, भोलि नै। त्यस अगाडि बिहानै बसौं।

(सोमबार बिहान छलफल गर्ने गरी दिउँसो १ः५० बजे नेताहरू उठे।)

बन्यो अनौपचारिक कार्यदल

दुई अध्यक्षले पार्टी विवादको समाधानको खोजी गरी खाका बनाउन अनौपचारिक कार्यदल बनाएका छन्। दुवै अध्यक्षले आफूहरूसँगै छलफलमा रहेका नेताहरूलाई तपाईंहरूले पनि होमवर्क गर्नुस् भनेपछि बैठकमा सहभागी पौडेल, पोखरेल, पुन र शर्माको छलफललाई कार्यदलको अर्थमा नेताहरूले बाहिर बुझेका छन्। तर यो कुनै कार्यदल भने होइन।

एक सचिवालय सदस्यले भने, ‘अध्यक्षद्वयसँगै रहेका नेताहरूले कार्यदल जस्तो बनाएर गृहकार्य गरेको बताउनु भएको त छैन। तर अध्यक्षद्वयले सामान्य गृहकार्य गर्न अह्राउनु भएको जस्तो चाहिँ देखिन्छ।’

छलफलमा सहभागी स्थायी समिति सदस्यद्वय शर्मा र पोखरेलले भने कुनै कार्यदल नबनेको बताए। ‘कसले के भन्छ भन्ने होइन, कार्यदल बनेको छैन’, शर्माले अन्नपूर्णसँग भने। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि अन्नपूर्णसँग भने, ‘कार्यदल बनेको छैन। हामी अध्यक्षद्वयको छलफलमा सहभागी मात्र हौं, उहाँहरूले छलफल गर्नु भएको छ। छलफल सकारात्मक छ।’

राष्ट्रपतिसँग दाहाल, नेपाल र खनालको भेट

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन्। दाहालले ओलीसँग बालुवाटारमा भेट गर्नुअगाडि नेताहरू राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका थिए।

प्रधानमन्त्री ओलीले आफू इतर नेताहरूलाई लक्षित गर्दै आफनो मात्र होइन राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने षड्यन्त्र भइरहेको खबर आएको र त्यसमा नेताहरूले कानुनी परामर्शसमेत थालेको शनिबार आफ्नै मन्त्रिमण्डलका सदस्यलाई बोलाएर बताएका थिए। उक्त आरोपबारे प्रष्ट्याउन दाहाल, नेपाल र खनाल सामूहिक रूपमै शीतल निवास पुगेका हुन्।

त्यहाँ नेताहरूले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई पार्टीभित्रको विवादमा आफूहरूले तान्ने कुनै प्रयास नगरेको र अनावश्यक गलत सूचनाका भरमा कोही पनि दौडन नहुने धारणा राखेका थिए।

‘राष्ट्रपतिविरूद्ध विभिन्न षड्यन्त्र भइरहेको र महाभियोग लगाउने भन्ने जुन हल्ला भयो। प्रधानमन्त्रीले समेत मन्त्रीहरूलाई बोलाएर जसरी यस विषयमा भन्नुभयो, ती सबै अफवाह र निराधार हल्ला मात्र हो। त्यस्तो कुनै हल्लामा सत्यता छैनन्। हामीले राष्ट्रपतिलाई त्यस्तो गलत फेमी नहोस् भन्यौं,’ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने, ‘त्यसपछि उहाँले धन्यवाद भन्नुभयो।’ ओली इतर पक्षका नेताहरूले केही कानुनविद्हरूसँग १८ असारमा ललितपुरको एक रेस्टुरेन्टमा गरेको छलफललाई आधार बनाएर राष्ट्रपतिमाथि पनि अभियोग लगाउन खोजेको चर्चा चलेको थियो। नेकपाका स्थायी समिति सदस्यहरू देव गुरुड, पम्फा भुसाल र रघुजी पन्तले पार्टी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालको आग्रहमा केही कानुनविद्हरूसँग भने छलफल गरेका थिए।]

‘यस्ता विषय गलत थिए, हल्लाको पछि लागेर गलत सूचना प्रवाह भएको थियो। पार्टीभित्रको आन्तरिक विवाद पार्टीभित्रै नेताहरू बहस छलफल गरेर टुंगो लगाउने प्रयासमा हामी लागेका छौं’ दाहालसहितका नेताहरूले राष्ट्रपतिसँग भनेका थिए, ‘हल्लाको भरमा प्रधानमन्त्री जस्तो मान्छे हिँड्न हुँदैन। राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई विवादमा तान्ने प्रयास गर्न कसैले पनि हुँदैन।’ नेताहरूलाई राष्ट्रपति भण्डारीले पार्टीभित्रको विवाद सकभर सहमति र सहकार्यका आधारमा टुंगो लगाउन आग्रह गरेकी थिइन्। जवाफमा दाहालले प्रधानमन्त्रीसँग छलफल गर्न जान लागेको र प्रधानमन्त्रीले अलिक लचिलो बन्ने अवस्था आए समस्याको समाधान हुने बताएका थिए।

नेताहरूले राष्ट्रपतिसँग झन्डै ४५ मिनेट छलफल गरेका थिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेताहरूले राष्ट्रपतिसँग भेट गरेको विषयमा अन्नपूर्णसँग भने, ‘तपाईंमाथि महाअभियोग लगाउने कुरा वाहियात र झुटो हो भन्न नेताहरू जानु भएको हो। त्यही कुरा भएको हो।’

केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर

पार्टी विवाद केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने र एकता प्रक्रिया टुट्न नदिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भन्दै नेकपाका युवा नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। केन्द्रीय कार्यालय धुम्बाराहीबाटै केन्द्रीय सदस्यहरू ठाकुर गैरे, हिमाल हर्मा, वलावती शर्मालगायत हस्ताक्षर अभियानमा छन्। शनिबार नेकपाका ५३ जना केन्द्रीय सदस्यले पार्टीभित्रको विवाद र पार्टी एकताको पक्षमा जुम मिटिङ गरेर केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने निर्णय गरेका थिए।

त्यही आधारमा गैरेलगायत नेताहरूले हस्ताक्षर सुरु गरेका हुन्। आइतबार दिउँसोसम्ममा झन्डै ७० जना बढी नेताहरूले हस्ताक्षर गरिसकेका छन्। नेकपाका १ सय १० जना नेताले हस्ताक्षर गरी पार्टी बैठक माग गरेमा विधानत बैठक बोलाउनु पर्ने हुन्छ। ४ सय ४५ सदस्यीय केन्द्रीय समितिका २५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने पार्टीको विधानमा व्यवस्था छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board