Nepal Page

२१ असार २०७७, आइतबार


ओली–नेम्वाङसँगको भेट– संवैधानिक कुरामात्रै हो

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफलका बारेमा पार्टीलाई जानकारी गराएका छन् ।

उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा जानकारी गराएका हुन । बैठकलाई दुई जनासँग भएको छलफलका बारेमा ‘ब्रिफिङ’ गरेको बैठकमा काँग्रेस निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले असार १७ गते प्रधानमन्त्री ओलीसँग भएको भेटको वातावरण केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्माण गरेको जानकारी बैठकलाई गराएका छन् । सभापति देउवाले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग आइतबार भएको भेटमा संवैधानिक अंगका रिक्त पद, एमसीसी, नागरिकता विधेयकका बारेमा छलफल भएको जानकारी गराएका छन् ।

“बैठकमा नेम्वाङजीसँग आज बिहान भएको भेटघाटको मिनेन्द्रजीबाट ब्रिफिङ भयो,” बैठकमा सहभागी एक केन्द्रीय सदस्य भने, “उहाँले नेम्वाङजीसँग संवैधानिक कुरामात्रै भएको भन्नुभयो बाहिर आएको जस्तो हल्ला होइन ।”

आज विहान नेम्वाङ संगको भेटमा भएको कुराकानी

नेम्वाङ १० बजेतिर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

यो भेटको चाँजोपाँजो नेम्वाङले संसदमा पनि सहकार्य गर्दै आएका कांग्रेस नेता मिनेन्द्र रिजालमार्फत मिलाएका थिए । त्यसैले उनी पनि बुढानीलकण्ठ पुगेका थिए ।

स्रोतकाअनुसार सम्वादको सुरुमा नै देउवाले हतार–हतार संसद अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाए । प्रतिनिधिसभा बैठक बोलाएर एजेण्डासमेत तय गरिसकेको अवस्थामा अधिवेशन अन्त्य गर्नु गलत भएको बताए । नेकपा संसदीय दलका उपनेता नेम्वाङ केही बोलेनन्, हाँसेर टारिदिए ।

त्यसपछि नेम्वाङले संवैधानिक अंगहरुको नियुक्तिका विषयमा प्रधानमन्त्रीले तपाईलाई भेट्नुस् भनेकाले आएको बताए । केही पहिले अध्यादेश ल्याएर आफूलाई बाइपास गर्न खोजेको होइन भन्दै देउवा त्यसमा पनि कड्किएको स्रोतको दाबी छ ।

यद्यपि अब संवैधानिक परिषद्को बैठक बसेर जान सकिने उनले बताए । भेटका क्रममा देउवाको नेकपाको आन्तरिक विवादतर्फ लक्षित गर्दै भनेका थिए, कांग्रेस कसैको पक्ष विपक्षमा छैन । तपाईँहरुको कुरा चाँडै मिलाउनुस् है चाँडै ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति