Nepal Page

१७ असार २०७७, बुधबार


प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तय

काठमाडौँ, १७ असार । नेकपा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दुवैपदबाट राजीनामा मागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तयार पारेको छ ।

अर्का अध्यक्ष प्रचण्ड–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तयार पारेको हो । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने तयारी गरेको बैठकमा सहभागि एक नेताले बताए । ललितपुरको एक होटलमा भएको भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालगायत समूहका स्थायी कमिटी सदस्यहरु भेलामा सहभागि थिए । यही भेलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको हो । भेलामा पर्यटनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराई र उद्योग मन्त्री लेखराज भट्ट सहभागि भएका थिएनन् ।

‘विधानअनुसार प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ भन्ने भेलाको मूल निष्कर्ष हो,’ भेलामा सहभागी एक नेताले भने, ‘मान्नु भएन भने विधानअनुसार नै अगाडि बढ्छौँं।’ यसअघि कुनै समूहमा नखुलेका सचिवालय सदस्य बादलले पनि ओलीले पार्टी निर्णय मान्नु पर्ने धारणा भेलामा राखेको बुझिएको छ । नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा छन् । यसैलाई आधार मानेर प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तय गरेको हो । प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र र केही नेताहरु लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ । बिहीबार स्थायी कमिटी बैठक बस्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति