1 July, 2020 8:50 am


विश्वभर तिब्र गतिमा फैलिदै कोरोना : नेपालमा लकडाउनको सय दिन

काठमाडौं, १७ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो एक महिना यता झनै तिब्र गतिमा फैलिएको छ । अधिकांश मुलुकहरुले लकडाउन खुकुलो बनाएसँगै कोरोनाको संक्रमणदर ह्वात्तै बढेको हो । लकडाउन कायम राख्दासम्म दैनिक एक लाख संक्रमित भेटिने गरेकोमा पछिल्लो एक महिना यता दैनिक १ लाख ५० हजारभन्दा बढि संक्रमित थपिने गरेका छन् । छिमेकी मुलुक भारतमा लकडाउन खुकुलो नबनाउदासम्म दैनिक २ देखि ३ हजार ब्यक्ति कोरोना संक्रमित हुने गरेका थिए । अहिले दैनिक १४ देखि १५ हजार नयाँ संक्रमित थपिने गरेका छन् ।

मंगलबार मात्रै एकै दिनमा विश्वभर १ लाख ६२ हजार ९ सयभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । पाँच दिनअघि जुन १९ मा १ लाख ८२ हजार २ सयभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारी झनै चिन्ताजनक अवस्थामा पुगेको बताएको छ । उसले सबै मुलुकलाई सचेत हुन आग्रह गर्दै अत्ति प्रभावित देशहरुलाई लकडाउनका विषयमा सोच्न समेत अपिल गरेको छ ।

लकडाउन खुकुलो बनाउदा संक्रमण भयावह रुपमा फैलिएको, सामाजिक दुरी कायम नभएको लगायतका कारणले संक्रमण तिब्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठनको ठहर छ । नेपालमा भने कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको सय दिन पुगेको छ ।चैत ११ गतेदेखि देशभर गरिएको लकडाउन असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । लकडाउनको यो मोडालिटी साउन ७ गतेसम्म कायम राख्ने सरकारले निर्णय गरिसकेको छ । तर सङ्क्रमण बढेमा प्रदेश र पालिकाले केन्द्रको सिफारिसमा निश्चित ठाउँमा लकडाउन कडा या खुकुलो बनाउन सक्छन् ।

पछिल्लो समय देशभर सङ्क्रमण बढ्दै गएको छ भने नागरिकमा भने डर घट्दै गएको छ । शहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा बढ्न सकेको छैन । हिजोसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको । २९ जनाको ज्यान गएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ को उपचार चलिरहेको छ ।

देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका सहित घनाबस्तीमा सङ्क्रमण बढ्न थालेकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन, २ मिटरको दुरी कायम गर्न, मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board