30 June, 2020 6:56 pm


काठमाडौंमा पनि ठूलो संख्यामा देखियो सलह

काठमाडौं, १६ असार । काठमाडौंंमा पनि सलह किरा देखिएको छ । भारतबाट तराई हुँदै नेपाल प्रवेश गरेको सलह किरा राजधानीको आकाशमा देखा परेका छन् । काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको विज्ञहरुले पुष्टि गरे ।

काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । काठमाडौंको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ । त्यस्तै काठमाडौंको पुतलीसडक लगायतका आकाशमाथि पनि सलह किरा देखिएको छ ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका अनुसार काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको हो ।

प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँका अनुसार ‘ठूलो झुण्ड छ, नागार्जुनको डाँडामा र केही दक्षिणपूर्व ललितपुरतर्फ फर्कदै गरेको हाम्रा प्रविधिकले पत्ता लगाएका छन्’ उनले भने ।स्वयम्भू हुँदै उत्तरतर्फ गएको झुण्ड ठूलो थियो, त्यो नार्गाजुनको डाडाँमा पुगेर एक समूह ललितपुरतर्फ फर्किएको र एक समूह जंगलमा बसेको वा नुवाकोटतर्फ जानसक्ने हुमागाइँले बताए ।

आइतबार दिउँसो ४ बजे सिन्धुली आइपुगेको सलहको समूह काभ्रे हुँदै सिन्धुपाल्चोकको सिपाघाट पुगेको थियो । काठमाडौं आउने सलह त्यही हो वा नयाँ भन्ने नखुलेको प्राविधिकहरुले बताएका छन् । अपरान्ह दुई बजे वीरगञ्ज क्षेत्रबाट सलहको एउटा समूह नेपाल प्रवेश गरेको थियो । प्राविधिकहरुले काठमाडौं आएको समूह त्यही हो वा नयाँ हो भनी विश्लेषण गरिरहेका छन् ।

सोमबार पनि रुपन्देहीमा सलहको नयाँ झुण्ड देखिएको थियो । पछिल्लो सुचनाअनुसार दाङ तुलसीपुर क्षेत्रमा पनि सलह देखिएको छ । लमहीमा मकैबारीमा केही क्षति पुर्‍याएर सलह राप्तीको बगरतर्फ गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जानकारी दिएको हुमागाइँले बताए । यस्तै प्युठान सदरमुकाम खलगांमा पनि सलहको समूह देखिएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board