29 June, 2020 10:09 am


बाटो बनाउने विषयमा विवाद : नेकपा र काँग्रेस कार्यकर्ताबीच झडपमा गोली चल्यो, १५ भन्दा बढी घाईते

सर्लाही, १५ असार । सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना बढी घाईते भएका छन् ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपीं विश्वमणि पोखरेलले झडपमा १५ जना भन्दा बढी घाईते भएका र उनीहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको जानकारी दिनुभयो । राती झडपलाई नियन्त्रण गर्ने र घाईतेलाई उद्धार गर्ने काममै केन्द्रित भयौँ, प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, अहिले बिहान ककस्लाई गोली लागेको छ भन्ने पहिचान गर्दैछौँ । उहाँले झडपमा दुई जना प्रहरी समेत घाईते भएका बताउनुभयो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल टियर ग्याँस प्रहार गरेको एसपी पोखरेलको भनाई छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले धनकौलको स्थिति सोमवार बिहान सामान्य रहेको बताउनुभयो ।
धनकौलका पछिल्लो समय नेकपा र कांग्रेसका कार्यकर्ताबीच पटक–पटक झडपका घटना भइरहेका छन् । स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साताअघि मात्रै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । आइतवार झडप हुनुको कारण भने प्रष्ट भइसकेको छैन् ।
धनकौलमा आइतवार साँझ नेकपाले रामनगरमा भएको हत्याको घटनालाई लिएर ¥याली निकालेको थियो । त्यही ¥यालीकै क्रममा आइतवार साँझ झडप भएको हो । एक साताअघि रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको हत्या भएको थियो । यादव नेकपाका स्थानीय नेता हुन् ।
सो घटनापछि प्रहरीले रामनगर ४ का वडाध्यक्ष रामनरेश महतोलाई हिरासतमा लिएको छ । कांग्रेसले घटनाबारे सबै भन्दा पहिले प्रहरीलाई सूचना दिने वडाध्यक्षलाई बिना कारण राजनीतिक दबाबका आधारमा नियन्त्रणमा लिइएको दावी गर्दै आएको छ भने नेकपाले वडाध्यक्ष महतोसँग बाटो बनाउने विषयमा विवाद भएपछि रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेकाले छानबिन गर्न माग गर्दै आएको छ ।
मृतक रामजलका छोराले वडाध्यक्ष लगायत विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिनु भएको छ । हत्याको घटना राजनीतिकरण भइरहँदा रामजलको शव अघिल्ला साताको आइतवारदेखि जिल्ला अस्पतालको शव गृहमा छ ।
रामजलको हत्या भएको रामनगर गाउँपालिका र आइतवार साँझ झडप भएको धनकौल गाउँपालिका दुवै सर्लाहीको ४ नं. निर्वाचन क्षेत्रमा पर्छ । यहाँ सानो विषयलाई पनि राजनीति रङ्ग दिएर विवादमा परिणत गरिँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board