29 June, 2020 8:08 am


धान दिवस, सलह र नेकपाको संकट

काठमाडौं । असार १५ लाई नेपालमा धान दिवस मानिन्छ । मानो खाएर मुरी उव्जाउने भन्ने नेपाली समाजमा रहेको कृषि परम्पराको उत्सव नै धान दिवस हो । तर यतिबेला विश्वभरि कोरोना भाइरसका कारणले सबै प्रकारकार दिवस र उत्सवलाई निरुत्साहित गरिरहेको छ । विश्व नै यतिबेला बन्दावन्दीको अवस्थामा छ । विश्वका ५ लाख भन्दा बढी मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।


नेपालमा १२ हजारभन्दा बढी संक्रमित भएका छन् भने २८ जनाले ज्यान गुमाएका छन् । यही असार १ गते देखि लकडाउन लुज डाउनमा परिणत त भएको छ तर सन्त्रास झन बढेको छ । यही समयमा बर्षभरिलाई खान पुग्ने अन्न उव्जाउनका लागि धान दिवस अर्थात असार १५ पर्न आइपुगेको छ । नेपालमा धान दिवससंगै खेतमा रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाएर रमाइलो गर्ने चलन समेत छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।
धानदिवसका अवसरमा कोरोना महामारीका बीचमा कृषिका लागि सलहको महामारि दक्षिणबाट नेपालमा प्रवेश गरेको छ । संयोग के छ भने नेपालमा कोरोना भाइरस पनि दक्षिणबाट नै नेपालल प्रवेश गरेको थियो । अहिले जति पनि कोरोनाका संक्रमित छन् ती मध्ये अधिकांश भारतमा मजदुरी गर्न गएर फर्केकाहरु नै रहेका छन् । कोरोना संक्रमण र सलहको महामारीले नेपालमा दुई छाक खाने र रोजगारीको अवसरबाट बञ्चित हुने स्थितिमा कस्तो असर गर्ला भन्ने कुरा भयावह रुपमा देखिंदै छ।


यही बीचमा कोरोना महामारी र सलहको आतंकजस्तै रुपमा सत्ता रुढ नेकपाभित्र गम्भीर प्रकारका विवादको संक्रमणको डढेले सल्केको छ । त्यो विवाद समाधान गर्न जारी नेकपाको स्थायी समितिको बैठक सहज र स्वभाविक गतिमा भन्दा बढी तनाव अविश्वास र आशंकामा परिणत हुँदैछ । नेकपा एकताको बेलादेखि नै एक अर्काबीच रहेका आशंका र अविश्वासले एक पछि अर्को सिंडी चढिरहेका छन् । समग्रमा सरकार जनताको नजरमा अलोकप्रिय बन्दै गएको छ। सरकारका हरेक क्रियाकलाप विवादमा पर्दै गएका छन् । ती सबैको भागीदार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बन्ने विडम्वनापूर्ण अवस्था खडा भएको छ । सरकारका सहयात्री अर्थात मन्त्रिमण्डलका अधिकांश सदस्यहरुको नालायकीको बोझले प्रधानमन्त्रीको कमजोर स्वास्थ्य र पार्टीभित्रको झमेलामा गम्भीर आधात पुर्याइरहेको छ ।


जारी स्थायी समितिको बैठकमा प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छोड्नु पर्ने भन्ने प्रस्तावले प्रवेश पाएको छ । एकतालाई नरुचाउनेहरु अरु विस्फोटक प्रस्ताव र टिप्पणी गर्न तम्तयारीका साथ बसेका छन् । पार्टी एकताका मुख्य नायकहरु ओली र प्रचण्डबीचको मूलतः कार्यशैलीगत अविश्वासले नै यतिबेला नेकपा संक्रमित र बन्दाबन्दीको शिकार भएको छ । सिद्धान्त, नीति र विचार नेकपाको विवादका गौण र सन्दर्भमा एकले अर्कालाई लाञ्छित गर्न प्रयोग गरिने अस्त्र बाहेक अरु केही होइनन् भन्ने कुरा जगजाहेर छ । के नेकपाभित्र पनि विचार गौण भएका विषयमा यति चर्को अरोपप्रत्यारोप र अविश्वास हुन सक्छ भन्ने कुरा सामान्यत कल्पनाभन्दा बाहिरको कुरा हो । तर भइरहेको छ त्यही ।


गत निर्वाचनको मतादेश र जनादेश तथा पार्टी एकताको बृहत्तर दायित्वबाट विचलित नहुन दुई अध्यक्षका बीचको शक्ति बाँडफाँड नै यतिबेला गम्भीर विषय बन्न आइपुगेको छ । त्यसका लागि गत बैशाख २० गते दुई अध्यक्षबीच भएको सहमतिलाई स्थायी समितिबाट निर्णय गरेर जानुको कुनै विकल्प छैन । यस्तो स्थितिमा दक्षिणी वा पश्चिमी सलहको संक्रमणमा नेकपा जोगिन सक्नु पर्दछ । नेपालका सबै नागरिकलाई समेत थाह भएको कुरा हो कि दुई पार्टी बीचको एकताबाट बनेको नेकपा बाह्य धेरै शक्ति केन्द्रलाई मन परेको छैन । मन नपर्नु भनेको त्यसलाई विगार्नु पनि हो भन्ने कुरा एकताको दिनबाटै मुख्य नेतृत्वले हमेशा ध्यानमा राखेर सोही अनुसारको व्यवहार गर्नु पर्दथ्यो । यही विन्दुमा नेकपाको मुख्य नेतृत्व चुक्दै आएका कारण देश र जनता नै निराश हुने विवाद सतहमा आएको हो ।


फेरि पनि सबैभन्दा प्रमुख कुरा एकता हो । त्यससँगसंगै जनताका अगाडि कबुल गरिएका बाचा र कम्युनिष्ट पार्टी र त्यसको सरकारले गर्नु पर्ने जनपक्षीय जिम्मेवारीलाई व्यवहारिक रुपमा महसुस गराउनु नै हो । त्यसका लागि कुनै पनि प्रकारका अतिले खति भन्दा बढी केही गराउँदैन भन्ने कुरा सबैभन्दा बढी ओली र प्रचण्डले बुझ्नु पर्दछ । संगसंगै बांकी ७ जना सचिवालयका सदस्य जिम्मेवार बन्न तयार हुनु पर्दछ । समस्या उत्पन्न भइसकेपछि समाधानका लागि आवश्यक र यथोचित त्याग, सुधार र परिमार्जनको कुनै विकल्प रहंदैन । टुटुफुटको विरक्त लाग्दो अवस्थाबाट एकीकृत बनेको पार्टीका लागि कुनै नेताका तुष्टी वा कुनै पदमा कसैको अकण्टक निरन्तरता गौण विषय हुन् ।

मुख्य कुरा एकता, एकता र एकता नै हो । आशा गरौं यस दिशामा १४ वर्ष जेल र २५ वर्ष भूमिगत तथा १२ बर्ष बनबास बसेका मुख्य पाइलटहरुले आफ्नो विवेक गुमाउने छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board